Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

नेपाल पत्रकार महासंघले भर्खरै चितवनको टाँडीमा पत्रकारको न्यूनतम पारिश्रमिक १९ हजार पाँच सय कार्यान्वयनमा ल्याउनुपर्ने मुख्य माग सहित ११ बुँदे घोषणापत्र जारी गर्दै साधारणसभा सम्पन्न गरेको छ । महासंघले श्रमजीवी पत्रकारको हकहितको पक्षमा रही, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मौलिक हकप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ । तर साधारणसभामा मुख्य एजेण्डाका रुपमा रहेको विधान शंशोधनको भने प्रस्तावनै पेश हुन सकेन । यसै सन्दर्भमा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टसंग नेपाली समाचारका लागि सलोजा दाहालले गरेको कुराकानी ।
समग्रमा साधारणसभा कस्तो रह्यो ?
निर्धारित समयमै सम्पूर्ण कार्यक्रमहरु सम्पन्न गर्न सक्यौं । प्रतिनिधिहरु प्रत्यक्षरुपमा छलफलमा सहभागी हुनुभयो । कार्यक्रम उत्साहपूर्ण रह्यो । त्यसैले हाम्रो कार्यक्रम पनि समग्रमा सफल भयो ।
तर मुख्य एजेण्डा विधान शंसोधनका विषयमा छलफल भएन नि ?
त्यसमा विषयमा भन्दा पनि प्रक्रियाका बारेमा केही साथीहरुको विमती रह्यो । हामी सर्वसहमतिका आधारमा सबै कुराहरु सम्पन्न होस् भन्ने चाहन्थ्यौं । त्यसैले विधान संशोधनका लागि मेरो संयोजकत्वमा महासचिव उजिर मगर, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरु सुरेश आचार्य, धर्मेन्द्र झा, शिव गाउँले र पूर्व महासचिव ओम शर्मा, पत्रकार निर्मला शर्मा सहितको समिति बनेको छ ।
समितिले चाही कसरी कार्य अघि बढाउँछ त ?
साथीहरुको सुझाब अनुसार महासंघलाई संघीय संरचनामा लैजाने, ट्रेड युनियनको अधिकार स्थापित गर्दै समावेशी बनाउने गरी खाका तयार पार्छ । संघीयताका आधारमा संगठनलाई कस्तो संरचनामा लाने भन्ने विषय पनि टुंगो लगाउँछ । पत्रकारका संगठनहरुमा छलफल गर्छ । त्यसपछि अन्तिम रुप दिईन्छ ।
न्यूनतम पारिश्रमिक कार्यान्वयनको विषयमा चाही महासंघको धारणा के छ ?
हामी प्रस्ताव गरिएको न्यूनतम पारिश्रमिक हुबहु कार्यन्वयन हुनुपर्छ भन्ने पक्षमा छौं । त्यो महासचिवको प्रतिवेदनमा पनि आएको छ । त्यतिमात्र होइन कार्यान्वयनको पक्षलाई बलियो बनाउन औपचारिक अनौपचारिक रुपमा कुरा भइरहेको छ । त्यससंगै पत्रकारको क्षमता अभिवृद्धिका लागि पनि काम अघि बढाउनुपर्छ ।
विभागीय मन्त्रीले बैशाख १ गतेदेखि कार्यान्वयन हुन्छ भन्नुभएको थियो । तर अहिलेसम्म पनि कार्यान्वयन हुन सकेको छैन । यसैलाई लिएर महासंघले दबाब दिन सकेन भन्ने आरोप छ नि ?
त्यो होइन, महासंघले दबाब नदिएको भए न्यूनतम पारिश्रमिक निर्धारण समितिले गरेको सिफारिस त्यतिबेलै फिर्ता हुने अवस्था थियो । तर हामी निरन्तर संबादकै क्रममा छौं । सरकार देखि लगानीकर्तासंग पनि निरन्तर छलफल गर्‍याै । बरु सञ्चारगृहलाई सरकारले उपलब्ध गराउने सहुलितयको व्यवस्था गरोस् तर सञ्चारकर्मीका लागि प्रस्तावित पारिश्रमिक घटाउन हुन्न भने अडान पछि नै सरकार कार्यान्वयनका लागि लचिलो भएको छ ।
खै त अहिलेसम्म पनि कार्यान्वयन हुन सकेको छैन नि ?
यो कार्यान्वयनको चरणमा छ । केही प्रक्रिया पुरा भएपछि सायद असारबाट कार्यान्वयनमा आउँछ होला । अहिले सञ्चारमन्त्री समेत बाहिर भएका कारण केही ढिला भएको छ । तर पत्रकार महासंघ सिफारिस गरिएको पारिश्रमिक कार्यान्वयन हुनुपर्छ भन्ने पक्षमा छ । त्यसैले त हामीले घोषणापत्रमा पनि यसलाई प्राथमिकताका साथ उल्लेख गरेका छौ नि ।
पत्रकार हक हितका लागि लामो समयदेखि कुरा उठिरहेको छ । एजेण्डाहरु खासै परिर्वतन भएर आएका छैनन् । अब कहिलेसम्म उही कुरा उठाइरहनुपर्छ ?
हामी पनि यस विषयमा गम्भीर छाैं। पहिलाका र अहिलेका एजेण्डाहरु एकै प्रकारका भए पनि त्यसको मात्रामा चाही फरकपना आएको छ । तर अब हामीले क्षमता अभिवृद्धिको पक्षमा पनि छौं । त्यसैले अब समस्याको समाधान हुन्छ भन्नेमा विश्वस्त छौं ।
तपाईले महासंघको नेतृत्व गरेको करिब दुई बर्ष भइसक्यो । यो बिचमा के के परिर्वतनहरु भए त ?
हामीले पाँच लाखको पत्रकार दुर्घटना विमाको व्यवस्था गर्‍यौं । जेष्ठ पत्रकार सम्मान, द्वन्द्वकालमा मारिएका तथा अशक्त भएका पत्रकारको सन्तानका लागि पढाईको व्यवस्था गर्न २५ लाखको फण्डको व्यवस्था र एक करोडको अक्षयकोषको निर्माण पनि गरेका छौं । त्यस्तै पत्रकारको क्षमता अभिवृद्धिका लागि पनि कार्यक्रमहरु गरिरहेका छौं ।
प्रेस काउन्सिलले पत्रकार वर्गीकरण गर्ने व्यवस्थालाई अघि सार्दै गृहकार्य सुरु गरेको सार्वजनिक भएको छ । यस विषयमा महासंघको धारणा के छ ?
अहिले नै पत्रकार वर्गीकरणको विषयमा हामी निश्कर्षमा पुगेका छैनौं । त्यसले पत्रकारको क्षमताको मापन गर्ने मात्र होइन सामाजिक मर्यादाको विषय जोडिन आइपुग्छ । अब नेपालको सन्दर्भमा यी सबै विषयमा उपयुक्त छन की छैनन् भन्ने हामी बीचमा वृहत छलफल हुनु जरुरी छ ।
प्रत्यक्ष निर्वाचनको विषयमा पनि कुरा उठिरहेको थियो नि ?
हो त्यस विषयमा पनि छलफलकै क्रममा छ । प्रस्तावित विधानमा तीन तह केन्द्र, प्रदेश र स्थानीय गरी विभाजन गर्ने भनिएको छ । त्यसै अनुसार केन्द्रमा चाही प्रतिनिधिमार्फत छनौटको व्यवस्था गर्ने, स्थानीय तहमा प्रत्यक्ष निर्वाचन गर्ने विषयमा सहमति भएको छ । किनकी सबै अधिकार त केन्द्रमा भन्दा पनि स्थानीय स्तरमा हुन्छन् ।

तपाईको प्रतिक्रिया