Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

Shila-GrgIMG_4618कसैलाई रहरले त कसैलाई बाध्यताले कलाकार बनाउने बताउँछिन् गोरखा घ्याल्चोक – ७ कि गायिका शिला गुरुङ । गाउँघरमै घाँसदाउरा, मेलापात, पूजाआजा र जात्रामात्रामा कहिलेकाँही रहरले गाउने गरेकी एक साधारण गृहिणी कठोर संघर्षपछि उनी ब्यवसायिक गायिका बनेकी हुन् । जीवन जिउने आधार अरु केही नहुँदा बाध्यताले दोहोरी गायिका हुनुपरेको उनी बताउँछिन् । पछाडि फर्केर हेर्दा कडा मिहिनेत र संघर्ष पछि मात्र गीत गाएरै जिविकोपार्जन गर्न सक्ने आजको अवस्थामा आईपुगेको उनले बताईन् ।
असफल दाम्पत्य जीवनबाट विरक्तिएकी शिला आफ्नै खुट्टामा उभिने अठोटका साथ दोहोरीको मैदानमा हाम फालेकी हुन् । २०६८ सालदेखि शुरु भएको उनको गायनयात्रा छोटै भए पनि कम संघर्षपूर्ण भने छैन । तीनै संघर्षका पुराना दिन सम्झदैं शिला भन्छिन् –
अलिअलि गीत गाउने बाहेक मैले अरु केही जानेको थिईन, त्यसैले मैले यसैलाई पेशाकोरुपमा रोजे । गोरखाकै कृष्ण भट्ट दाइको सहयोगमा गायिका बन्ने सपना बोकेर खाली हात राजधानी भित्रिएकी हुँ । उहाँकै सल्लाहमा सबैभन्दा पहिले सुन्धाराको डाँफे दोहोरीमा गाउन सुरु गरें । सुरु सुरुमा त गेष्टहरुसंग दोहोरी गाउन निकै गाह्रो भयो, सहकर्मीहरुले पनि उपेक्षापूर्ण ब्यवहार देखाउँथे । तर निरन्तरको कडा मिहिनेत र प्रयासपछि बिस्तारै सहज हुन थाल्यो । मान्छेलाई चोट परेपछि Shila 2सिकिदों रहेछ । गाउँघरको बिशुद्ध गृहिणी जीवनबाट राजधानीमा बसेर नितान्त फरक क्षेत्रको जीवनशैली अगाँल्दाका सुरुवाती दिनहरु कम कष्टकर थिएनन् । त्यतिबेलाको दुःख र पींडा सम्झेर अझै पनि कहाली लागेर आउँछ । तर अहिले म खुशी छु ।’
उनी अगाडि भन्छिन् – हुन त दोहोरी गाएर सँधैलाई पुग्दैन त्यो मलाई राम्रोसंग थाहा छ, दिन, उमेर र स्वरले साथ दिने बेलासम्म गाएर निर्बाह होला, त्यसपछि त अर्को बाटो रोज्नैपर्छ, तर त्यो पछिको कुरो हो अहिले नै त्यतातिर सोचिएको छैन । अहिले त अझै कसरी सबैले चिन्ने राम्रो गायिका भएर अगाडि बढ्न सकिन्छ भनेर क्यारियर बनाउनमै ध्यान केन्द्रित छ । डाँफेपछि नयाँ बसपार्कको यानीमायामा कार्यरत छँदा एक दिन आफन्त र साथीहरुसंग गामबेशी दोहोरीमा गएको बेलामा त्यहाँ गाउँकै दाजु सञ्जय गुरुङसंग चिनजान भयो, उहाँसंग सुखदुखका धेरै कुराहरु भएपछि उहाँकै सहयोगमा म पनि गामबेशीमा काम गर्न थाले । त्यसको केही समयपछि दाजु सञ्जय गुरुङसंग मिलेर ’दरौंदीको पानीले’ भन्ने म्युजिक भिडियो निकाल्यौं, त्यसले निकै राम्रो चर्चा पायो र मलाई गायिका शिला गुरुङ भनेर चिनायो । यसैगरी गामबेशीकै अर्का गायक दाजु राजु गुरुङसंग मिलेर लगत्तै ’लालुपाते फुलेको बनभरि’ म्युजिक भिडियो बजारमा ल्यायौं, त्यो पनि राम्रै चल्यो । त्यसले पनि मलाई थप चिनाउन मद्दत गर्‍यो । त्यसपछि फेरि दाजु सञ्जय गुरुङसंगै मिलेर ’लभ गरेर भुल्ने समय छैन’ तेस्रो एल्बम बजारमा ल्यायौं । त्यसले पनि मेरो साँगीतिक यात्रामा अर्को एउटा इटा थप्ने काम गर्‍यो । मलाई यसरी बामे सर्दै यो क्षेत्रमा अगाडि बढ्न बाटो देखाईदिने सञ्जय दाजुप्रति कृतज्ञ छु । अथक परिश्रम र निरन्तर लगावबाट आफुलाई निखार्दै अगाडि बढ्ने क्रम जारी छ ।’

सफल गायिका बनेर चिनिनका लागि संघर्षरत शिला साँगीतिक कार्यक्रमका लागि अहिलेसम्म बिशेषगरी काठमाडौं उपत्यकाभित्र हुने मेला महोत्सवहरु र राजधानी बाहिरका ५, ६ वटा जिल्लामा पुगेको बताउँछिन् । तर उनी भन्छिन् – मेरो सपना ठूलो छ । यो त भरखर सुरुवात मात्र हो । यद्यपि क्यारियरको छोटो अवधिमै जापानसम्म आउन पाएँ, अत्यन्त खुशी छु । नाम चलेका अन्य केही मुलुकहरुमा जान चाहान्छु र गायिका शिला गुरुङ भनेर अझ बढि चिनिन चाहान्छु ।’

Shila 3उनको बुझाईमा नाम र दाम दुवै एकैचोटी कमाउन पाईने भएकोले कलाकारहरु बिदेश जान लालायित हुने गर्दछन् । तर कार्यक्रममा गएर कलाकारहरु बिदेशमा उतै गुमनाम हुने प्रवृत्तिप्रति भने उनको असमति छ । उनी भन्छिन् – बिदेशमै हराएर आफ्नो कलाकारिता मर्न दिनु राम्रो होईन, बरु अवसर पाउँदा कार्यक्रमका लागि बेलाबेलामा फरक फरक मुलुकमा गईरहने र आफ्नै माटोमा फर्केर आफुले रोजेको क्षेत्रमा संघर्ष गर्नुमा अघोर सन्तुष्टि छ ।

’दोहोरी गाउन सजिलो त छँदै छैन कहिलेकाँही उच्छृङ्खल शैलीमा गाउनेहरुसंग पनि सहेरै गाउनुपर्ने हुन्छ भने कहिलेकाँही पटक्कै मुड नभएको बेलामा गीतै आउँदैन त्यस्तो बेलामा पनि गाउनैपर्छ’ – दोहोरी गाउँदाको अनुभव सुनाउँदै शिला अगाडि भन्छिन् – गेष्टको रमाईलोका लागि रमाइलै प्रसंगमा दोहोरी गाउनु हाम्रो बाध्यता हो । त्यसैले दोहोरीलाई यदाकदा साली फकाउनेमा मात्र सीमित गरियो भन्ने आरोप पनि लाग्ने गर्दछ ।

तीन महिने साँगीतिक यात्राका क्रममा जापान आएकी शिलाले यहाँको बसाई एकदम रमाइलो लागेको बताईन् । उनी अगाडि भन्छिन् – लोक तथा दोहोरी गीतलाई सम्मान गर्ने र मन पराउने नेपालीहरु जापानमा पनि अधिक रहेको पाईयो । जहाँ गए पनि दोहोरीको रौनकतामा झुम्न मन पराउने नेपालीहरुको बाहुल्य निकै भएको पाईयो, यसरी हेर्दा स्वदेशमा मात्र हैन बिदेशमा पनि दोहोरीको भविष्य राम्रो छ भन्न सकिन्छ । हुन पनि केटाकेटीदेखि बृद्धासम्म सबैले मन पराउने, सजिलै बुझ्न सक्ने र तुरुन्त रमाउन सक्ने दोहोरीमा थकान, अत्यार, पीडा र तिर्सना एकैचोटी मेटाउने शक्ति छ । यसले तत्काल दुख र टेन्शन बिर्साउंछ र आनन्द दिलाउँछ । त्यसैले त के घरदेश, के परदेश जहाँ भए पनि नेपालीहरु झुम्छन दोहोरीमा ।
IMG_4746राजधानीमा दोहोरी गाएरै जसोतसो जीवन धानेकी एकल महिला शिलालाई आफ्ना दुई सन्तान हुर्काउने र पठनपाठन गराउने जिम्मेवारी पनि उनीमाथि नै छ । स्वदेश फर्कने पूर्व सन्ध्यामा रहेकी गायिका शिला नेपाल फर्केलगत्तै अर्को मुलुकमा जाने अफर आईसकेको बताईन् । संभवत उनी केही महिनाका लागि छिट्टै युरोपतिर उड्नेछिन् । यद्यपि नेपाल फर्केर एउटा एल्बम गर्ने योजना भने प्राथमिकतामा रहेको उनले बताईन् । साँगीतिक क्षेत्र अब पुरै ब्यापारीकण भईसकेकोले एल्बम निकाल्न भने त्यति सजिलो नभएको उनको धारणा छ । उनले दोहोरी गायिका भएर अहिले आफु जसोतसो अस्थायी खुशीमा रमाईरहेको पनि खुलासा गर्दै शिला भन्छिन् – ’हामी अस्थायी खुशीमा रमाउने प्राणी हौं ।’

उनले अगाडि थपिन् – जापान लगायत बिदेशमा रहनुहुने समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले नेपाली गीत र संगीतलाई माया गरिदिनु हुन म गायिका शिला गुरुङ दुई हात जोडेर हार्दिक अनुरोध गर्दछु । मेरो गीत सुनेर रचनात्मक प्रतिक्रिया दिई अगाडि बढ्ने हौसला प्रदान गरिदिनु होला । भूगोलमा जहाँ भए पनि नेपाल आमालाई कहिल्यै नबिर्सनुहोला । साथै आफ्ना साँगीतिक यात्राका अनुभवहरु आम नेपालीहरु समक्ष पुर्‍याउने अवसर दिनुभएकोमा जापानबाट सञ्चालित लोकप्रिय अनलाईन समुद्रपारि डट कमलाई पनि धेरै धेरै धन्यबाद दिन चाहान्छु ।’
(कुराकानीमा आधारित)

गायिका शिला गुरुङको म्यूजिक भिडियो ’लालुपाते फुलेको वनभरि’

तपाईको प्रतिक्रिया