१३ वर्षको कलिलो उमेरदेखि नै गीत संगीतमा रुची मात्रै होइन दोहोरी नै गाउँदै आएकी रोल्पा लिबाङकी शान्तिश्री परियार अहिले राजधानीको केन्द्रबिन्दु ठमेलस्थित नगरकोट दोहोरीमा गाउँछिन् । दोहोरी गाएरै राजधानीको महंगीमा राम्रोसंग जीवन चलेको बताउँछिन् उनी । उनीमा रहेको गायकी क्षमता देखेर स्कुलदेखि नै शिक्षकहरुले अगाडि बढ्न प्रेरित गरेकोले उनको यात्रा अगाडि बढेको हो । उनको पृष्ठभूमि हेर्दा प्रतिस्पर्धात्मक दोहोरी प्रतियोगिताहरुबाट खारिदै आएकी भएर होला लाइभ दोहोरीमा उनको कन्फिडेन्स शक्ति अब्बल देखिन्छ । दोहोरी गाउने क्रममा आक्रामक शैलीमा प्रस्तुत हुने जस्तोसुकै प्रतिपक्षलाई पनि उनले सजिलै प्रतिबाद गर्न सक्ने क्षमता उनीमा छ । प्रतिद्वन्द्वीलाई सकेसम्म तल पार्छिन नभए पनि लल्याक-लुलुक पार्न उनी माहिर मानिन्छन् ।
शान्तिश्री परियार नेपाली लोक दोहोरी क्षेत्रकी उदाउँदै गरेकी एक आशालाग्दा पात्र हुन् जसले आफ्नै मिहिनेतले दुरदराज रोल्पाको लिबाङदेखि राजधानीसम्मको संघर्षको यात्रा तय गर्ने हिम्मत कसिन् । उसो त उनले भविष्य देखेर यो क्षेत्र रोजेको भने होईन । रहरै रहरले उनी यो क्षेत्रमा होमिएकी हुन् । तर यो क्षेत्र रोजेकोमा आज उनलाई पटक्कै पछुतो छैन भन्छिन् । संघर्षको एक दशक नपुग्दै नसोचेको सफलता र चर्चासंगै उनी देशभित्रका मेला, महोत्सव मात्र हैन बिदेशका स्टेजहरुमा समेत डिमाण्डेड गायिकाको सूचीमा छिन् यतिबेला । त्यसैले त उनी जापानमा पहिलोचोटी खोलिएको दोहोरी रेष्टुरेन्टमा थुप्रै गायिकाहरुलाई पछि पार्दै पहिलो ब्याचमै छानिएर आउन सफल भईन् । जापान आईसकेपछि पनि निर्धारित समय पुरा नहुँदै उनलाई दुबईबाट बोलावट आईसकेको छ । उनी जापानबाट सिधै दुबईतर्फ हानिने मुडमा छिन् ।
गायिका शान्तिश्री परियारको साँगीतिक यात्राको संघर्षका चरणलाई तीन भागमा बाँड्न सकिन्छ । सुरुवाती चरणमा उनी स्कुले जीवनमै अर्थात १३ वर्षको उमेरमै ७० भन्दा बढि टिमलाई पछि पार्दै दोहोरी गायन क्षेत्रमा आफुलाई एक कदम अगाडि बढाएको देखिन्छ । मोफसलमा हुने मेला-महोत्सव र स्टेज कार्यक्रमहरुबाट आधारभुत ज्ञान हासिल गर्दै कन्फिडेन्स बढाएपछि उनी राजधानीमा बसेर संघर्ष गर्ने निर्णय गरिन् । दुर्गम र बिपन्नताभित्र हुर्केकी शान्तिको त्यो साहसिक कदम पछि सुरु भएको उनको संघर्षको दोस्रो चरणमा राजधानीमा बाँच्नका लागि रोजगारी संगै गायन कलालाई तिखार्न नियमित रियाज गर्न सकिने भएकोले उनले दोहोरी रेष्टुरेन्ट रोजिन् । शान्तिश्रीले सबैभन्दा पहिले बाघबजारस्थित याम श्रेष्ठद्वारा सञ्चालित रमाईलो दोहोरी रेष्टुरेन्टबाट ब्यवसायिकरुपमा दोहोरी गायिका भएर काम सुरु गरिन् सन् २०६४ सालमा । त्यसपछि उनलाई दोहोरी साँझमा मात्र सीमित हुनुहुँदैन एल्बम गरेर राम्रो कलाकार बन्नुपर्छ भन्ने लागेपछि २०६८ सालमा पहिलो गीति एल्बम – ’घर छ तीनतले, न छ निद्रा न भोक छ निर्माया तिम्रो चिन्ताले’ एल्बम बजारमा ल्याईन् । उक्त एल्बमबाट उनलाई खासै केही हात लागेन । लगत्तै उनले शिव हमालको लय शब्द रहेको ’एकतर्फी मायाले कति पीडा दिन्छ’ बोलको दोस्रो एल्बम बजारमा ल्याईन् । उक्त एल्बम त्यतिबेला उनले काम गर्ने गण्डकी दोहोरी साँझका नियमित ग्राहक तथा गीत संगीतका पारखी पृथ्वी थकालीको आर्थिक सहयोगमा निकालेकी थिईन् । उक्त एल्बमले राम्रो चर्चा पाउन सफल भयो, त्यहींबाट उनको गायकी क्यारियर सुरु भयो र उनलाई गायिका शान्तिश्री भनेर चिनायो । त्यसैले त पृथ्वी थकालीलाई शान्तिश्री आफ्नो गड फादर मान्छन् किनभने शान्तिलाई गायन क्षेत्रमा राम्रो गर्न सक्ने क्षमता छ भनेर उनैले अगाडि बढ्न प्रोत्साहित गरेका थिए ।
गायन यात्राको पहिलो सफलताको सिढीं चढिसकेपछि बल्ल उनको जीवनको टर्निङ प्वाईन्ट अर्थात तेस्रो अध्याय सुरु हुन्छ । समयले पनि उनलाई साथ दिदैं जान्छ । एकदिन एउटा रेकर्डिङ स्टुडियोमा गायक मिलन लामासंग उनको जम्काभेट हुन्छ, गायक लामाले लाइभ दोहोरी गाउन सक्ने भए चितवनको महोत्सवमा संगै लैजाने प्रस्ताव राखेपछि शान्तिले आफु लाइभ दोहोरीबाटै माथि आएको बताउँदै उक्त अवसरलाई स्वीकार गर्छिन् । जीवनमै पहिलोचोटी ठूलो स्टेज कार्यक्रममा सहभागी हुने अवसरले उनलाई थप कन्फिडेन्स बढायो । त्यसपछि उनै गायक मिलन लामासंग संगै एउटा एल्बम गर्ने अर्को राम्रो अवसर पाईन् शान्तिश्रीले । त्यसैको फलस्वरुप ’गाइलाई दाम्लो माछीलाई फुर्लुङ, माया जालमा डुबे म चुर्लुम्म’ एल्बम २०७० सालमा बजारमा आयो । चल्तीका पुराना गायक लामासंग गाएको उक्त म्युजिक भिडियोले राम्रै बजार पाएपछि शान्तिश्रीको लोकप्रियता पनि अझ चुलिन थाल्यो । त्यसपछि उनलाई अरु गीतहरु पनि गाउने अफर आउन थाल्यो र बिस्तारै उनको ब्यस्तता पनि बढ्न थाल्यो । त्यसबाहेक शान्तिश्रीको ’आजभोलि कि चल्छ पैसाको कि बैंशको’ -भीम पौडेलसंग, ’पोखरेलीकी छोरी’- रमेशराज भण्डारीसंग र ’सातो फुक झाक्री बा’ – पशुपति शर्मासंग गाएको गीत बजारमा चर्चामा छन् । हालसम्म उनले सयभन्दा बढी गीतमा स्वर दिएकी छिन् ।
साँगीतिक यात्राका क्रममा ओमन, दुबई र हङकङपछि अहिले उनी चौथो मुलुक जापानमा छिन् । जापानबाटै फेरि दुबई उड्ने तयारीमा रहेकी शान्तिश्रीको बुझाईमा दोहोरी भनेको रोधी सँस्कृतिबाट सुरु भएको दिनभरको थकान र मनका तिर्सना मेटाउँदै दु:खपीर बिसाउने एक सशक्त माध्यम हो । उनी भन्छिन् – ’एउटै पात्रसंग धेरै खालको दोहोरी गाउन सकिन्छ । दाजुबहिनी भएर पनि गाउन सकिन्छ भने प्रेमी र प्रेमिका अर्थात बाबुछोरी भएर पनि गाउन सकिन्छ अनि आमा छोरा भएर पनि । दोहोरीमा यस्तै बहुआयामिक बिशेषता छ त्यसैले त यो के बूढा, के तन्नेरी, के केटाकेटी सबैले औधि रुचाईएको हो ।’
दोहोरीको बारेमा गायिका शान्तिश्री आफ्नो धारणा यसरी पोख्छिन् – हामीकहाँ दोहोरी सिक्ने कुनै स्कुल छैन, काठमाडौमा सयौं दोहोरी रेष्टुरेन्टहरु छन् त्यहीं काम गर्दै सिनियरहरुबाट सिक्ने र रियाज गर्ने प्लेट फर्मका रुपमा दोहोरीहरुले महत्वपूर्ण भूमिका खेलेका छन् । नवागन्तुक प्रतिभाका लागि दोहोरीसाँझ बाँच्ने आधार र रियाज गर्ने ठाउँ बन्न पुगेका छन् त्यहींबाटै थुप्रै कलाकारहरु राम्रो प्रगति गरेर माथि उठेका पनि छन् ।’
दोहोरीभित्रको फोहोरी बढ्नुमा भने स्वयम कलाकारहरु नै जिम्मेवार रहेको बताउँदै उनी अगाडि भन्छिन् – ‘बिकृति बिसंगति सबै क्षेत्रमा भए पनि दोहोरी क्षेत्रमा अलि बढि देखिन्छ । यो क्षेत्र झन सभ्य र मर्यादित हुनुपर्ने हो, के गर्नु दर्शक स्रोता नै भड्कीलो रुचाउँछन् । क्षमताले भन्दा पनि सम्पर्क र सम्बन्धले माथि जाने प्रवृत्ति र बजारमा बिक्नका लागि जस्तोसुकै हथकण्डा पनि अपनाउन तयार हुने प्रबृत्ति यतिखेर हामीकहाँ बिद्यमान छ । देशब्यापीरुपमा समाजमा नपच्ने गीतहरु बजारमा आएका छन् । तिनै गीतहरु सुपरहिट भएका छन्, उनीहरुलाई त्यस्तै गीत उत्पादन गर्न थप प्रोत्साहन मिलिरहेको छ । अनि कसरी राम्रो प्रतिभा अगाडि जान सक्छ ? यस बिषयमा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले बेलैमा स्पष्ट मापदण्ड बनाएर गायक गायिकाहरुको वर्गिकरण गर्नुपर्दछ र यो क्षेत्रलाई मर्यादित र सम्मानित बनाउन स्पष्ट नीति बनाउनुपर्दछ ।’
हामीकहाँ अन्य बिधालाई भन्दा दोहोरीलाई हेर्ने दृष्टिकोण अझै संकुचित छ । स्वघोषित सहरिया एवं सभ्य भनाउँदाहरु यसलाई हेयको दृष्टिले हेर्ने गर्दछन् र भन्छन – ‘यो गाउँघर पाखा पखेरामा गोठाला खेतालाले गाउने गीत हो । जुन सरासर गलत हो । त्यसैले दोहोरीलाई हेर्ने दृष्टिकोण नै फेर्न जरुरी छ । देशभर चलेका हजारौं दोहोरी रेष्टुरेन्टहरुले लाखौंलाई रोजगारी मात्र दिएका छैनन् नेपाली कला सँस्कृति र मौलिक लोकभाकाको उत्थानमा समेत अहम भूमिका खेलेका छन् ।’
देशभित्र हुने मेला महोत्सवका कार्यक्रमहरुमा भाग लिन करिव ३५ जिल्ला टेकिसकेकी शान्तिश्री दाबीका साथ भन्छिन् – ‘अहिले नेपालमा दोहोरी गाएर मजाले बाँच्न सकिने अवस्था छ, जुन पहिले थिएन ।’ तर दोहोरीमा जम्न त्यति सजिलो भने छैन आफुलाई निखार्दै तिखार्दै निरन्तर संघर्ष गर्न सके सफलता हासिल गर्न सकिने उनको तर्क छ ।
दोहोरीमा अक्सर साली भेनाका कुरा, कान्छी फकाउने कुरा, श्रीमती बनाउने कुरा बढि प्रयोग हुने प्रति पनि शान्तिश्रीको धारणा यस्तो छ – ‘दर्शक र स्रोताको मनोभावनालाई ध्यान राखेर गाउनुपर्ने हुँदा यस्ता प्रसंग बढि उठ्ने गरेका हुन् यद्यपि देश बिकासका कुरा, प्रगति र उन्नतिका कुरा पनि दोहोरीमा अटाएका छन् र अटाईनुपर्छ भन्ने लाग्छ ।’
दोहोरी गाउने क्रममा बिबाहित वा अबिबाहित जे भएपनि आफुमा भित्रीक्षमता छ भने खासै फरक नपर्ने र जस्तोसुकै परिस्थितिलाई पनि सहजै सामना गर्न सकिने गायिका शान्तिश्रीको ठम्याई छ । कहिलेकाँही भने गालीगलौज र अश्लिल भाषा प्रयोग गरेर गीत गाइदिने, साह्रै मन पराएर क्रेजी भईदिने, मोबाइल नम्वर माग्ने, स्टेजमै उक्लेर धेरै कुरा गर्न खोज्ने जस्ता क्रियाकलाप गर्ने सेवाग्राहीहरु आईलाग्दा भने बडो समस्या पर्ने उनी बताउँछिन् । ’तर पनि आफु संयमित भएर मिलाएर लान सक्नुपर्ने दोहोरी गायिकाको धर्म हो’ – उनी भन्छिन् ।
भविष्यको योजना बारे मनको पोको फुकाउँदै उनी भन्छिन् – ’गीत संगीतमा अझै निखारिएर अगाडि बढ्ने र नेपाली लोक दोहोरी क्षेत्रमा शान्ति पनि एउटा राम्रो गायिका हो भनेर चिनिन चाहान्छु ।’
कहिलेकाँही पछाडि फर्केर हेर्दा अरु नै क्षेत्र रोजेको भएहुन्थ्यो जस्तो पटक्कै लाग्दैन रे उनलाई । ’ठिकै गरेजस्तो लाग्छ गल्ती गरेजस्तो लाग्दैन ।’ – उनी भन्छिन् ।
उनको बिचारमा राम्रो गायिका बन्न सबैभन्दा पहिलो कुरो त स्वर राम्रो हुनुपर्यो । ’चर्चामा आउन हल्का ग्ल्यामर पनि हुनुपर्दो रहेछ । त्यसपछि रुप, फिगर, मीठो बोलीचाली र राम्रो ब्यवहार त हुनैपर्यो नि’ – हांस्दै उनले थपिन ।
गान्धर्व संगीत पाठशालमा तीन वर्ष म्युजिक सिकेकी शान्तिश्री घरमै हार्मोनियम बजाएर रियाज गर्छिन् । उनी भन्छिन् – ’म दोहोरीलाई उच्च सम्मान गर्छु, यो क्षेत्रमा मैले अझै धेरै गर्नु छ ।’
’यो क्षेत्रमा मात्र होइन हरेक क्षेत्रमा घरपरिवारको सपोर्ट बिना सफलता संभव छैन । घरपरिवारको सपोर्ट र प्रोत्साहनले नै आज म यो क्षेत्रमा अगाडि बढ्ने ऊर्जा मिलिरहेको छ ।’ शान्ति अगाडि भन्छिन् – लोकदोहोरी मन पराईदिनुभएकोमा जापानलगायत बिश्वमा रहेका नेपालीहरुलाई सम्मान छ । जसले गर्दा जहाँजहाँ नेपाली हुनुहुन्छ त्यहाँ त्यहाँ कलाकारहरु पुग्नुभएको छ, देशबिदेश घुम्न पाउनुभएको छ, उहाँहरुलाई धेरेथोर आर्थिक आर्जन पनि भएको छ भने नेपाली गीत-संगीतको बिदेशमा राम्रो प्रचार-प्रसार पनि भईरहेको छ । बिदेशमा बस्ने नेपालीहरुले माया नगरेको भए नेपाली गीत संगीत यति चांडै अगाडि आउने थिएन । यसरी नै नेपाली गीत संगीतलाई मन पराईदिनुस्, नेपाललाई नबिर्सनुहोला भन्न चाहान्छु ।’
‘जापान धेरै राम्रो रहेछ, यहाँ दोहोरी मन पराउने नेपालीहरुको संख्या पनि अधिक रहेछ, जो जहाँ रहे पनि नेपालीको रगत रगतमा लोकगीत र लोकभाका बगिरहेको हामीले पायौं । एकदमै खुशी लागेको छ । पारिवारिक वातावरणमा रमाईलोका साथ तीन महिना बितेको पत्तै भएन ।’
‘नेपालमा छँदा सुनिन्थ्यो, जापानमा त पैसा उम्रन्छ वा रुखमा फल्छ तर होइन रहेछ, यहाँ त धेरै संघर्ष गर्नुपर्दो रहेछ, हाम्रा दाजुभाइ, दिदीबहिनीहरुले बिहानदेखि बेलुकी अबेरसम्म ज्यान दिएर धेरै दुःख गरेको पायौं । यति धेरै दुःख गर्नुपर्छ होला जस्तो हामीलाई लागेको थिएन । यतिकै दुख नेपालमा पनि गर्ने हो भने त उता पनि केहि त हुन्छहोला जस्तो लाग्छ ।’
‘म आज जहाँ छु, सन्तुष्ट छु, मेरा गड फादर पृथ्वी थकालीकै कारणले छु । संघर्षका दिनहरुमा मेरो क्यारियर निर्माणमा हात थापिदिने मिलन लामा, कुलेन्द्र बिक, शिव हमाल लगायतका सिनियर दाजुहरुप्रति जीवनभर कृतज्ञ छु । रोल्पादेखि काठमाडौं हुँदै टोकियोसम्मको साँगीतिक यात्रामा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा आजको दिनसम्म सहयोग गर्नुहुने सबैलाई हार्दिक बिनम्रतापूर्वक धन्यबाद दिन चाहान्छु । मेरा आफ्ना भनाईहरु बिश्वभर छरिएर रहेका सारा नेपालीहरुमाझ पुर्याउने अवसर दिनुभएकोमा समुद्रपारि डट कमलाई पनि मुरीमुरी धन्यबाद दिन चाहान्छु ।
(गायिका शान्तिश्री परियारसंग समुद्रपारि डट कमले गरेको कुराकानीमा आधारित)