अथाहा सम्भावना भएको देश नेपाल सम्भावना विहीन देश जस्तो बनेको छ । देशमा लाइन छ – बत्ति छैन, गाडि छ – पेट्रोल छैन, धारो छ – पानी छैन, युवा जनशक्ति छ – रोजगारी छैन । धेरै सम्भावना हुँदाहुँदैपनि ठोस नीति, पूर्वाधार विकास र राजनीतिले सही दिशा नलिदा आज नेपाल विकासको गतिमा होइन, विनासको गतिमा अगाडि बढिरहेको अनुभूति भएको छ । युवा जनशक्ति रोजगारको लागि विदेशिन बाध्य छन् भने नेपालमा दक्ष जनशक्तिको अभाव छ । विकास निर्माण अनि दृढ इच्छा शक्ति भए विकास र परिवर्तन यही देशमा सम्भव छ । त्यस्को लागि गैर अवासीय नेपाली संघ (एनआरएन) र नेपालमा रहेका नेपालीहरुको लगाब, मेहनत र सच्चा देशभक्तिभाव चाहिन्छ ।
सन्दर्भः एनआरएनहरुको ठूलो लगानी रहेको हेटौंडा–काठमाडौं सुरुङमार्ग । काठमाडौंलाई तराईसँग जोड्ने एउटा छोटो र सजिलो बाटोको प्रतीक्षामा हामी नेपालीहरु बसेको पनि बर्षौं वित्यो । छिटो बन्ने आश र अपेक्षाहरु बढ्दै जाँदा व्यवस्थापनमा देखिएको विवादले एक पटक हामीजस्ता व्यक्तिहरु जो सुरुङमार्गको प्रतीक्षामा थियौं, सबैलाई झस्काइदियो । तथापी, केही दिनको अन्तरालमा आएको नयाँ नेतृत्वले झनै धेरै आशाहरु बढाएको छ । एनआरएनमा कुशल नेतृत्व गर्दै आउनु भएका र व्यवसायिक सफलता पाउनु भएका भवन भट्ट जस्तो व्यक्तिले हेटौंडा–काठमाडौं सुरुङमार्ग निर्माणका लागि नेपाल पूर्वाधार कम्पनीको अध्यक्षता लिनु भएको खबरले हामी सबैलाई उत्साहित बनाएको छ । एउटा जुझारु युवा जसले जापानमा एक सयको हाराहारीमा रेष्टुरेन्ट, पाँचतारे होटल, बिबी एअर तथा नेपालको पर्यटनमा धुलिखेल लज रिसोर्टजस्ता ठाउँमा अरबौंको लगानी गरिरहनु भएको छ । उहाँजस्तो सफल व्यक्तिले लिनु भएको नेतृत्वले धेरै आशाहरु जगाइदिएको छ । तसर्थपनि हाम्रो अपेक्षा यो छिटोभन्दा छिटो सम्पन्न होस् भन्ने हो ।
केही समय पहिला विभिन्न छापाहरुमा आफ्नै सवारी वा मोटरसाइकललगायतका साधनहरु हेटौंडा–काठमाडौं सुरुङमार्गबाट चलाउँदा ५ सय अथवा १ हजारसम्म लाग्ने खबर सुनियो । यो खबर केहीका लागि नौलो पनि भयो । फेरि हामीले बाटोमा सवारी चलाउँदा कर नतिरेको कहाँ हो र ? तर, पाँच सय÷हजार भन्दा हामीलाई अलि अप्ठेरो महशुस भएको मात्र हो । विदेशमा रहनेहरु र विदश आउजाउ गरिरहनेहरुका लागि यो त्यत्ति नौलो विषय बनेन । धेरै विकसित र विकासोन्मुख देशहरुमा प्राइभेट सेक्टर अथवा सरकारले आफ्नै लगानीमा त्यस्ता सडकहरु बनाउने गर्छन् । त्यस बापत लाग्ने खर्च अथवा लगानी गरेबापत खर्च र नाफा कमाउने उद्देश्यले त्यस्ता किसिमका पुर्वाधारहरु बनाइन्छन्, यो स्वभाविकै हो । लगानी गरेबापत मर्मत सम्भार गर्नका लागि नेपाल पूर्वाधार कंपनीले काठमाडौं–हेटौडा सुरुङमार्ग बनाउन जुन पैसा प्रस्ताव गरेकोछ, त्यो आफैमा सुन्दर र सकारात्मक छ । घुम्ती बाटो अनेक मोड हुँदै अत्याधिक समय र पेट्रोलियम पदार्थको खपतको हिसाबले पनि सवारीधनी र यात्रुलाई त्यस्ता वैकल्पिक बाटोहरुको आवश्यकता थियो । यो बाटो सबै सवारीहरु अनिवार्य गुडाउनु पर्छ भन्ने पनि होइन । जबरजस्ती त्यस्तो हाइवे प्रयोग गर्न कोही पनि बाध्य हुनु पर्दैन । उसले यदि त्यो बाटो प्रयोग गरेन भने हाल कायम रहेको बाटो पनि प्रयोग गर्न सक्छन् । जसको लागि उसले हाल कायम रहेको शुल्कबाट नै काठमाडौं–हेटौडाको यात्रा सम्पन्न गर्न सक्छन् ।
फराकिलो चौडा सडक दुवैतिर हरियाली सडक मार्गको पूरा जानकारी रहेको साइनबोर्ड, प्रत्येक १५–२० मिनेटमा शौचालय अनि सुविधाजनक चमेनागृह लगायत यसको नक्शाङ्कन आफैमा सकारात्मक र पर्यटकीय हिसाबले पनि राम्रो हुन सक्छ । भारतसँगको सडकमार्ग नजिक हुनेहुँदा भारतीय तथा आन्तरिक पर्यटनको सम्भावना पनि बढ्न सक्छ । छिमेकी देशबाट पर्यटक बढाउने अभियानहरु चलिरहँदा यो सुरुङमार्गको प्रभावकारीता झनै बढ्ने देखिन्छ ।
नेपालको विकासका लागि एनआरएनहरुको ठूलो भूमिका रहन सक्छ । उनीहरुको लगानी विनाको देश विकास कल्पना नगरेपनि हुन्छ । विभिन्न पूर्वाधार, हाइवे, विद्युत, पर्यटन, कृषिजस्ता क्षेत्रमा लगानी गरि देशलाई आत्मनिर्भर र सक्षम बनाउने बाटोमा एनआरएनहरु अगाडि आउनु पर्छ र उनीहरुलाई सही वातावरण बनाउनु पर्ने दायित्व सरकारको पनि छ । यस्तो हुन सक्यो भने नेपालमा गैरआवसीय नेपालीहरुले बढीभन्दा बढी लगानी गर्ने निश्चित छ र तपाई हामी स्वदेश तथा विदेशमा रहेका युवा मिलेर नै देशलाई समृद्ध बनाउने हो ।
तपाईको प्रतिक्रिया