स्कुले जीवनमा कत्तिको ताली बजाउनुु भो कुन्नि ? जहाँसम्म लाग्छ तपाईलाई वाल्यकालको सबै कुरा याद छ । यदि त्यसो हो भने विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा होस् या त हाजिरी जवाफ प्रतियोगितामा पक्कै तपाईले धितमरुञ्जेल ताली बजाएकै हुनुपर्छ । कसैले पुरस्कार जितेमा पनि ताली ठोक्नु भो, विद्यालयमा गुरुहरुको सरुवा बढुवामा पनि ताली ठोक्नु भो । साथीहरु खेलकूदमा विजयी भए, त्यसमा पनि ठोक्नु भो, कसैको जन्मदिनमा सामेल हुनुुभो त्यसमा पनि ताली ठोक्नु भो । जीवनमा हरेक सुुख दुःखमा ताली ठोक्दै आउनुभएको छ । मानिसको जीवन र तालीको अति नै घनिष्ठ सम्बन्ध रहिआएको छ । तपाईहरु मध्ये कतिले तालीको सट्टा ड्याम-ड्याम किताब ठटाउनु भो, कतिले गोडामा लगाउने जोर चप्पल हातमा उनेर पनि दुइ हात बेस्सरी ठोक्नुु भो मेरो मतलब जीवनमा धेरै ताली बजाउनुु भो । तपाई आफैले पनि कहिले कतै ताली पाउनुभएको होला ।
जिन्दगीमा ताली र गाली पाएको विर्सन हुँदैन रे-बुढा पुरानाले भनेका । तर सबैमा यो नियम लागू हुँदैन, किनकी यो विश्वव्यापी नियम होइन । ताली र गाली नखाने के मान्छे ? नेपालका नेताजीले गाली पनि त्यत्तिकै खाएका छन, ताली पनि त्यतिकै पाएका छन् । उदाहरणको रुपमा नेपालका सम्माननीय प्रधानमन्त्री काफी हुनुहुुन्छ । उहाँले जीवनमा जेल नेल, धरपकड, गिरफ्तार अनि गाली त कति खानु भयो कति त्यसको हिसाव नै छैन । तर त्यो भन्दा बढी उहाँले ताली पनि पाउनु भएकै छ । आजभोलि कार्यक्रममा उहाँ बोल्नुभन्दा अगाडि ताली बज्न शुरु हुन्छ । सायद तपाई पनि उहाँको कार्यक्रममा ताली बजाउने मध्येकै एक हुनुहुन्छ । अस्ती मेरो एकजना साथीले यू-ट्यूूबमा उहाँको भाषण हेरेर ताली बजाउनुभयो । मैले साथीलाई भनें-‘तपाई कस्तो मान्छे, यो भिडियोमा पनि के ताली हानी रा’ – साथीले भन्नु भो-‘उहाँप्रतिको सम्मान’ । हो त है ? कसैको सम्मानमा पो बज्छ ताली ! हुन पनि साँच्चै भन्नुपर्दा कसैको सम्मानमा नै बज्छ ताली । कसैको प्रतिभाको सम्मानमा भित्री हृदयदेखि नै समर्पित भई आफसेआफ दुईहात जोरले ठोक्काउँदा निस्कने गडगडाहट ध्वनी नै हो ताली, जसमा कसैको करकाप बिना भित्री हृदयदेखिकै सम्मान हुन्छ, दुई हातले ताली बजाइरहँदा भित्री हृदय पनि झलमल्ल भई चम्किरहेको हुन्छ । यो समग्ररुपमा तालीकै परिभाषा नभए पनि मेरो बुुझाईमा यही नै हो ताली ।
नयाँ वर्षको उपलक्ष्यमा सँधै झैं यसपाली पनि जापानमा धेरै कार्यक्रमहरु भए । कार्यक्रमहरुमा ताली बज्यो, बजाइयो अनि कतिपय अवस्थामा ताली बजाउन लगाइयो । कार्यक्रम उदघोषकले धेरै भन्दा धेरै समयको प्रयोग गरी दर्शकहरुलाई ताली बजाउन अनुरोध गरे । आज्ञाकारी बालकले झैं जापानका दर्शकहरुले जोड-जोडले ताली बजाए । यहाँ सम्म कि बस्ने ठाउँको अभावमा उभिएरै पनि ताली बजाए । महंगो समय खर्चेर, पैसा तिरेर कार्यक्रम हेर्न गएका दर्शकहरु ताली बजाउन मात्रै उर्दि जारी गरेपछि ‘कार्यक्रम राम्रो देखाउने होइन खाली ताली बजाउ मात्रै भन्छन् कस्तो कार्यक्रम हो यो ?’ भनेर आफू-आफू कुरा गरेको सुन्दा यो पंक्तिकारलाई पनि नरमाइलो लाग्यो । हुन पनि हो, दर्शकको मन जित्ने प्रस्तुती गरेमा कसैले भन्दै पर्दैन ‘ताली बजाउ’ भनेर, ताली आफै बज्छ । उदघोषकले मात्रै नभएर कार्यक्रम प्रस्तुत गर्ने कलाकारले समेत पटक-पटक ताली बजाउनुस् भनेर अनुरोध गरेको साँच्चै दयनीय देखिन्थ्यो । गहकिलो प्रस्तुतीमा चित्त बुुझेपछि दर्शक आफै बजाउँछन् ताली, कसैले करकाप गर्नै पर्दैन । कार्यक्रम गर्ने संघसंस्थाहरुले यो हेक्का राख्नैपर्ने बेला भएको छ कि जापानका दर्शक समय खर्चेर, पैसा तिरेर कसैले खादा लगाएकोमा ताली बजाउन गएका हुँदैनन् । व्यस्त समयको वावजुुद आफूलाई अलिकति भए पनि ‘रिफ्रेस’ गर्न गएका हुन्छन् । कार्यक्रम वजनदार नबनाउने, प्रस्तुती धमाकेदार देखाउन नसक्ने एकोहोरो ताली बजाउ मात्रै भन्ने ?
ताली बजाउनुुस भनेर रटान नदिईकन कसरी आफसेआफ ताली बज्ने प्रस्तुती देखाउन सकिन्छ भनेर सोच्न जापान आउँदै गरेका र भोलि आउने योजना बनाएका कलाकारहरुले पनि समयमै बुुझे हुन्छ । मुख्य आकर्षकको प्रस्तुती २/३ वटा देखाउने अरु पुरा समय आसनग्रहण, संघसंस्था र सहयोगीहरुको नाम पढ्न, भद्रभलादमीहरुलाई खादा लगाउन खर्च गर्ने ल्याङ्गल्याङ्गे पाराले सँधैभरी दर्शकलाई अल्मल्याउन सकिन्छ भनेर नसोच्दा हुन्छ ।
कार्यक्रममा उद्घोष गर्दा अन्तिममा हामी सबै नाच्ने छौ, हाम्रा आमन्त्रित कलाकारहरु तपाईहरुसँगै नाच्नेछन् भनेर उद्घोष गर्ने, त्यसपछि कार्यक्रमको अन्त्य हुनै लाग्दा खादापाता लगाउन थालेपछि समय त्यसै सकिन्छ अनि दर्शक केवल ताली बजाएर घर फर्कनुपर्ने बाध्यता रहिरहेको छ । अनि आयोजकलाई थान्कोमान्के गर्न चटारो, दर्शकहरुलाई घर फर्किनैको हतारो । हतारैमा दर्शकहरु फुसफुसाउँदै हल बाहिर निस्कन्छन्-‘बेकार ताली बजाउन आइएछ, दुई तीन हजारले मज्जाले खाएर सुतेको भए…’ ।
[email protected]