परिमार्जित राष्ट्रवादको गलत ब्याख्या
विश्वको कुनै कुनामा प्रादेशिक एकता अनि भौगोलिक निकटता भएका राष्ट्रहरुलाई जोडेर एक राष्ट्रको रुपमा उभ्याउनु पर्नेमा बहस चल्ने गर्दछ । नेपालमाभने अझै दोस्रो विश्वयुद्धपूर्वको राष्ट्रवाद, जसले पक्कैनै सार्वभौमिकताको तापले छाती त चौडा पार्छ नै तर विकाश र विकाश सँग जोडिएको व्यापारको बाटो बन्द राख्दछ । हामी त्यस्तो राष्ट्रवादको प्रयोग गरिरहेका छौ ।
ग्लोबलाईजेसन भर्सेस सोभरनिटी
उदाउदो शक्तिका रुपमा परिचित सोभियत साम्राज्यमाथि आक्रमण गर्नका निमित्त आफ्नो राष्ट्रको “पोजनान” भन्ने ठाँउ उपलब्ध नगराएको रिसमा जर्मनले पोल्याण्डलाई आक्रमण गर्यो, त्यो नै दोस्रो विश्वयुद्धको आधिकारिक सुरुवात बन्न पुग्यो । जर्मनले यस्तै विभिन्न वाहानामा तीन पटक भन्दा बढी आफ्नो छिमेकी राष्ट्र पोल्याण्डलाई आक्रमण गरेको ईतिहास छ । दोस्रो विश्वयुद्ध पछि सितयुद्धमा पनि पोल्याण्डलाई सोभियत युनियनको “स्पेर्स अफइन्फुयन्स” भित्र पर्यो जसले उसलाई पश्चिम युरोप बाट टाढै राख्यो । विश्वयुद्धको प्रभाव, पश्चिम क्षेत्र सँगको सम्बन्ध बिच्छेदका बाबजुदपनि सन् १९९१ मा शितयुद्ध अन्त्य पश्चात पोल्याण्डले एउटै लक्ष्य लियो त्यो थियो युरोपियनयुनियनको सदस्यता र पश्चिमेली छिमेकीहरुको सम्बन्धको पुनस्र्थापना । उसलाई थाहा थियो युरोपियन युनियनमा जाँदा उसले आफ्नो सार्बभौमिकता तथा राष्ट्रवादलाई कुल्चनु पर्दथ्यो त्यसमाथि पनि ती तमाम पश्चिम युरोपियन राष्ट्रले दिएको चोट र पिडाहरु पोलिस मनबाट निक्लन सकेको थिएन । तर उसलाई यो पनि जानकारी थियो की उसको राष्ट्रवाद र सार्वभौमिकताको कदर तब मात्रै संवभ थियो जब उसले आर्थिक समृद्धि अनि कुटनैतिक कुशलताले युरोपको नेतृत्वको हकदार बनाएर आफुलाई उभ्याउथ्यो । आर्थिक समृद्धि तर्फ अघि बढ्न साथै आफ्नो कम्युनिष्ट राष्ट्रको परिचय बाट गिरेको शाखलाई फिर्ता गर्नका लागि उसले पाएका चोट र पीडालाई बिर्सिएर अब आफ्नो लक्ष्यप्राप्तिको लागि दिनसक्ने सहयोगको निमित्त पहिला जर्मन सँग नै उसले हात मिलायो । अहिले पोल्याण्डलाई नियाल्ने हो भने उ युरोपको “कि प्लेयर” को रुपमाआफुलाई उभ्याउन सफल भैसक्यो ।
हावाबाट बत्ति बालेर, हावामै बल्व लगाएर, हावामै ईन्डक्सन बालेर खाना पकाई, अनी हावै हावाको सपनामा मिठो मान्दै उज्यालोमा बसेर खाना खाने राष्ट्रवाद सायद हामीले खोजेको राष्ट्रवाद होईन । यो त आफ्नो उद्देश्य प्राप्तिका लागि कसैले हाम्रो दैनिकी सहजताको आहुती चढाएर रटाईएको फुस्रो राष्ट्रवाद पो हो त ।
माथि प्रस्तुत उदाहरण सायद नेपालको हकमा समय सापेक्ष होला वा नहोला तर एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्र हुदाहुदै पनि आफ्नो राष्ट्रिय स्वार्थ पुर्तिका लागि कतिसम्म लचिलो हुनु पर्दछ भन्ने नमुना भने पक्कै हुनसक्छ । नेपालले सोहि प्रकृतिको उद्देश्य प्रप्तिका लागि भारत सामु शरण नै पर्नुपर्छ भन्ने होईन तर केहि लचिलो बन्दै एउटा असल तथा सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रुपमा मित्रताको हात भने निसङ्कोच बढाउदा केहि फरक नपर्ला । जहाँसम्म नेपालका आन्तरिक मामिलामा भारतको हस्तक्षेपको कुरा छ क्यानडा हाम्रो लागि गतिलो उदाहरण हुन सक्छ । क्यानडा भौगोलिक रुपमा नेपालभन्दा धेरै ठुलो देश हो साथै नेपालसँग क्यानडको अर्थतन्त्र तुलाना पनि गर्न मिल्दैन तर उसले आफ्नो छिमेकीको रुपमा पाएको शक्ति राष्ट्रका कारण आफुले दुर्भाग्य ब्यहोर्नु परिरहेको छ । जाँहा हरेक आन्तरिक कदममा अमेरिकाको ठाडो हस्तक्षेप हुने गर्दछ ।
परिमार्जित राष्ट्रवादको गलत ब्याख्या
राष्ट्रवाद र सार्वभौमिकताको समय सापेक्ष भएको परिभाषिक परिवर्तनलाई हेर्ने हो भने शक्ति राष्ट्रले आफ्नो आधिपत्य देखाउनका लागि छिमेकी मुलुकको जमिन कब्जागर्ने वा भौतिक आक्रमण गर्ने भन्दा पनि आफ्नो आदर्श लाद्ने सँगसँगै आफुप्रति परनिर्भर गराउने खालका नयाँ तरिकाहरुको सुरुवात दोस्रो विश्वयुद्ध देखिनै भएको हो।
राष्ट्रको सार्वभौमिकताको सम्मान अर्को राष्ट्रले गरोस भन्नका लागि अन्तराष्ट्रिय आड्डा अदालत धाउने अनि भाषणमा रमाउने भन्दा पनि आफुलाई आर्थिक रुपले समृद्ध बनाउने, कुटनैतिक कुशलता बढाउने, आत्मनिर्भरताको स्थिति सृजनागर्ने हो भने जस्तो सुकै समृद्ध भनिएका राष्ट्रले त्यो देशसँगको सम्बन्धलाई बलियो राख्न चाहान्छ । तर नेपालको हकमा आफ्नो कार्यदक्षताको अपरिपक्वताको पर्दाफाँस हुनुपुर्वनै त्यसलाई राष्ट्रवादको लेपन लगाईन्छ । त्यस्तै अहिलेको ओली सरकारले उठेका यावत समस्याहरु चाहे त्यो मधेसी मुद्धा होस, भुकम्प पीडितको त्राषदीको कथाहोस वा पहिचान र उपचार नठम्याईएको भारतले लगाएको नाकाबन्दी होस । सबै कुरामाथि राष्ट्रवादको लेपन लगायो अनि सार्वभौमिकताको हसिँयाले दाउरा चिर्न सिकायो । ओलिको राष्ट्रवादले भारतले नेपालमाथि गरेको वा भनौ गर्न खोजेको ठोडो हस्तछेपलाई भर्याङ बनाएर सत्ताको बागडोर त हातपार्यो नै तर स–सम्मान नेपालको अस्मिता रक्षा तथा दैनिकीमा नेपाली जनताले भोगेको दुःखको निक्र्योल गर्न सकेन । ओली सरकार भारतको बिरोधले हाँसिल गरेको तमाम सकारात्मक सान्त्वनाहरु सबै गुमाउने बेला भैसक्दापनि मन्त्रिपरीषद विस्तारमै आफुलाई अल्झाईरहेको देख्दा ओलीले आफ्नो मात्रै नभएर नेकपा एमालेको भविष्यनै अध्याँरो तर्फ धकेल्दै गरेको आरोप बिज्ञहरुले लगाउन थालेका छन् । सत्ताधारीलाई यति त अवगत हुनै पर्नेहो की राष्ट्रवादको नारामा अडिएको कुर्सीलाई टिकाईराख्नका निमित्त निकासको बाटो जतिसक्दो चाडो खोज्नुपर्ने हुन्छ । नत्र ग्याँसको बिकल्पभन्दै बिजुलिको आशमा महँगोमा किनेको ईन्डक्सन चुल्होमा भात पकाउँदा पकाउँदै गएको बत्तिको झोकमा पन्यू बोकेर गृहिणीहरु बलुवाटार घुस्ने दिन नआउला भन्न सकिन्न ।
राष्ट्रवादको नयाँ समिकरण
स्वर्गपधार पुर्व आफ्नो प्रधानमन्त्रीत्वको सपना सिद्ध गर्नका लागि धेरै प्राविधिक त्रुटि हुदाहुदै संविधान घोषणाको प्रतिफल स्वरुप देखापरेको मधेस आन्दोलन तथा भारतको चित्त दुखाईको श्रृङखला अझसम्म पनि टुङग्गो लाग्न सकेको छैन । यता सरकार भने मधेस आन्दोलन, भुकम्प पीडित तथा भारतको नाकाबन्दीबाट आजित जनताको ढाडमा खाट लगाएर सरकार विस्तारको मज्जा लिनेबाहेक अरु कुनै ठोस कदम चाल्न नसक्ने अवस्थामा पुगि सकेको छ । राष्ट्रवादको गलत ब्याख्य गर्दै नेपाली जनतालाई आदर्शमा बहकाएर सरकार हाक्ने चाबि हत्याउन सफल केपीशर्मा ओली सरकारले अहिले आएर त्यही गलत ब्याख्याको ऋण तिर्नुपर्ने अवस्था आईसकेको छ ।
समयले दिएको सुनौलो अवसर जाँहा नेपालले भारत सँगको परनिर्भरता घटाएर नयाँ बाटो पहिल्याउन सक्थ्यौं तर त्यो गर्न पनि ओली सरकार हिचकिच गरिरहेको देखियो । व्यापार विस्तार र नाकाबन्दी अन्त्यको पहल बोकेर एउटा सार्वभौम सम्पन्न राष्ट्रले अर्को शक्ति राष्ट्रमा “स्टेट लेभलको” नभएर एक “ब्यूरोक्र्याट लेभलको” टोली पठाउदानै नेपलीजनताले ओली सरकारको भनिएको राष्ट्रवादको असलिपना थाहा पाउनुपर्ने हो । नेकपा एमालेमा रहदा “रअ” का एजेन्टका रुपमा छवि बाहिर आउने गरेको घटना ताजा रहदा एक्कसी ओलीमा पलाएको राष्ट्रवाद केबल सरकारमा पुग्ने हतियार मात्र भएको, लगभग सरकारको उपलब्धि सुन्यप्रायः हुदाँ नै पुष्टि भईसकेको छ ।
राष्ट्रवादको नाममा नेपाललाई भारत परस्त वा चीन परस्त बनाउनु नेपालको विकाशका निम्ति हानिकारक सिद्ध हुन्छ । तथापि, भारतले लगाएको नाकाबन्दीले नेपाललाई एकै समयमा भारत र चीनदुवै परस्त बन्ने अवसरको बाटो खोलिदिएको छ । राष्ट्रवादको नाममा नेपाली जनता, नेता, व्यापारी तथा अगुवाहरुलाई चाहे त्यो चीनविरोध होस वा भारत विरोध दुवै क्रियाकलापमा अग्रसर गराउनु नेपालको हितका लागि हानिकारक छ । भारत तथा चीनको राष्ट्रीय स्वार्थको सम्बोधनगर्दै त्यसलाई नेपालको हितमा प्रयोग गर्नुनै नेपालको सहि कुटनैतिक कुशलता र राष्ट्रवादको सम्बोधन हुनेछ ।
लेखकले पोल्याण्डको वार्सा विश्वबिधालय बाट अन्तराष्ट्रिय सम्बन्धतथा कुटनीति विषयमा स्नातकोत्तर गर्नुभएको छ।