टोकियो – जापानमा रहेका दर्जनौ संघसंस्थाका धेरैजसो महासचिवहरुलाई पदीय जिम्मेवारी अनुसारको काम गर्न समस्या देखिन्छ । एजेण्डा कसरी तय गर्ने, बैठक कसरी सञ्चालन गर्ने, निर्णय कसरी र कुन ब्यहोरामा उतार गर्ने र समयमै सम्बन्धित सबैलाई सञ्चार गराउने, अन्यत्र पत्राचार कसरी गर्ने, पत्रको ब्यहोरा कस्तो लेख्ने भन्ने बारेमा धेरै कमले कतै सिकेर आएका भए पनि धेरैजसोमा समस्या देखिन्छ, यद्यपि उनीहरु न त सिक्न चाहन्छन् न त सिक्ने सिकाउने चलन नै छ । अनि कार्यसम्पादनमा समन्वय आउन नसक्दा संस्था नै ओझेलमा पर्ने गरेका उदाहरण धेरै देखिन्छन् । तै पनि हरेक संघसंस्थामा महासचिव हुन लालायित हुनेहरुको भिड लाग्ने गर्दछ । महासचिव पदलाई यसरी हलुका बनाईनुमा हाम्रो समाज नै बढी जिम्मेवार छ । केन्द्रिय भूमिकामा रहेर कार्यसम्पादन गर्न ब्यक्ति सक्षम छ कि छैन त्यतातिर पटक्कै ध्यान दिने गरिदैन, यसकारण जो कोहीले सजिलै महासचिव पद ताक्ने प्रवृत्ति र संस्कारको बिकास भएको देखिन्छ, जुन सोह्रैआना गलत छ । अब यसरी हुँदैन ।
आजको एक्काईसौं शताब्दीको दुनियाँमा धेरैजसो काम कार्वाहीहरु कम्प्युटरमै गरिन्छ । कम्प्युटरमै सँधैका लागि सुरक्षित अर्थात अभिलेखिकरण गरिन्छ । तर धेरैजसो जिम्मेवार पदमा आसिन भएकाहरुलाई कम्प्युटरको कुनचाँही किबोर्डमा ’क’ आउँछ भन्ने हेक्का राख्ने गरेको पाईदैन । फेसबुकतिर न त ब्याकरण मिलेका न त शुद्धाशुद्धी भाषा मिलेका कनिकुथी लेखिएका युनिकोडका हरफहरु भेटिने गरे पनि पदीय जिम्मेवारी अनुसार त्यो कुनै पनि हिसाबले पर्याप्त छैन र हुँदैन पनि । जापानका कतिपय महासचिवहरुको मिडियासंगको डिलिङ त अझ कठै बिचरा भन्ने लायकको छ । कुन सूचना हो, कुन समाचार हो र कुन विज्ञापन हो भन्ने भेउ नपाउनेहरुको संख्या पनि यहाँ अधिक छ । समाचार छपाउन चाहने तर छेउटुप्पो मेलो मेसो नपाउनेहरुको भिडमा रितपूर्वकको बिज्ञप्ती र बक्तब्यको आशा गर्नु त झन धेरै टाढाको कुरो भयो । छपाउन चाहेको ब्यहोरा दुई लाईन लेखेर पठाउन असिन पसिन हुने महासचिव महोदयहरु यहाँ धेरै नै भेटिन्छन् । बरु आफै पैसा तिरेर आफैलाई बधाई दिनेहरु भेटिन्छन् तर आफुले आफैलाई अपडेट गर्दै जानुपर्छ, नजानेको कुरा सिक्नुपर्छ, बरु सिक्न पो कहाँ पाईएला भन्ने महासचिवहरु कोही भेटिदैनन् । यसको मतलव यहाँ सबै आफैमा पोख्त छन्, विज्ञ छन् तर बकितममा मात्र, लिखितमको कुरो आयो भने फेरि उही हातले कोरेर आइफोनले फोटो खिचेर पठाउँछन् यहाँका महासचिवज्यूहरु त्यो पनि मुश्किलले दुई लाइन मात्र । आफ्ना महासचिव सक्षम होस् भन्नेतिर यहाँका संघसंस्थाहरुको ध्यान कहिले जानेहोला ? यो एउटा उदेकलाग्दो बिषय हो भन्न लाज मान्नु नपर्ला ।
कुनै पनि संस्थामा एक जना महासचिव तकडा भयो भने अध्यक्ष लाइनमा आउँछ, अध्यक्ष लाईनमा आयो भने पदाधिकारीहरु जिम्मेवार बन्छन् र नेतृत्वलाई सही समयमा सही काम गर्न स्वतः दबाब बढ्छ । अध्ययनशील, लेखापढी ठिक दुरुस्त, कुशल प्रस्तुतीकरण, समसामयिक अपडेट सहित आवश्यक जानकारी दिएर सबैलाई नियमित घचघच्याउने खालको भूमिका भयो भने महासचिवले सिंगो संस्थालाई रक्तसञ्चार गर्न सक्दछ, ऊर्जाशील बनाउन सक्छ । जापानमा हुने अचेलका कार्यक्रमहरु झन झन फितलो हुँदै जानुमा महासचिवहरुको क्वालिटी खस्कदै जानुसंग प्रत्यक्ष सम्बन्धित छ । कुनै पनि कार्यक्रममा बिषय र इस्यूमा कार्यक्रमलाई केन्द्रित गर्ने आयोजकको काम हो, अझ त्यसमा पनि महासचिवको मुल कर्त्तब्य हो । निर्धारित उद्देश्य प्राप्तीका लागि उसले सिंगो कार्यक्रमलाई आफ्नो नियन्त्रणमा लिन सक्नुपर्दछ । दिईएको बिषय एकातिर वक्ताले अर्कोतिर ताल न बेतालका लम्बेतान गफ छाँटेको सुन्न जापानको महङ्गो समयमा कसैलाई फुर्सद छैन । हत्तेरिका ! बेकारमा यो कार्यक्रममा आईएछ भन्ने नपार्न महासचिव समयमै चनाखो हुनैपर्छ, बेलैमा पर्याप्त गृहकार्य गर्नैपर्दछ । अर्कोतिर कार्यक्रममा अतिथि भएर जाने वक्ताहरुले पनि के बोल्ने भन्ने बारे तयारी गरेर जाने चलन यहाँ छैन । अब यसरी हुँदैन । माइक समाएपछि त्यतिबेला जे मनमा आउँछ त्यही बोल्ने प्रवृत्तिलाई निस्तेज पार्दै जानुपर्दछ । राम्रो बोल्नेले लामो बोल्न पर्दैन । कम्तीमा पनि आफुले बोलेको एक शब्द भएपनि अरुको दिमाखभित्र कसरी घुस्न सक्छ भन्ने अध्ययन र तयारी गरेर, धेरै बिचार गरेर, अरुको समयको महत्व बुझेर वक्ता बोल्न तयार भईदिने हो भने कार्यक्रममा धेरै क्वालिटी आउन सक्छ । नत्र उही कर्मकाण्डी पाराले जापानको महङ्गो समय खर्च गरेर ‘कार्यक्रमका लागि कार्यक्रम’ गर्ने प्रचलनले निरन्तरता पाउने छ । यो अहम् सवालमा पनि जापानका महासचिवहरुको एउटा भेला गरेर जापानको नेपाली समुदायलाई नयाँ दिशामा डोर्याउनेतर्फ पहलकदमी हुन आवश्यक छ । यसका लागि मिडियाले खेल्नुपर्ने सबै भूमिका खेल्न तयार छ ।
महासचिवहरुले आफुले बहन गरेको जिम्मेवारी कुशलतापूवक निर्बाह गर्दै आफ्नो कार्यकाल सबैभन्दा अब्बल बनाउने हो भने आफुमा दक्षता अभिबृद्धि गर्नैपर्छ त्यो भनेको लेखापढीमा पोख्त र अभ्यस्त हुनैपर्दछ । नेपाली भाषालाई हामीले माया गर्न जान्नैपर्छ, नेपाली लेखनमा निखार ल्याउनैपर्दछ, त्यो भन्दा अर्को विकल्प छैन । हल्का युनिकोड लेख्न जान्दैमा नेपाली लेख्न जानेको भ्रममा कोही पनि नपर्दा राम्रो हुन्छ । आक्कल झूक्कल प्रयोग गरिए पनि युनिकोड डकुमेन्टेशन प्रयोजनका लागि हुँदैहोईन यो त एचटीएमएल अर्थात इन्टर्नेटमा नेपाली अक्षर प्रवाह गर्ने प्रयोजनका लागि मात्रै हो । कागजी लेखापढी र प्रिन्ट प्रयोजनका लागि नेपाली फन्ट नै आधिकारिक हो, जुन महासचिव जस्तो पदीय जिम्मेवार ब्यक्तिका लागि जान्न अति अनिवार्य छ । अध्ययनशील बनौं, नजानेको कुरा सिक्न कसैले लाज नमानौ, आफुले आफैलाई अपडेट गर्दै दक्षता अभिबृद्धि गर्न संघसंस्थाका महासचिव मात्र हैन पत्रकार, बुद्धिजीवी, समाजसेवी, संस्थाप्रमुख लगायतका जिम्मेवार ब्यक्तिहरु पनि तत्पर होऔं । ***