झलनाथ खनाल, बरिष्ठ नेता
नेकपा एमाले
झलनाथ खनाल नेपाली राजनीतिमा शालिन छवि बनाएका नेता हुन् । भूमिगत र खुला राजनीतिमा गरेर चार पटक पार्टी नेतृत्व गरेका खनाल सार्वजनिकरुपमा नकारात्मकरुपमा कहिल्यै प्रस्तुत हुँदैनन् । मदन भण्डारी उदाएसँगै गुमनामप्रायः भएका खनाल २०६४ सालमा पार्टीको शर्मनाक पराजयपछि उदाएका हुन् । उनी एमालेभित्र रणनैतिक योजनाकार भनेर चिनिन्छन् । १७ पटकसम्म प्रधानमन्त्रीको निर्वाचनमा तटस्थ बसेर अन्ततः प्रधानमन्त्री बनिछाडेका उनी पार्टीको गत असारमा भएको महाधिवेशनमा तटस्थ बसेर मध्यमार्गको नेतृत्व गरे । पार्टीमा संस्थापन र माधवकुमार नेपाल समूहको गुटबन्दीमा खनालले आफ्नो पक्षधरता देखाएका छैनन् । संविधान निर्माणका दलीय बैठकमा निरन्तर देखिने खनालसँग गरिएको कुराकानीको सम्पादित अंशः–
…………………………..
पछिल्लो समय दलहरुबीच संवादहीनताको अवस्था छ । तपाईंहरुले प्रक्रिया प्रारम्भ गर्नुभएको छ । विपक्षी दलहरुले प्रक्रिया खारेज गरेर नयाँ सहमति खोज्नुपर्ने बताइरहेका छन् । अब नेपालको राजनीति कसरी अगाडि बढ्छ ?
अहिले हामीले उहाँहरु अन्ततः सहमतिमा आउनुहुन्छ भनेर पर्खिरहेका छौँ । तर, आउनुभएको छैन । कुनै कुरा बुझ्न र आँखा खुल्न समय लाग्छ भनेर हामीले उहाँहरुलाई पर्खिरहेका छौँ । पानी थिग्रिएर सफा भएजस्तै उहाँहरुको मन पनि एक दिन सफा हुन्छ भन्ने आशा लिएका छौँ । माघ ८ गतेदेखि वार्ता भएको छैन । उहाँहरुलाई आन्दोलनको नसा सकियोस् र सहमतिमा आउनुहुन्छ नै भनेर पर्खिरहेका छौँ । तर, पर्खाइ अनन्तकालसम्म हुन सक्दैन । बुद्धका शब्दमा कुनै पनि सुरु अन्त्य हुँदैन । हामी वार्ताको ढोका खोलेर बसेका छौँ । कुनै पनि बेलामा पनि आउन सक्नुहुन्छ, सहमति गरौँ । संविधान घोषणा गरौँ, अब ढिलाइ नगरौँ भनेर पर्खिरहेका छौँ । मुलुकलाई विकास, कानुनीराज, राजनीतिक, आर्थिक, साँस्कृतिकरुपमा अघि बढाउन, संविधान निर्माणका कार्यभारलाई पूरा गर्नैपर्छ ।
संविधान निर्माणलाई प्रतिशतमाभन्दा कति प्रतिशत पूरा भएको छ ?
७० पूतिशत पूरा भएको छ । ३० प्रतिशत बाँकी छ । बाँकी रहेकामध्ये पनि चार विवादित विषयमा तीनवटा करिव करिव सहमतिमा पुगेका छन् । संघीयतामात्रै विमति छ । दलहरु कम्मर कसेर लाग्ने हो भने संघीयताको विषय पनि टुंगिन्छ ।
दलहरुबीच अब हुने सहमतिको प्रस्थान विन्दु के हुन सक्छ ?
माघ ५ मा जुन ठाउँमा हामी पुगेका थियौँ । त्यहिँबाट अगाडि बढ्नुपर्छ । विपक्षी मोर्चामै रहनुभएका मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारजीले ल्याएको प्रस्तावबाट छलफल सुरु गर्नुपर्छ । उहाँले अत्यन्त राम्रो प्रस्ताव ल्याउनुभएको थियो ।
गच्छदारजीको प्रस्तावमा छलफल गर्न त विपक्षी मोर्चा नै मञ्जुर छैन नि ?
बिडम्बना यहि छ । उहाँले मिलेका विषयलाई मस्यौदामा पठाउने र नमिलेको संघीयतालाई समय लिएर सहमति गर्ने वा आयोग बनाएर टुंग्याउने प्रस्ताव ल्याउनुभयो । सत्तापक्षमा रहेका दलले पनि स्वीकार ग¥यौँ । हामीलाई विश्वास थियो विपक्षी मोर्चाले पनि त्यस प्रस्तावमा समर्थन जनाउँछ र राष्ट्रलाई निकास दिन्छ भन्नेमा । तर, विपक्षी मोर्चामा भएका साथीहरुले मान्नुभएन । उहाँले राष्ट्रलाई एकताबद्ध बनाउने, समयमै संविधान दिने र दलीय टकरावबाट मुलुकलाई जोगाउने प्रस्ताव गर्नुभएको थियो । तर, अन्त्यमा गच्छदारजीको नेता, मोर्चाका संयोजक कमरेड प्रचण्डजीले मान्न सकिँदैन भन्नुभयो । त्यसपछि वार्ता भाँडियो ।
दलहरुबीचको विमतिले त प्राप्त उपलब्धी नै गुम्ने खतरा देखियो नि ?
पक्कै पनि हाम्रो देशमा आन्दोलनबाट धेरै महत्वपूर्ण उपलब्धीहरु हात परेका छन् । परिवर्तनका प्रवाहहरुलाई संस्थागत गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि चाँडोभन्दा चाँडो संविधान निर्माण गर्नुपर्छ । तर ०६२/६३ देखि अहिलेसम्म संविधान निर्माण हुन सकेको छैन । किन संविधान बन्न सकेन भन्ने विषयमा खोज्नुपर्ने आवश्यकता छ । तर, जसरी भए पनि जनताले निकट समयमा संविधान पाउँछन् ।
कांग्रेस–एमालेसहितको शक्तिहरु सत्तामा छन् । तर, सत्तारुढ दलले सहमतिको पहल गरेन भन्ने आरोप छ नि ?
कांग्रेस–एमाले अहिले मुलप्रवाहमा छन् । उनीहरुले सहमतिका लागि अथक मेहनत गरेका छन् । त्यसकै फलस्वरुप विवाद समाधानका लागि संवाद समितिको म्याद पटक पटक थपेका हौँ । तर, केही राजनीतिक शक्ति र नेताहरुको उग्रवामपन्थी चिन्तनले रोकिरहेको छ । उसका विचार र सोचले संविधान घोषणा गर्न सकिएको छैन । परिवर्तनको मुलप्रवाहको नेतृत्व कांग्रेस–एमालेले गरेका छन् । संविधान निर्माणको मुलधारमा पनि दुवै पार्टी छन् । धेरैलाई परिचालित गरेर संविधान निर्माण गरिन्छ । सहमतिसाथ निर्माण गर्न चाहन्छौँ ।
परिवर्तनका धेरै एजेन्डालाई आत्मसात नगर्दा सहमति नभएको विपक्षी आरोपप्रति तपाईंको धारणा के छ ?
राष्ट्रिय हितभन्दा अरु नै माग सार्दा कुनै पनि हालतमा सहमति हुँदैन । यसले मुलुकलाई होइन, दक्षिणपन्थलाई फाइदा पुग्छ । राजतन्त्रका अवशेष चलमलाइरहेका छन् । अहिले उनीहरु जे गर्दैछन् त्यो यसैको अभिव्यक्ति हो । पूर्वपञ्च सल्बलाइरहेका छन् । आन्दोलनकारी शक्तिहरु फरक फरक कित्तामा छन् । आतंकवादी र चरमपन्थी सल्बलाइरहेका छन् । यस्तो अवस्थामा परिवर्तनकारी शक्तिहरु एक भएमात्रै संविधान निर्माण सम्भव छ । देशको हितलाई, जनताको हितलाई सर्वोपरि ठानेर मुलुकको सार्वभौमसत्ता, अखण्डता र जातीय एकतालाई अग्रभागमा राखेर जानुपर्छ । त्यसका लागि एमाले तयार छ । राष्ट्रिय हित सार्वभौमसत्ता, अखण्डता, अग्रगति र प्रगतिविरुद्ध भने सम्झौता हुन सक्दैन ।
अन्त्यमा जापानमा रहेका नेपालीलाई के सन्देश दिनुहुन्छ ?
म जापानमा रहेका नेपालीहरुको सदैव उन्नति, प्रगति र व्यक्तिगत विकासको कामना गर्दछु । नेपालका राजनीतिक दलहरुले संविधान बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दछु । मिडियाको काम सुसुचित, शिक्षित र मार्गदर्शन गर्ने काम हो । तपाईंहरुले नेपाली जनतामा आशा र सम्भावनाको खोजी गरिरहनुभएको छ, सबै मिलेर त्यसलाई पूरा गरौँ भन्न चाहन्छु ।