‘मेला महोत्सव र विदेशका स्टेज प्रोग्राम’ नै दोहोरी कलाकारका आधार हुन
टोकियो – गायिका जुना श्रीष मगरको नाम लिने बितिकै ‘आज माया मसँग तरक तरक छ’, ‘मनमा गहिरो घाउ छ’, ‘घुम्टेपारी गाजा’ लगायतका गीतहरुको सम्झना दिलाउँछ । सानैदेखि गीत संगीतप्रति झुकाव भएकी गायिका जुना नयाँ वर्षको अवसरमा आयोजित सांगीतिक कार्यक्रमका लागि जापान आएकी हुन् । विगत एक दशकदेखि लोकगायन क्षेत्रमा अनवरतरुपमा लागिपर्दै आएकी जुनाले अनेकौ आरोह अवरोहरु झेल्दै आजको अवस्थासम्म आएको बताउँछिन् । ‘सिलाई कटिङ सिक्न बागलुङ झरेकी थिए, गायिका बन्न पुगे । तर कहाँसम्म पुगिन्छ थाहा छैन’ – भावुक हुँदै जुना भन्छिन् – ‘दोहोरी गीत संकटतिर उन्मुख देखिन्छ यसप्रति गम्भीर हुन अग्रजहरुलाई आग्रह गर्दछु ।’ छोटो समयमा नै नेपाली लोक गीत संगीतको क्षेत्रमा स्थापित हुन सफल गायिका जुना अहिलेसम्म हङकङ, दुबई, कोरिया पुगिसकेकी छिन् भने अहिले जापानमा छिन् । उनै लोकप्रिय गायिका जुना श्रीष मगरसँग समुद्रपारिले गरेको कुराकानीको सम्पादित अंश :
तपाई आफ़्नो परिचय आफै दिनुपर्दा ?
म आफुलाई बिशुद्ध लोक गायिकारुपमा चिनाउन मन लाग्छ । मैले सांगीतिक यात्रा २०६० सालदेखि सुरु गरेकी हुँ । आँशु एल्बममा समाबेश ‘हातैमा लाउने सुनैको बाला सालैजो, शिरमा लाउने शिरफुल’ बोलको गीत रेकर्ड गरेर यो यात्रामा प्रवेश गरेकी हुँ । जुन गीत मैले गायिका सम्झना लामिछानेसँगको सहकार्य गरेर बजारमा ल्याएको थिएँ । त्यसपछि ‘आज माया मसंग तरक तरक छ’ बोलको गीत बजारमा ल्याए । त्यो गीत नै मेरो जीवनमै र्टर्निङ प्वाईन्ट बन्न पुग्यो ।
अहिलेसम्म कतिवटा गीतमा स्वर दिनुभयो त ?
अहिलेसम्म पाँचवटा एल्बम गरिसकें । त्यो बाहेक मैले लगभग चार सयवटा गीत गाईसकेकी छु । त्यसमध्य धेरै गीतहरु भने सेन्टीमेन्टल छन् ।
तपाईको धेरैजसो गीतहरु सेन्टीमेन्टल हुनुको खास कारण के ?
भनिन्छ, भावुक गीतका लागि मेरो स्वर म्याच गर्ने खालको छ । अनि मलाई यस्तो गीत गाउँदा फिलिङ्स आउँछ । अर्को कुरा मैले रोमान्टिक गीत नगाउने, मन नपर्ने भने हैन गाएकी छु र मन पर्छ ।
तपाईको गायन पेशा कि रुची ?
हरेक काममा रुची नभई उसले पेशाको रुपमा अंगाल्न सक्दैन । अपवादमा कहिलेकाँही रुचीबिनाको पेशा पनि बाध्यता विवशताले गर्नुपर्ने हुन्छ । तर मेरो लोकगीत संगीतबाहेक अरु केही छैन । म अरु जे गरे पनि म लोक गायिका नै हो, गायिका भन्न रुचाउँछु । गीत संगीतनै मेरो सबथोक हो ।
यो यात्राका आरोह अवरोह बारे आफ़्ना अनुभव कस्ता रहे ?
म सानैदेखि लोकगीतहरु सुन्ने र गुन्गुनाउने गर्थे । हरिदेवी कोइराला, बिमाकुमारी दुरा दिदीहरुको गीत सुन्दा मलाई पनि उहाँहरु जस्तै गाउन सक्ने हुन पाए भन्ने हुन्थ्योे । पछि समय र विवशताले गर्दा म रिघाबाट सिलाई कटिङ सिक्न बागलुङ बजार झरें । त्यहाँ बस्दा अग्रज कलाकारहरुसँग भेट हुनपुग्यो र पछि पोखराको भेटघाट दोहोरी साँझमा गाउने अवसर मिल्यो । दोहेारी साँझमा गाउँदा गाउँदै २०६२ सालमा काठमाडौं झरे । अहिले पनि म काठमाडौंमा दोहोरी साँझ मै गीत गाउँदै छु ।
तपाई पनि दोहोरी साँझबाट उत्पादित हुनुहुँदो रैछ, किन धेरै कलाकार दोहोरी साँझमा निर्भर छन् ?
हो, साँच्चै दुखलाग्दो कुरो छ । हाम्रो देशमा अझै पनि कलाकारहरुलाई बाँच्ने आधार बनिरहेको छैन । अब गीत बजारमा ल्याएर बिक्री होला भन्नुछैन । त्यसैले बाँच्नलाई कि त दोहेारीसाँझ मै काम गर्नुपर्यो कि त कुनै ब्यापार व्यवसाय गर्नुपर्यो । म पनि विगत दशवर्ष अघिदेखि दोहेारी साँझमा गाउँदै आईरहेको छु । अहिले पनि म भञ्ज्याङ दोहोरी साँझ गोगंबुमा कार्यरत छु । तर पछिल्लो समय मेला महोत्सव, देशविदेशमा हुने साँस्कृतिक कार्यक्रमहरुले पनि केही राहत मिलेको छ कलाकारहरुलाई ।
दोहोरी साँझमा गाउने कलाकालाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभएको छ ?
हो, अझै पनि समाजले दोहोरी साँझमा गाउने कलाकाहरुलाई हेर्ने दृष्टिकोण फरक नै छ । समाजलाई हामीले अझै विश्वास दिलाउन सकिरहेका छैनौं । हरेकजसो दोहोरी साँझहरुमा त्यहाँका कलाकारहरुले दर्शक-स्रोताको चाहनाअनुसारको गीत गाईदिनुपर्ने हुन्छ, उनीहरुको मनोरञ्जनका लागि गाउनुपर्ने हुन्छ । यो एउटा दुखको कुरो हो । तर म के भन्छु भने हामी जहाँसुकै गाए पनि हाम्रा लोक, संस्कृति, परम्परा, रीतिरिवाजलाई सम्वोधन गर्ने खालको हुनुपर्छ ।
लोकगीतलाई कसरी परिभाषित गर्नुहुन्छ ?
मैले मेरा लागि जे गरे पनि लोकगीत संगीतसंग जोडिएको हुन्छ । केही कुरामा दुःखी भए पनि लोकगीत सुनेपछि खुशी हुन्छु । त्यसैले लोकगीत नै जीवन हो जस्तो लाग्छ । विशेषगरी लोकगीत भनेपछि गाउँघर पाखापखेराको आवाज, दीनदुखीहरुको कथा र मधुर लयहरुको मिश्रणले बनेको हुनुपर्छ । जसले गर्दा छोटो समयमै लोप हुन नसकोस् । तर पछिल्लो समयमा युवा पुस्तालाई मात्र लक्षित गरी बजारमा माया-पीरतिका गीतहरु मात्र आउने गरेका छन् । ती गीतहरु सुन्दा कता कता आधुनिकता मिसिएको भान हुन्छ । जुन गीतहरु छोटो समयका लागि मात्र चर्चामा रहने गर्दछन् ।
पश्चिमी सँस्कृतिको प्रभाव पर्न थालेको दोहोरीको भविष्य कस्तो देख्नुहुन्छ ?
हो, साँच्चै भन्ने हो भने आजभोलिका गीतहरुमा ठेट लोक भाका पाउन मुश्किल छ । गीतका शब्दहरुमा अलि उत्ताउला र छाडा शब्द प्रयोग हुन थालेका छन् । भिडियो निर्माण गर्दा पनि सोहीअनुरुपको दृश्य र अभिनय छनौट हुने गरेका छन् । साँच्चै अब ठेट लोक भाका लोप हुने अवस्थातिर उन्मुख हुंदै छ । स्टेज कार्यक्रमहरुमा जाँदा पनि रिमिक्स र नाच्ने गीतहरुको माग धेरै हुने गरेको हामी पाउँछौं । यसले के संकेत गर्छ भने लोक तथा दोहोरी गीतले अबको तन्नेरी पुस्तालाई आकर्षित गर्न सकेको छैन । यसतर्फ लोक तथा दोहोरी गीत प्रतिष्ठानले बेलेमा केही कदम चाल्न जरुरी छ । अग्रजहरुले गम्भीर ढंगले सेच्न आवश्यक छ ।
सफल गायिका बन्नलाई के के गुण चाहिन्छ ?
सुरुमा त उसको स्वरमा निखारता हुनु जरुरी छ । त्याग र इमान्दारिताको पनि उत्तिकै खाँचो पर्छ ।
अहिलेसम्म कुन कुन देशमा जानुभएको छ त ?
दश वर्षको सांगीतिक यात्राको पहिलो विदेश यात्रा २००६ सालमा म हङकङ गएँ । त्यसपछि कोरिया, दुबई र अहिले नयाँ वर्षको अवसरमा पहिलो पटक जापान आएको छु ।
गीत गाएकै कमाईले जीवन धान्न सक्ने अवस्था के छ ?
गीतको सिडी बिक्री गरेर निर्वाह होला भन्ने छैन । अलिअलि सिआरबिटी र पिआरबिटीको आशा हुन्छ त्यही पनि यताउती गर्दा हाम्रो भागमा आउने भनेको दुई रुपियाँ हो । तर अहिलेको परिवेशमा हेर्दा स्टेज कार्यक्रम र देश-विदेशमा हुने कार्यक्रमहरुबाट कलाकारहरुलाई थोरै भए पनि राहत मिलेको छ । स्टुडियोमा मात्र सीमित रहेर अब कलाकारलाई बाँच्न मुश्किल छ । कलाकारहरुले आफ़्नो मिहिनेतको कमाइ पाउने ब्यवस्था हुन सके राम्रो हो, त्यो हुनु जरुरी छ ।
तर पनि नयाँ कलाकारहरु त बढी रहेकै छन् नि ?
त्यो बढ्नुको कारण के हो भनेर खोज्ने हो भने धेरै गहन छ । कतिपय पैसाले गीत संगीत किनेर आएका छन् त कति सोखैसोखमा भित्रिएका छन् । तर उनीहरुको सांगीतिक यात्रा क्षणिक समयका लागि मात्र हो । त्यस्ता कलाकारहरु टिक्न गाह्रो छ ।
दोहोरी गाउनेक्रममा अहिलेसम्मकै सबैभन्दा घम्साघम्सी र स्मरणीय दोहोरी ?
२०६२ सालमा राजधानीको भृकुटीमण्डपमा भएको दोहोरी प्रतियोगिता सम्झनलायक छ । ४८ टिमले भाग लिएको उक्त प्रतियोगिताको फाईनलमा हामी विजयी बन्न पुगेका थियौं । हाम्रो समुहमा गायक बिलन थापा मगर लगायतका कलाकारहरु थिए भने अर्को प्रतिस्पर्धी समुह गामवेशी दोहोरीको टिम थियो । जुन प्रतियोगितामा प्रथम स्थान हासिल गरी एक लाख पुरस्कार जितेका थियौं ।
अबका कार्यक्रमहरु के के छन् ?
बेनीमा म्याग्दी महोत्सव हुँदैंछ त्यहाँबाट पनि निमन्त्रणा आएको छ । त्यसपछि मगर दिवसको अवसरमा दुबई जाने कार्यक्रम छ ।
गायन क्षेत्रमा लागेपछि घरपरिवारबाट कस्तो रेस्पोन्स पाउनुभएको छ ?
राम्रै छ । आमाबुवा, दिदीबहिनी र दाजुभाइ पनि बुझ्ने हुनुहुन्छ । उहाँहरुकै साथ र सहयोगले नै म आज यो स्थानमा आएको छु ।
अन्तमा, के भन्न चाहानुहुन्छ ?
गल्कोट समाज जापानलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । जसले मलाई पहिलो पटक जापान आउने अवसर मिलाइदिनुभयो । त्यस्तै यहाँका दर्शकहरुलाई पनि धेरै धन्यवाद दिन चाहन्छु । जापानमा लोक तथा दोहोरी गीत मन पराउने मित्रहरु धेरै हुनुहुँदो रहेछ, यसरी नै सँधै लोक तथा दोहोरी गीतलाई माया गर्नुहोला । अन्तमा, मेरा आफ़्ना भनाईहरु राख्ने अवसर दिनुभएकोमा समुद्रपारि डट कम र र यसका टिमलाई धन्यबाद दिन चाहान्छु ।***