Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०८, २०८१
Saturday, November 23, 2024

Tula Ramजन्मदिने ममतामयी माताको स्वर्गारोहणको खबरले मनभरि पीर, बेदना र ब्यथाका काला बादलहरुले पुरिएर झण्डै ७ वर्षको अन्तरालपछि अघिल्लो वर्ष म मेरो आमाले मलाई पहिलो पाईला टेकाएको जन्मभूमि पुगें । एकातिर यस धर्तीमा ममतामयी माता नरहेको खबर र अर्कोतिर मैले सोचेको मेरो गाउं नरहेको दृश्यले कता कता आफ़्नै जन्मभूमि पनि विरानोजस्तो लाग्यो । मेरो गाउं कता कता परिवर्तन भएको देखें । गाउंका ठाउंठाउंमा मोटर र जीप गुडेका छन् । थोत्रा मोटर र जीपको धुंवा र धुलोका मुस्लाहरु उडिरहेका छन् । विद्यालय, उच्चमाद्यामिक विद्यालय र बोर्डिङ स्कुलमा विद्यार्थीहरु पढिरहेका छन् । हाम्रा धर्म, संस्कार र रितिरिवाजका परिचय बनेका चौतारी, पोखरी, देवीदेउताका थान, कुलायन त्यसै त्यसै विरक्तलाग्दा बनेका रहेछन् । लाग्छ उनिहरु मलाई देखेर रोइरहेका छन् ।

अब मेरो गांउका मानिसहरु अर्नि होइन, नास्ता खाने भएका रहेछन् त्यो पनि चाउमिन र मःम: । अझ कसैले त टिफिनै बोकेर हिड्ने गर्दारहेछन् । हरियोचौर पाखातिर मोटर पार्किङ भएका छन् । चौतारीहरु त बस स्टप नै बनेका रहेछन् । युवाहरुलाई बसले र जीपले ओसारीरहेका छन् । यदाकदा मात्र बूढापाकाहरु घरको दलानमा गोडा पसारीरहेका देखिन्छन् । दलानमा गुन्द्री, काम्लो होइन कुर्सी राखिएका छन् । गलैचा ओछ्याईएका छन् । यहां सातुको त सातै उडेछ, भूटेका मकै त झन कसले खाने ? कोदोको खेतीनै हराएछ । बाघ र स्याल कराउने ठाउंमा जीप, मोटरसाइकल र बस क्वाँ क्वाँ गरेर कराउन थालेका रहेछन् । जडन, आंगा मार्सीको रातो मार्सीको धानलाई साइड लगाएर बिकासे धानले आफ़्नो रवाफ जमाएको रहेछ । जौ, फापर, केराउ र तोरीको खेतीलगायत ढिकी, जाँतो त कतै देख्न नै नपाइने भएछ ।
1

गाउंमा सबैका कानकानमा मोवाइल, छाना छानामा एन्टिना छन् । कौसीमा धोती, कछाड, भोटो होइन पाइन्ट, सर्ट, टाइ सुकाईएको छ । नयां स्कुले केटाहरुले  हंसिया, खुर्पेटो, धरो, नाम्लो, काम्लो, थुन्से अनि दाम्लो भन्ने त के हो र ? भन्न थालेका रहेछन् । न ढिंकी न जांतो टण्टा, न त बाह्रहाते पटुका बेर्नैको झञ्झट, न मलखादको बार, न झेक्रा गाड्ने सार सबै हराएछ । अब बर, पिपल लगाउने, लांकुरी गाड्ने, चौपारी चिन्ने, पोखरी सोहोर्ने कुरै हराएछ । नाकमा मुन्द्री, कोदोको बाला काट्ने खुर्पी, घिउ झिक्ने थुर्मी, घिउ राख्ने हर्पे, सबै हराईसकेका छन् । गांउमा अब आरन छैन । तोमाटाले गाग्री, ताउला बनाउन छाडेछन् । बटुका हराएर प्लेटको प्रवेश भएको रहेछ । खैजडीं, मुजुरा, मादल र मुरलीको स्वर पनि गाउंमा सुन्न नपाईने रहेछ । शंख, घण्टको ध्वनिमा भन्दा अडियो, भिडियोमा आनन्द लिन थालेका रहेछन् । बिबाहमा नौमती बाजा होइन, आइफोनबाट बाजा घन्काउन थालिएछ । पाहुरपात हराएर प्रिजेण्ट लिन र दिन थालिएछ ।

2म गाउँमै थिएँ, एक दिनको कुरो हो, भैंसी दुहिरहेकी जेठीआमाको मोवाइलमा घण्टी बज्यो । पग्रिएको भैसी दुहुनु कि, मोवाइल फोन उठाउनु उहाँ फसादमा पर्नुभयो । मोबाइलमा ‘छम्मा छम्मा’ भन्ने हिन्दी गीतको धुनले भैसी पनि त लठ्ठै पर्दोरहेछ । पहिलेपहिले भएको भए बुर्कुसी मारेर बसिखानु हुन्थेन । जेठीआमा बाल्टी पर सारेर पटुकाबाट मोबाइल निकालेर हरियो चिन्हमा थिच्नुभयो । जापानको टोकियोबाट जेठा छोराले फोन गरेका रहेछन् । फोनमा लामो कुराकानी भयो, यताबाट भन्दैथिए – ‘धन्दा नमान्नु आमा, एक-दुइ वर्षपछि तपाईको गोठालो जीवन सकिन्छ, मेरो यहाँ ५ वर्षको भिसा लाग्यो । मैले छिट्टै काठमाडौंमा घर किन्दैछु । अब सपरिबार काठमाडौंमै बसाइ सर्ने हो । गांउका सबै कुरा त्यतिकै छोडिदिनु होला ।4

त्यसपछि मैले सोचे यी सबै कालखण्डकै कुरा हुन् । यस परिस्थितिमा रुपान्तरण वा कुरुपान्तरण जे भइरहेको छ त्यसमा पछौटेपन छैन । । यो प्राचिन किंवदन्ती होइन न त अर्वाचिन कोरा कल्पना हो । यो समय अनुसारको यथार्थ हो । अन्त्यमा, यो देह टाढा जापानमा भए पनि, अमेरिका, क्यानडा जहां गए पनि, सबै इष्टमित्रले जन्मभूमिलाई नबिर्सनुहोला भन्न चाहान्छु । ***

5

 

पुनश्च: आदरणीय पाठकहरु,
यहांहरुले पनि आफ़्नो गाउं, ठाउंको बारेमा स्थान परिचय, यात्रा संस्मरण जस्ता मनमा लागेका भावना लेखेर पठाउनुस, हामी अवश्य स्थान दिने छौं ।
–  समुद्रपारि

तपाईको प्रतिक्रिया