नवनिर्वाचित अध्यक्ष
नेकपा एमाले
प्यानल बनाएर चुनावी मैदानमा उत्रिनुभएको थियो । अध्यक्षमा निर्वाचित भएसँगै कसरी सबैलाई समेटेर अघि बढ्नुहुन्छ ?
निश्चय नै सबैलाई समेटेर अघि बढ्छु । विचारमा स्पष्टता, संगठनमा सुदृढता, व्यवहारमा गतिशीलता र पार्टीलाई व्यापक एकताबद्ध बनाएर लैजानु मेरो पहिलो प्राथमिकता हुनेछ । अब हारजितको कुरा सिद्धियो । लोकतान्त्रिक अभ्यासमा गइसकेपछि त्यसको परिणामलाई पनि सोही रूपमा लिनुपर्छ । कार्यकर्ताले नेतृत्व हस्तान्तरणको चाहना राखेका छन्, म त्यसलाई सही ढंगले प्रतिनिधित्व गर्नेछु ।
केहीअघि संसदीय दलको नेतामा निर्वाचित हुनुभयो, अहिले अध्यक्षमा । संसद् र पार्टी दुवै मोर्चामा विजयी हुँदा कस्तो अनुभव भइरहेको छ । र, पराजितलाई कसरी मिलाउनुहुन्छ ?
मैले दुइटै मोर्चामा सर्वसम्मत गरौं भनेको थिएँ । तर सधैंभरि सबै पद आफैंले राख्नुपर्छ भन्ने केही साथीहरूको धारणाका कारण सम्भव भएन । माधवजीले प्यानल नबनाएको भए चुनावमा जानुपर्ने अवस्था नै आउने थिएन । पार्टी झनै एकजुट हुन्थ्यो । विगतमा मैले अरूलाई सघाएको, छाडेको कुरालाई कृतज्ञताका रूपमा नभई कमजोरी ठानियो । झापा आन्दोलनदेखिको मेरो योगदानलाई बिर्सने काम गरियो । मैले ल्याएका नयाँ कुराहरूलाई नजरअन्दाज गरियो । त्यसैले पार्टीलाई अग्रगति दिन मेरो नेतृत्व वाञ्छनीय थियो । मैले आफ्नो जितलाई निकै नम्रता, शालीनता र जिम्मेवारीबोधका रूपमा लिएको छु । मैले कहिल्यै पनि विजय, पराजयलाई ठूलो रूपमा लिइनँ । त्यसैले हारजितका कुरा फेरि पनि इतिहास भइसकेको छ । अब प्यानल छैन । हामी सबै एमाले हौं, पार्टीलाई एकढिक्का बनाएर अघि बढाउनेछु ।
तपाईंको जितले राष्ट्रिय राजनीतिमा चाहिँ कस्तो प्रभाव पार्ला ?
विल्कुलै सकारात्मक प्रभाव पार्छ । मेरो ज्यान सदैव देश र जनताप्रति समर्पित छ । मुलुकको पछौटेपन अन्त्य गरी समृद्ध बनाउनु, आधुनिकीकरण गर्नु, गरिबी हटाउनु, प्रशासन चुस्त र राजनीतिक हस्तक्षेपमुक्त बनाएर सुशासन र विकास दिनु मेरो प्राथमिकता हुनेछ । मुलुकलाई जनपक्षीय ढंगले अग्रगामी बाटोमा लिएर जानु मेरो दायित्व हुनेछ । मुलुकलाई उन्नतितिर डोर्याउनुछ । सबैभन्दा महत्त्वपूर्ण कुरा, संविधानसभा निर्वाचनमा व्यक्त जनमत र जनचाहनाअनुसार यथाशक्य छिटो संविधान बनाउने र मुलुकलाई स्थायित्वतिर लैजाने दिशामा काम गर्नेछु ।
तपाईंको जितसँगै सत्ता समीकरण फेरबदलको चर्चा पनि चुलिएको छ, के भन्नुहुन्छ ?
मैले कहिल्यै, कुनै पनि पदप्राप्तिलाई उद्देश्य र लक्ष्य बनाएको छैन । संधैं देश र जनतालाई केन्द्रमा राखेको छु । जसको जुन कुरामा ध्यानै छैन, त्यसमा जोडेर चर्चा गर्नु गलत हुनेछ । तर मेरो लामो राजनीतिक इतिहास छ । मसँग सत्ता सञ्चालनको अनुभव छ । मुलुकको समस्या समाधान गरी समृद्धितर्फ कसरी डोर्याउन सकिन्छ भन्ने स्पष्ट दृष्टिकोण छ । मुलुकको हितमा कसरी काम गर्नुपर्छ भन्ने राम्रो जानकारी छ । यदि देशले मबाट चाह्यो भने प्रभावकारी ढंगले सेवा पुर्याउन सक्छु । देश र जनताको हितमा दृढतापूर्वक काम गर्न सक्छु । ***