प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिर परिसरमा सुन्दर र आकर्षक गणेश मन्दिर निर्माण भएको छ । जलकुण्डसहितको गणेश मन्दिर अहिले सामाजिक सन्जालमा युवायुवतीको फोटो प्रदर्शनीको उपयुक्त थलो बनेको छ । बागलुङ जिल्ला बिहुं करलिममा जन्मेर हाल बेलायतमा होटल व्यवसाय संचालन गर्ने ३९ बर्षिय गंगाधर कँडेलले उक्त मन्दिर निर्माण गरेका हुन । कालिका भगवती गुठीले पवित्र कालिगण्डकीको जल राख्ने योजना सहित निर्माण गरेको जलकुण्डमा कँडेललाई मन्दिर निर्माणको अनुमति दिएपछि कँडेलले करिब ७ महिनामा मन्दिरको निर्माण कार्य सम्पन्न गरेर यहि बैशाख ९ गते बैद्धिक बिधिपूर्वक प्राण प्रतिष्ठा, उदघाटन गरी नवनिर्मित मन्दिर गुठीलाई हस्तान्तर गरे । यसै सन्दर्भमा ढोरपाटन दैनिकसंग भएको श्री कंडेलको संवाद यस्तो छ ।
कालिका भगवती मन्दिर परिसरमा गणेशको आकर्षक मन्दिर निर्माण गर्ने सोच कसरी आयो ?
– म बागलुङ जिल्लाको बिहुं करलिमको मध्यम बर्गिय परिवारमा जन्मिएको हुं । बिहुंकै धार्मिक एवं सांस्कृतिक विषेशता भनौ बिहुँ बिभिन्न धार्मिक इतिहास बोकेका स्थानहरु प्रशस्तै भएको ठाउँ हो । श्री श्री १००८ स्वामी प्रमानन्द सरस्वतीज्यूको तपोभूमी रामकोट धामको महिमा अनि उहाँकै अनुवाई श्री श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती ज्यूको जन्म स्थान रहेको पुण्यभूमी करलिम हो । जहाँ प्रत्येक बर्ष साना ठूला धार्मिक सत्संग अनि श्री गणेश मन्दिर, श्री सरस्वती मन्दिर र राम मन्दिरले सु–सज्जित गाउँ बेदवेदान्तका निकै व्याख्या गर्न ख्याती राख्ने पिठाधिशहरु रहेको गाउँ आदि परिवेश भित्र हुर्किएको म आर्थिक रुपमा सफलता पाउदै गर्दा भगवानका नाममा केही गर्नुपर्दछ भन्ने कुराहरु मनभरी धेरै पहिलादेखि आइरहन्थ्यो र म धेरैपटक कालिका भगवती मन्दिर दर्शनको लागि आउने गर्दथे । यो पछिल्लो २ बर्षको समयमा यहाँ धेरै राम्रा कामहरुको शुरुवात भएको रहेछ । यस पवित्र स्थानमा केही योगदान पुरयाउने कार्य गर्न मन लागेकाले कालिका भगवती गुठीसंग समन्वय गरी श्री गणेशको मन्दिर स्थापनाको भावना आयो ।
निकै राम्रो अनि धेरै धनराशी खर्च गरेर गणेशको मन्दिर बनाउनुभयो, फेरी त्यसमा भएको खर्च चाहि किन सार्वजनिक गर्न चाहनुभएन नि ?
– यो कुरा मेरो ह्दयको अन्तरआत्माबाट र मेरो व्यक्तिगत मेहेनतको कमाईबाट लगाएको हुं । म यो कामलाई भगवानको नाममा खर्चेको दानलाई म यतिउति दान गरें भनेर भन्न वा सार्वजनिक गर्न मेरो मनले मानेन ।
यो मन्दिर निर्माणमा गुठी व्यवस्थापन समितिले तपाईलाई कस्तो सहयोग गरयो ?
– कालिका भगवती गुठी व्यवस्थापन समितिबाट जुन सहयोग मैले पाए यो कुराले म पूर्णरुपमा सन्तुष्ट छु । यसरीनै समितिबाट सहयोग पाएमा कालिका मन्दिर क्षेत्रलाई अझै व्यवस्थित र विषेश पहिचानका साथ कालिका धामकै रुपमा चिनिन्छ जस्तो मलाई लाग्छ । यसबाट धार्मिक पर्यटकहरु आन्तरिक र बाह्रय रुपमा बढाउन सकिने स्पस्ट छ ।
मन्दिर निर्माण पश्चात आम नागरिकहरुको प्रतिक्रिया कस्तो पाइरहनु भएको छ ?
– हर कामको पछाडि राम्रो र नराम्रो क्रिया प्रतिक्रिया हुने नै गर्दछ । यो मानविय संवेदनानै हो भनि म ठान्दछु । जे होस् फेरि पनि यो मेरो कामको सवैतिरबाट सह्रानिय छ भन्ने नै सर्वत्र सकारात्मक प्रतिक्रियाहरु सुनिरहेको छु ।
तपाइले निर्माण गरेको मन्दिरको नृत्य पूजा र व्यवस्थापन आगामी दिनहरुमा कसरी संचालन हुनेछ ?
– मैले पूर्णरुपमा श्री गणेशको मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिसकेको छु । स्वभाविक रुपमा जसरी कालिका मन्दिरमा व्यवस्थापन समितिले नियमित नृत्य पुजा संचालन गर्छ त्यसरी नै त्यहांको कर्म चलिरहोस् भन्ने म चाहान्छु ।
तपाई बागलुङको विहुंमा जन्मेको युवा कसरी लण्डन पुगेर व्यवसाय संचालन गर्न पुग्नुभयो ?
– यो प्रश्नले मलाई अतिनै भावुक बनायो । किनकी म मेरो विगतका कष्टप्रद दिनहरु सम्झिन पुगें । मैले पहिला नै भनिसकें की म एक मध्यम परिवारमा हुर्केको मान्छे एकै पटक लण्डन पुगेको होइन । स्कुल पढ्दा पढ्दै विदेशिन पुग्नु मेरो चाहना नभएर बाध्यता थियो । कामको खोजी गर्दै इन्डियाका बिभिन्न सहरहरुमा भौतारिएको अनुभव मसंग धेरै छन । मैले हर काम गर्दा ध्यान दिएको विषय के हो भन्दा हर कामको सम्मान, कर्ममा विश्वास, इमान्दारिता र लगनका साथ कामहरु गर्दै गएं र मेरो यही कुराले नै होला मलाई कसैले राम्रो मान्नु भएछ र धेरै जनाको भिडमा म सेलेक्ट भएछु र लण्डन पुगे । कम खर्चमा त्यहाँको प्रतिष्ठित होटलमा काम गर्ने अवसर पाएं र त्यहांबाट धेरै कुराहरु सिक्ने अवसर पाएं । अहिले आएर मैले सिकेको सिप र ज्ञानलाई आफ़्नो व्यक्तिगत व्यवहारमा उतार्ने प्रयास गरीरहेको छु जसबाट मैले सन्तुष्टि पनि पाएको छु ।
तपाई जस्तो युवा व्यवसायी अहिले लण्डनमा परिवारसहित हुनुहुन्छ आगामी दिनहरुमा आफ्नो कर्मभूमिमा पनि कुनै व्यवसाय चलाउने सोचमा हुनुहुन्छ की ?
– पक्कै पनि म मेरो जन्मभूमिप्रति ऋणी छु । आफ्नै ठाउंमा म निकट भविष्यमा केही गर्ने सोचमा पनि छु । म समयलाइ पर्खिरहेको छु ।
लण्डनमा बागलुङका मानिसहरुको अवस्था चाहि कस्तो छनी ?
– लण्डनमा के–कति संख्यामा बागलुङेहरु हुनुहुन्छ त्यो त मलाई यकिन भएन । तर मसंग जो सम्पर्कमा हुनुहुन्छ उहाँहरुको बसाई चाहिँ सन्तोषजनक नै भएको मैले पाएको छु ।
खासगरी बागलुङे व्यवसायीहरुले लण्डनमा के कस्ता समस्याहरु झेल्नुपरेको छ ?
– स्वभाविक रुपमा विदेशमा नेपालीहरुलाई पर्ने गरेको मुख्य समस्या भनेको त्यहांको भाषा, कानुनी जटिलता आदी हुन । लण्डनमा पनि यी समस्याहरु धेरै थोरै समस्याका रुपमा आउने गर्दछन ।
नेपालको अस्थिर राजनैतिक गतिबिधिप्रति लण्डनबासी नेपालीहरुको प्रतिक्रिया कस्तो रहेको छ ?
– आफनो जन्मभूमिप्रति अवश्य सवैको माया हुन्छनै । हामीलाई पनि नेपालको अत्यन्तै माया छ । हामी त कामको लागि विदेश लागेको हो जन्मभूमि सधैका लागि छोडेको त होइननी । म के चाहन्छु भने स्वदेशमा रोजगारी र व्यवसायका अवसरहरु प्राप्त हुन । देशमा हर नागरिकहरुको शान्तिको अनुभूति गर्न सकुन । देशमा सु–शासन चलोस र स्थायित्व बनोस । स्वस्थ तरिकाले राजनैतिक प्रतिस्पर्धा होस । राज्यले आफ़्ना नागरिकहरुलाई विदेशमा काम गर्न जान नपर्ने वातावरण बनाओस मलाई यहि लाग्छ । अरुलाई पनि यही लागेको होला ।
लण्डनमा बस्ने नेपालीहरुले आफ़्नो मौलिक संस्कृति, धर्म, संस्कार संरक्षणका लागि के कस्ता कार्यहरु गर्ने गरेका छन ?
–नेपालमा जस्तै हर चाडपर्वहरुमा जम्मा भई सकेसम्म नेपालमा जस्तै गरी हर चाडपर्वहरु मनाउने गरिन्छ । त्यहाँ पनि नेपाली समुदायहरुबाट नियमित मठ मन्दिरहरुमा पूजाअर्चना हुन्छ । त्यहा धेरे मठ मन्दिरहरु रहेका छन । आफ्नो पर्व, संस्कार, परम्पराअनुसार एक ठाउमा भेला भई भजन किर्तन, बाजा गाजा, लोकगीत, नृत्य आदीको प्रस्तुती भैरहन्छ । मैले पनि मेरो सोख भनौं भजन किर्तनका बाद्यबादनका सबै सामानहरु घरमै राखेको छु जसले गर्दा भौतिक रुपमा नेपालबाट टाढा रहेता पनि नेपालमै बसेर चाडपर्व मनाएको अनुभूति गर्दछौं ।
अन्तमा, यहांको भनाई केही छन कि ?
–मलाई कालिका भगवती गुठी व्यवस्थापन समितिले जुन सहयोग गरयो त्यो सहयोग मैले शब्दमा बर्णन गर्न सक्दिन । म र मेरो परिवारले ह्दय देखिनै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौं । मलाई आशा छ यो कालिका मन्दिर परिसर धार्मिकधामका रुपमा परिणत होस जस्ले गर्दा आन्तरिक तथा वाह्य पर्यटकहरु र धर्मावलम्विहरुको उपस्थिती बढ्दै जाओस । बागलुङ जिल्लाको चिनारीको रुपमा रहेको कालिका मन्दिरको विकास, प्रबर्धन र प्रचारप्रसारका लागि सवैको सहयोग आवश्यक रहेको छ । हामी सवै मिलेर जिल्लाको नाम र प्रतिष्ठा अभिबृद्धि गर्न सामूहिक रुपमा लागौं भन्न चाहान्छु । अन्तमा तपाईको यो लोकप्रिय पत्रिकामार्फत मेरो भनाईहरु राख्ने विषेश अवसर दिनुभएकोमा हार्दिक आभार व्यक्त गर्न चाहान्छु । बागलुङ कालिका भगवती माईका साथमा श्री गणेश मन्दिरमा समर्पण भाव राख्दै सवै नेपालीहरुको सुख, शान्ति, समृद्धि होस भन्ने कामना व्यक्त गर्दछु । धन्यवाद
सौजन्य: ढोरपाटन दैनिक