समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध हात धोएर लागेका उर्जामन्त्री दीपक खड्कामाथि कार्यकक्षमै हातपात भएको छ। यो घटना गत शुक्रबार भए पनि एक सातापछि बिहीबारमात्र सार्वजनिक भएको हो। कांग्रेसका मन्त्रीहरुलाई सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा बोलाएर कामको ब्रिफिङ लिने क्रममा खड्काले देउवा समक्ष आफूमाथि हातपात भएको खुलासा गरेका हुन् ।
त्यहाँ उर्जामन्त्री खड्काले आफूमाथि कार्यकक्षमै हातपात भएको गुनासो राखेका थिए। खड्काले सिंहदरबार परिसरमै सुरक्षाको कमी भएको आरोप लगाए। त्यसक्रममा गृहमन्त्री रमेश लेखकले खड्कासँग किन समयमा घटनाबारे जानकारी नदिएको भनेर प्रश्न गरेका थिए।
घटनामा संलग्न व्यक्ति गोरखा जिल्लाका पोखरेल थरका हुन् भन्ने जानकारी खड्काले दिएका छन्। मन्त्री खड्का शशांक कोइरालाको कोटाबाट सरकारमा सहभागी भएका हुन्। उर्जामन्त्रीको रूपमा नियुक्त भएदेखि नै खड्का विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई हटाउन प्रयासरत छन्। उनले प्राधिकरणकै भवनभित्र आफ्नो कार्यकक्ष स्थापना गरेर पनि दबाब सिर्जना गरेका थिए। यो विवादले मन्त्रालय र प्राधिकरणबीच थप तनाव सिर्जना गरेको छ।