समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल राष्ट्र बैंकले नयाँ संशोधन मार्फत माघ १ गतेदेखि बैंकमा खाता खोल्न राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर अनिवार्य बनाउन निर्देशन दिएको छ। संशोधित ‘बैंक तथा वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशन, २०८०’ अनुसार, माघ १ गतेपछि खाता खोल्दा ग्राहकले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।
राष्ट्र बैंकले २०८१ साल माघ १ देखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा आधारित जानकारी प्रमाणित गरेर खाता खोल्ने व्यवस्था सुनिश्चित गर्न निर्देशन दिएको छ। साथै, सरकारले बैंक खाताबाट भुक्तानी गर्दा ग्राहक पहिचान र सत्यापन प्रक्रिया अनिवार्य गरिएको छ।
त्यस्तै, उच्च पदस्थ व्यक्तिहरूको राष्ट्रिय परिचयपत्र विवरण अद्यावधिक गर्न राष्ट्र बैंकले माघ १ को समयसीमा तोकेको छ। यी व्यक्तिहरूका परिवार सदस्य वा नजिकका सम्बन्धका विवरण सुनिश्चित गर्न विशेष संयन्त्रको प्रयोग गर्नुपर्ने नयाँ व्यवस्था गरिएको छ।
नयाँ निर्देशानुसार, उच्च पदस्थ व्यक्तिको पदावधि समाप्ति पछि ती व्यक्तिको अभिलेख अब १० वर्षसम्म राख्नुपर्नेछ। यो अवधि पहिले ५ वर्ष मात्र थियो। राष्ट्र बैंकको संशोधित नीति अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले यी व्यवस्थाहरू तुरुन्त लागू गर्नुपर्नेछ।