काठमाडौं – माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा नेताहरूको धारणा प्रस्तुत गर्ने क्रम जारी छ । सोमबारको बैठकमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्दै नेता सुदन किरातीले पार्टीको वर्तमान अवस्थाबारे आफ्ना विचार राखे ।
उनले पार्टीको अवस्था धेरै बिग्रिसकेको भन्दै प्रतिवेदन कार्यान्वयन चुनौतीपूर्ण हुने बताएका छन् । नेता किरातीले भने, ‘यदि यो प्रतिवेदनलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सक्यौं भने पार्टी रूपान्तरण र पुनर्निर्माणको दिशामा अगाडि बढ्नेछ । यसले हाम्रो दुखको यात्रा अन्त्य गर्दै सुखद यात्रा प्रारम्भ गर्नेछ ।’
उनका अनुसार सर्वसाधारणले प्रचण्ड नेतृत्वको सरकारको असल काम र ओली नेतृत्वको सरकारका कमजोरीलाई स्पष्ट रूपमा छुट्याउन थालेका छन् । किरातीले पार्टी र नेतृत्व राज्य सञ्चालनका आधार स्तम्भ भएको चर्चा गर्दै, आन्तरिक जीवनलाई थप सुदृढ गर्नुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘ओलीमा स्टालिन प्रवृत्ति देखिएको छ भने प्रचण्डमा लेनिनभन्दा पनि बढी जनवादी सोच छ । यसले समग्रमा सकारात्मक परिस्थितिलाई हाम्रो पक्षमा मोडेको छ ।’
नेता किरातीले अनुशासित र शक्तिशाली पार्टी निर्माणका लागि विचार र विधिको विकास आवश्यक भएको उल्लेख गर्दै विशेष अधिवेशनको मिति घोषणा गर्न माग गरे । उनले भने, ‘यस बैठकलाई आयोजक समितिमा बदलौं र प्रचण्ड नेतृत्वको महत्त्वलाई फेरि पुष्टि गरौं ।’
नेता किरातीले उपराष्ट्रपति नन्दबहादुर पुन राजनीतिमा फर्कने हल्लाले समाजमा नकारात्मक सन्देश गएको उल्लेख गरे । उनले नेतृत्वलाई सुझाव दिँदै भने, ‘पार्टीले सम्माननीयलाई अझ सम्माननीय बनाउनु पर्छ । आलोचनाभन्दा माथि राखेर उहाँलाई पाठशालाको रूपमा स्थापित गरौं ।’