काठमाडौं – यस वर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न कृषकहरूलाई भ्याइनभ्याइ छ । नेपालमै सबैभन्दा बढि लप्सी उत्पादन हुने पर्वत जिल्लाका अधिकांश कृषकहरूले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास-४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ ।
यो उद्योगले लप्सीबाट माडा, अचार, क्याण्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो क्याण्डीलगायत परिकार बनाउँदै आएको छ । विगत डेढ दशकदेखि लप्सी प्रशोधन गर्दै आएको उद्योगले यस वर्ष झण्डै ७० लाख बराबरको कारोबार गर्ने लक्ष्य राखको छ । उद्योगमा यस वर्ष झण्डै ६० टन लप्सी प्रशोधनको तयारी गरिएको छ ।
गाउँगाउँबाट लप्सी सङ्कलन गर्ने र अचार, माडा बनाउने तथा क्यान्डिका लागि गुदी निकालेर राख्ने काम भैरहेको उद्योगका सञ्चालक थानेश्वर भुसालले जानकारी दिए । पर्वतमा झण्डै दुई सय मेट्रिकटन लप्सी उत्पादन हुने भए पनि ३० प्रतिशत मात्र प्रशोधन गर्न सकिएको उनको भनाइ छ । बाँकी केही कृषकहरूले बोटबाटै दाना बिक्री गर्दै आएका छन् भने जनशक्तिको अभावले टिप्न नसक्दा बोटमै खेर जाने गरेको भुसालले बताए ।
चार वर्ष पहिले उत्पादित लप्सीका दश लाख बराबरका परिकारहरू अमेरिका पठाएका भुसालले नेपालमा भन्दा पनि बढी विदेशमा माग रहे पनि अहिले पठाउने संयन्त्र नरहेको बताए । नेपालीहरूले विदेश फकिँदा कोशेली र पाहुरको रूपमा लैजाने बाहेक व्यावसायिक हिसाबले उद्योगबाटै होलसेलमा विदेश पठाउन नसकिएको उनको भनाइ छ ।
जिल्लाका झण्डै ४० वटा वडामा लप्सीको उत्पादन हुँदै आएको छ । कुनै बेला जङ्गलमा त्यसै झरेर कुहिने लप्सी पछिल्लो समय प्रशोधन गर्न थालेपछि आम्दानीको राम्रो श्रोत बनेको हो । वनपाखामा त्यसै खेर जाने लप्सीबाट आम्दानी गर्न सकिने भएपछि लप्सीको व्यावसायिक खेती समेत शुरू भएको छ । सामुदायिक खाद्य प्रशोधन उद्योगले कृषकलाई लप्सी खेतीतर्फ आकर्षित गर्नका लागि निःशुल्क बिरूवा समेत वितरण गर्दै आएको छ ।