काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महामन्त्री मुकुल ढकालविरुद्ध कठोर कदम चालेपछि पार्टीभित्रको विवादले नयाँ मोड लिएको छ । ढकालमाथि आलोचनात्मक प्रतिवेदन तयार पारिएपछि लामिछानेले उनलाई महामन्त्री पदबाट निलम्बन गरे, जसको केही समयपछि पार्टीबाटै निष्कासन गरियो ।
पार्टीबाट निकालिएपछि मुकुल ढकालले लामिछानेमाथि गम्भीर आरोप लगाएका थिए । उनले लामिछानेले नेपालबाट हुन्डीमार्फत् ठूलो परिमाणमा रकम अमेरिका पठाउने गरेको दाबी गरेका थिए । ढकालका अनुसार, लामिछानेले पठाएको रकमको व्यवस्थापन पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापा गर्दै आएका थिए । मोहन थापा र लामिछाने अमेरिकामा एकसाथ बस्ने गरेका थिए ।
ढकालले एक अन्तर्वार्तामा थप खुलासा गर्दै भनेका थिए, ‘लामिछानेले गृहमन्त्री रहँदा प्रहरीका सरुवा-बढुवामा आर्थिक लेनदेन गरेका थि ए। सो रकम हुन्डीमार्फत् अमेरिका पठाइएको थियो, जसलाई रास्वपाका केन्द्रीय सदस्य मोहन थापा र गोमा क्षेत्रीले अमेरिकामा व्यवस्थापन गर्दै आएका थिए ।’ उनका अनुसार, गोमा क्षेत्रीको नाममा प्रत्येक महिना लगभग अढाई लाख रुपैयाँ पार्टीको खातामा आउने गरेको थियो ।
तर, ढकालको यो बयानले तत्कालीन समयमा आलोचना मात्र कमाएको थियो । लामिछानेले यी आरोपको खण्डन गरे पनि हालै सरकारी वकिलको कार्यालयमार्फत् जिल्ला अदालत काठमाडौंमा दायर मुद्दाले ढकालका आरोपलाई पुष्टि गर्ने संकेत दिएको छ ।
प्रहरी अनुसन्धानले लामिछानेको नामबाट रेमिटेन्समार्फत् ७५ लाख १० हजार रुपैयाँ विदेश गएका विवरण पत्ता लगाएको छ । २०२१ देखि २०२२ को बीचमा विभिन्न मितिहरूमा यो रकम रेमिटेन्समार्फत् पठाइएको थियो । लामिछानेले बयानमा यो रकम गोर्खा मिडिया नेटवर्क र लाओएशिया प्यासिफिक स्याटलाइट कम्पनीजस्ता संस्थासँगको सम्झौताअन्तर्गत पठाइएको बताएका छन् । तर, नेपालबाट यसरी विदेश पैसा पठाउनु गैरकानुनी मानिन्छ ।
यो विषय स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धान हुँदै गर्दा सार्वजनिक भएको हो । लामिछानेसहित उनका व्यापारिक साझेदार जीबी राईसहित ३९ जनाविरुद्ध संगठित ठगीको आरोपमा मुद्दा दायर गरिएको छ । सरकारी वकिल कार्यालयले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो दाबी माग गरेको छ ।