काठमाडौं – भारतमा पत्रकार मुकेश चन्द्रकारको हत्याका मुख्य आरोपित सुरेश चन्द्रकारलाई छत्तीसगढ प्रहरीको एसआईटीले आइतबार हैदराबादबाट पक्राउ गरेको छ ।
३३ वर्षीय मुकेश चन्द्राकार यही जनवरी १ गते रातिदेखि घरबाट बेपत्ता भएका थिए । पछि उनको शव सेप्टिक ट्यांकीमा भेटिएको थियो । सेप्टिक ट्यांकी अभियुक्त ठेकेदार मुकेश चन्द्रकारका मजदुर बस्ने ठाउँमा निर्माण गरिएको हो ।
यस घटनामा जनवरी ३ का दिन प्रहरीले सुरेश चन्द्रकारका दुई दाजु रितेश चन्द्राकार र दिनेश चन्द्राकारसहित सुपरभाइजर महेन्द्र रामटेकेलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।
डिसेम्बरमा पत्रकार मुकेश चन्द्राकारले माओवादी प्रभावित क्षेत्रमा सडक निर्माणमा भ्रष्टाचार भएको समाचार छापेका थिए । यो खबरपछि प्रदेश सरकारले उक्त सडक निर्माण ठेक्कामा छानबिन थालेको थियो ।
जनवरी १ गते साँझ पत्रकार मुकेश चन्द्राकारलाई रितेश चन्द्राकारले घरमा खाना खान बोलाए । बस्तर प्रहरीका अनुसार त्यो साँझ खाना खाने क्रममा रितेश र मुकेशबीच झगडा भयो र त्यसपछि मुकेशको हत्या भयो ।
भारतीय सञ्चारमाध्यमका अनुसार छत्तीसगढको बस्तरमा भएको यो हत्या घटना भारतभर चर्चाको विषय बनेको छ । भारतीय माओवादी प्रभावित बस्तरमा पत्रकारिता चुनौती बनेको भन्दै भारतका पत्रकारले चिन्ता व्यक्त गरेका छन् ।