चिसो मौसम हरेक वर्षको एक प्राकृतिक चक्रको हिस्सा हो, जसले विशेषगरी जनवरी, फेब्रुअरी र मार्च महिनामा आफ्ना प्रभावहरू देखाउँछ । जब हावा चिसो हुन्छ र तापमान घट्न थाल्छ, तब हाम्रो चारैतिरको वातावरणमा ठूलो परिवर्तन देख्न सकिन्छ । चिसो मौसमलाई हामीले आफ्नो दैनिक जीवनमा विविध तरिकामा महशुस गर्न सक्छौं । यो मौसमले हाम्रो शरीर र मानसिकतामा असर पार्छ र विभिन्न चुनौतीहरू पनि ल्याउँछ ।
चिसो मौसममा सबैभन्दा पहिलो कुरा भनेको तापमानको गिरावट हो । राति र बिहानको समय धेरै चिसो हुने हुनाले अत्यधिक जाडोको अनुभव हुन्छ । यस अवस्थामा, हाम्रो शरीरलाई तातो राख्नका लागि उचित कपडा लगाउन आवश्यक हुन्छ । चिसो मौसमका कारण विभिन्न स्वास्थ्य समस्याहरू पनि बढ्न सक्छन् । रुघा, खोकी, फ्लू र दमको समस्या बढ्न सक्छ, जसले हाम्रो दैनिक जीवनमा प्रभाव पार्न सक्छ । त्यसैले, हाम्रो स्वास्थ्यलाई ध्यानमा राख्दै हामीले नियमित व्यायाम र सन्तुलित आहारको पालना गर्नुपर्ने हुन्छ ।
चिसो मौसमका कारण हाम्रो स्वास्थ्यमा धेरै प्रकारको समस्यहरू देखा पर्दछन् जस्ले गर्दा दैनिक जीवनलाई प्रभावित गर्न सक्छ । यी समस्याहरूको बारेमा जानकारी राख्नु र उचित सावधानी अपनाउनु महत्वपूर्ण छ । चिसो मौसममा देखिने केहि प्रमुख समस्याहरू यसप्रकार छन् ।
सर्दी र फ्लूः सर्दी सामान्यतया सामान्य भाइरस (जस्तै राइनो भाइरस) का कारण उत्पन्न हुन्छ । यो छिटो फैलने रोग हो र प्रायः मौसमको परिवर्तनसँग सम्बन्धित हुन्छ । सामान्यतयाः नाकबाट सिंगान बग्ने, घाँटी दुख्ने, खोकी लाग्ने, टाउको दुख्ने, थकाना महशुस हुने जस्ता सर्दीका प्रमुख लक्षणहरू हुन् । फ्लू पनि भाइरसका कारण हुने रोग हो, तर यो सर्दीभन्दा बढी गम्भीर र तीव्र रूपमा देखापर्छ । फ्लूका लक्षणहरू साधारणतयाः सर्दीभन्दा धेरै गम्भीर हुन्छन् । उच्च ज्वरो आउने, शरीर दुख्ने, घाँटी र नाक दुख्ने, अत्यधिक थकान एवं कमजोरी महशुस हुने, खोकी लाग्ने जस्ता फ्लूका प्रमुख लक्षणहरू हुन् ।
सर्दी र फ्लूको रोकथामः सर्दी र फ्लूका भाइरसहरूको प्रमुख संक्रमणको स्रोत हाम्रो हात हो । त्यसैले, हामीले आफ्नो हातलाई बारम्बार साबुनपानीले धोइराख्नु पर्दछ । सार्वजनिक स्थानमा मास्कको प्रयोग गर्दा भाइरस फैलने संभावना कम हुन्छ । राम्रो आहार र प्रोटिनयुक्त खाना खाँदा शरीरको प्रतिरक्षा प्रणाली बलियो हुन्छ, जसले सर्दी र फ्लूको संक्रमणबाट बचाउँछ । नियमित ब्यायाम र पर्याप्त निद्राले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन सहयोग गर्दछ । फ्लूबाट बच्न स्वास्थ्य संस्थानहरुमा फ्लू भ्याक्सिन उपलब्ध छ । जुन विशेष गरी उच्च जोखिमका व्यक्तिहरूलाई लगाउनु महत्वपूर्ण हुन्छ ।
उपचारः सर्दी र फ्लूको उपचारबाट सामान्यतयाः लक्षणहरूलाई कम गर्न सकिन्छ । सर्दीको उपचारमा नाक सफा राख्ने, तातोपानी पिउने र आराम गर्न आवश्यक छ । यदि लक्षण गम्भीर छैन भने, सामान्य पेनकिलर सेवन गर्न सकिन्छ । फ्लू संक्रमण भएको थाहा पाउने बित्तिकै डाक्टरको सल्लाह अनुसार उपचार गर्नुपर्दछ । फ्लूको उपचारमा एन्टिवायोटिक औषधि सेवन गर्ने गरिन्छ जसले संक्रमणको अवधि छोटो बनाउन मद्दत गर्दछ ।
हाडजोर्नीको समस्याः चिसो मौसममा हाडजोर्नी तथा मांसपेशीमा असहजता र दुख्ने समस्या बढ्न सक्छ । जब बाहिरी तापमान धेरै घट्छ, शरीरको तापमान नियन्त्रण गर्न गाह्रो हुन्छ र यसले हाडजोर्नी र मांसपेशीमा समस्याहरू सिर्जना गर्न सक्छ । विशेषगरी वृद्ध व्यक्तिहरू, जो हाडजोर्नीका समस्याहरूबाट पीडित छन् चिसो मौसममा उनीहरु थप समस्यामा पर्ने गर्दछन् । चिसो मौसममा हाडजोर्नीमा हुने पीडा सामान्यतया गम्भीर हुन्छ । जब तापमान घट्छ, हाड र जोर्नीहरू संकुचित हुन्छन्, जसले जोर्नीमा घर्षण बढाउँछ र दुखाइको अनुभव गराउँछ । यो समस्या विशेषगरी अर्थराइटिस भएका व्यक्तिहरूमा बढी देखिन्छ । अर्थराइटिसले जोर्नीहरूलाई कमजोर बनाउँछ र चिसो मौसममा यो समस्या थप बढ्दै जाने हुन्छ । यस्तैगरी चिसो मौसममा हाडजोर्नीहरूमा समस्या आउन सक्छ । यो प्रक्रिया मांसपेशी र जोर्नीहरूको लचिलोपन घटाउँछ र हिडडुलमा कठिन बनाउँछ । यसले विशेषगरी बिहान उठ्दा वा लामो समयसम्म एउटै स्थानमा बसेपछि जोर्नी र मांसपेशी खुम्च्याउँदा असहजता ल्याउँछ । चिसो मौसममा शरीरको रक्त प्रवाहमा कमी आउन सक्छ, जसले हड्डी र मांसपेशीको कमजोरी बढाउँछ । यसले हाडजोर्नीको गतिशीलता कम गर्दछ र सँगै पीडाको समस्या बढाउँछ । चिडो मौसममा शरीरको तापमान सामान्य भन्दा तल जान्छ र यसको परिणामस्वरूप हाडजोर्नी र मांसपेशीमा असहजता र दुखाई हुन सक्छ । शरीरले तापमानको कमीलाई समायोजन गर्नका लागि मांसपेशीहरू संकुचन गर्दछ, जसले दुखाईलाई बढाउँछ ।
समस्या कम गर्ने उपायहरूः चिसो मौसममा हाडजोर्नीको समस्या कम गर्न तातो कपडा लगाउनु, तातो पानीको बोतल वा हिटिङ प्याड प्रयोग गर्नु प्रभावकारी हुन्छ । यसले रक्त प्रवाहलाई सुधार्छ र हाडजोर्नीको पीडा कम गर्न मद्दत पु¥याउँछ । नियमित हल्का व्यायाम र स्ट्रेचिङ् गर्ने प्रक्रियाले हाडजोर्नीको खुम्च्याउँदा हुने असहजता र पीडामा कमी ल्याउन मद्दत गर्दछ । यसले जोर्नी र मांसपेशीलाई लचिलो राख्न र रक्त प्रवाह बढाउन सहयोग पुर्याउँछ । केही प्राकृतिक उपचारहरू जस्तै मसाज वा तातो तेलको प्रयोगले हाडजोर्नीको दुखाई कम गर्न मद्दत गर्छ । यसले जोर्नीहरूलाई आराम दिन्छ र रक्त प्रवाहलाई बढाउँछ । चिसो मौसममा हाडजोर्नीको स्वास्थ्यलाई मजबुत बनाउन सन्तुलित आहार महत्वपूर्ण छ । क्याल्सियम, भिटामिन डि, म्याग्नेसियम, ओमेगा –३ र फ्याटी एसिडको प्रयोगले हाड र जोर्नीलाई बलियो बनाउँछ । यदि हाडजोर्नीमा अत्यधिक पीडा र समस्याहरू छन् भने, डाक्टरसँग परामर्श गरेर उपचार गर्नुपर्दछ । सामान्यतया, एन्टि–इन्फ्लेमेटरी औषधिहरू र दुखाई कम गर्ने औषधिहरूले जोर्नीको पीडा कम गर्न मद्दत गर्दछ । तातोपानीमा स्नान गर्दा मांसपेशी र जोर्नीहरूलाई आराम मिल्छ । यसले रक्त प्रवाहलाई बढाएर हाडजोर्नीको पीडामा राहत दिन सक्छ ।
मुटु सम्बन्धी रोगको जोखिमः चिसो मौसमले मुटु र रक्त सञ्चार प्रणालीमा विशेष असर पुर्याउँछ । तापमानको कमीले शरीरको रक्तनली संकुचित हुन सक्छ, जसले रक्तचाप बढाउन मुटुलाई थप दबाबमा राख्न सक्छ । यस कारण मुटु सम्बन्धी रोग भएका व्यक्तिहरूलाई चिसो मौसममा विशेष सतर्कता अपनाउन आवश्यक हुन्छ ।
चिसो मौसममा शरीरको तापमान घट्दा रक्तनली संकुचित हुन्छ । यसले रगतको प्रवाहमा अवरोध सिर्जना गर्दछ र शरीरका अंगहरूमा पर्याप्त रगत पुग्न गाह्रो हुन्छ । यसका कारण मुटुमा अतिरिक्त दबाब आउँछ र रक्तचाप बढ्न सक्छ । उच्च रक्तचापको कारण मुटुका लागि थप दवाव उत्पन्न हुन्छ, जुन मुटुसम्बन्धी रोगका लागि जोखिमपूर्ण हो । चिसो मौसममा शरीरलाई तातो राख्नका लागि मुटुले अतिरिक्त काम गर्नुपर्छ । यसले मुटुको मांसपेशीलाई थकित बनाउँछ र रक्त प्रवाहमा असमान्यताहरू उत्पन्न गर्न सक्छ । मुटुलाई आवश्यक रगत र अक्सिजन नपाउँदा, हृदयाघात वा स्ट्रोकको जोखिम बढ्न सक्छ । चिसो मौसममा अक्सिजनको आपूर्ति र श्वासप्रश्वास प्रणालीमा समस्या आउन सक्छ । यसले मुटुलाई उचित अक्सिजन प्राप्त गर्न कठिनाई पुर्याउँछ, जसले मुटुको कामलाई प्रभावित गर्छ र हृदयाघातको सम्भावना बढाउँछ । यस्तै चिसो मौसममा शरीरलाई न्यानो राख्नका लागि बढी ऊर्जा आवश्यक पर्दछ । यसका कारण मुटुलाई अधिक काम गर्नुपर्ने हुन्छ, जसले मुटुको लोड बढाउँछ र जोखिमको स्तर पनि बढाउँछ । चिसो मौसममा मानिसहरूलाई मानसिक तनाव र चिन्तामा बृद्धि हुन सक्छ । यसकारण मुटुको मांसपेशीमा तनाव आउने संभावना हुन्छ । तनावले मुटु र रक्तसञ्चार प्रणालीमा नकरात्मक प्रभाव पार्न सक्छ ।
समस्या कम गर्ने उपायहरूः चिसो मौसममा धेरै परिश्रम नगर्नुहोस् । शरीरलाई थकाउने कार्य गर्दा हृदयलाई अत्यधिक दबाब पर्न सक्छ । विशेष गरी वृद्ध व्यक्तिहरू र मुटु रोगका बिरामीहरूले बढी आराम गर्न आवश्यक छ । बाहिरको तापमान अत्यधिक चिसो हुँदा, घरमा तातो राख्नुहोस् र बाहिर निस्कने समयमा राम्रो तातो कपडा लगाउने गर्नुहोस् । यसले शरीरलाई तातो राख्न मद्दत पुर्याउँछ र रक्तनलीको संकुचनलाई रोक्न सक्छ । चिसो मौसममा धूम्रपान र मदिराको सेवनले मुटुमा थप दबाब पार्न सक्छ । यी दुई बानीहरूले रक्तनलीलाई संकुचित गराउँछ र रक्तदबाब बढाउँछ, जसले मुटुरोगको जोखिम बढाउँछ । मुटुको स्वास्थ्यलाई राम्रो राख्नका लागि सन्तुलित आहार महत्वपूर्ण छ । फलफूल, सागपात, ओमेगा–३, फ्याटी एसिड र कम सोडियम भएका खाद्य पदार्थहरूले हृदयलाई स्वस्थ राख्न सहयोग पुर्याउँछ ।
त्यस्तै हल्का व्यायाम वा योगा मुटुलाई तन्दुरुस्त राख्न महत्वपूर्ण छ । यसले रक्त प्रवाहमा सुधार ल्याउँछ र मुटुको दबाब कम गर्न मद्दत गर्छ । मुटु रोग भएका व्यक्तिहरूले आफ्नो ब्लड प्रेसर नियमित रूपमा जाँच गर्नु राम्रो हुन्छ । ब्लड प्रेसर उच्च भएको अवस्थामा, डाक्टरको सल्लाहअनुसार उपचार गर्नु आवश्यक हुन्छ । चिसो मौसममा तापमानको ठूलो परिवर्तनले शरीरमा तनाव उत्पन्न गर्न सक्छ । एकदम चिसो ठाउँबाट तातो स्थानमा जानु वा विपरित, तातो स्थानबाट चिसो स्थानमा जानु मुटुका लागि खतरनाक हुन सक्छ । त्यसैले, शारीरिक गतिविधि गर्दा तापक्रमको ध्यान राख्नु महत्वपूर्ण छ । स्रोतः विभिन्न सन्दर्भ सामग्री