समाचार सुन्नुहोस :
काठमाडौँ – जर्मनीको म्यागडेबर्ग क्रिसमस बजारमा कार आक्रमणको परिणामस्वरूप ज्यान गुमाउने व्यक्तिको संख्या पाँच पुगेको छ। जर्मन राज्य मिडिया एआरडीका अनुसार, घटनामा २०० जना घाइते भएका छन्। जसमा ४१ जनाको अवस्था गम्भीर छ। यो दुर्भाग्यपूर्ण घटना शुक्रबार भएको थियो।
घटनास्थलमा जर्मन चान्सलर ओलाफ स्कोल्ज शनिबार बिहान पुगेर अवलोकन गरेका छन्। इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले पनि जर्मन नागरिकहरूसँग ऐक्यभाव व्यक्त गर्दै सहानुभूति प्रकट गरेकी छिन्। शहरका काउन्सिलर रोनी क्रुगले क्रिसमस उत्सव र बजार बन्द गर्ने निर्णय गरेका छन्। साथै, जर्मनीको आन्तरिक मन्त्रालयले स्याक्सोनी-एनहाल्टका सबै सरकारी भवनमा राष्ट्रिय झण्डा आधा झुकाउन आदेश दिएको छ।
आक्रमणकारी ५० वर्षीय साउदी नागरिक भएको पुष्टि भएको छ। उनी सन् २००६ मा जर्मनी आएका थिए र स्थायी नागरिकता प्राप्त गरेका थिए। अन्तिम समय उनी बर्नबर्गमा डाक्टरको रूपमा काम गर्थे। प्रारम्भिक अनुसन्धानका आधारमा, यो घटना उनले एक्लै गरेका हुन्। अन्य कसैको संलग्नता हालसम्म देखिएको छैन र थप अनुसन्धान जारी छ।