समाचार सुन्नुहोस :
काठमाडौँ – तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा टिकटक बनाउने क्रममा खोरुङ्गा खोलाको खोंचमा खसेर शिक्षिका र एक विद्यार्थीको ज्यान गएको छ। स्थानीय गौखुरी माविमा नर्स शिक्षिकाको रूपमा कार्यरत रबिना राजवंशी र कक्षा ७ मा अध्ययनरत १२ वर्षीया सुस्मिता भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
शनिबारको बिदाको दिन, शिक्षिका र विद्यार्थी आफ्ना साथीहरूसँग मिलेर विद्यालयको दक्षिणतर्फ रहेको खोरुङ्गा खोलामा पौडी खेल्न गएका थिए। टिकटक बनाउने क्रममा उनीहरू खोंचमा खसेपछि गम्भीर दुर्घटना भएको गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले जानकारी दिएका छन्। मृतकहरूको शव खोंचबाट बाहिर निकालेर खोलाको किनारमा ल्याइएको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।