काठमाडौं – रुसी सेनाका लेफ्टीनेन्ट जनरल आइगोर किरिलोभको हत्याको जिम्मेवारी युक्रेनले लिएको छ । युक्रेनी सुरक्षा बलले हत्याको जिम्मा लिएको भन्दै अन्तर्राष्ट्रिय एजेन्सीहरूले समाचार छापेका छन् ।
युक्रेनी सञ्चार माध्यम किभ इन्डिपेन्डेन्ट र न्यूज एजेन्सी आरबीसी युक्रेनले पनि एजेन्सीका अज्ञात स्रोतलाई उद्धृत गर्दै युक्रेनी सुरक्षा सेवाले उनको हत्या गरेको भनेको छ । स्कुटरमा लुकाइएको बम विस्फोट हुँदा किरिलोभ र उनका एक सहायकको मृत्यु भएको थियो । स्कुटरमा उक्त विस्फोट कसरी भयो भन्नेबारे प्रहरी र अनुसन्धानकर्ताहरूले छानबिन गरिरहेका छन् ।
यो पनि : बम विस्फोटमा रुसी आणविक सुरक्षा बलका प्रमुखको मृत्यु
मस्कोमा किरिलोभलाई मार्नकै लागि आफूहरूले अपरेसन चलाएको युक्रेनी सुरक्षा सेवाको दाबी छ । मस्कोमा मंगलबार बिहान किरिलोभ र उनका सहायक भवनमा पुग्दै गर्दा विस्फोटक पदार्थ राखिएको स्कुटरमा विस्फोट भएको थियो ।
युक्रेनी सेनाविरुद्ध प्रतिबन्धित केमिकल अस्त्र प्रयोग गर्ने आदेश दिने भएकोले युक्रेनले किरिलोभ ‘वैधानिक निशाना’ भएको स्रोतको दाबी थियो । विष्फोटका क्रममा उक्त स्कुटर पूरै जलेको थियो । किरिलोभको हत्यालाई रुसले आतंकवादी गतिविधि भनेको छ । बीबीसी