काठमाडौं – पर्वतकुमार कार्की नागरिक लगानी कोष (सीआईटी) को कार्यकारी निर्देशक हुन् । नेपाल राष्ट्र बैंकमा ३० वर्षे सेवा पूरा गरी सेवा निवृत्त भएपछि कार्कीसँग साबिकको ग्रामीण विकास बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा ४ वर्ष र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरेको अनुभव छ । उनी नेतृत्वको कोषले पूँजी बजारमा पनि नयाँ मोडालिटीमा लगानी गर्ने तयारी गरिरहेको छ । यसका अतिरिक्त वैदेशिक रोजगारीमा रहेका नेपालीले कमाएको केही पैसा अवकाशको समयमा सदुपयोग होस् भन्ने लक्ष्यसहित नागरिक पेन्सन योजना सञ्चालनमा छ । कोषकोे काम कारवाही र आगामी रणनीतिको विषयमा केन्द्रीत रहेर कार्यकारी निर्देशक कार्कीसँग समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंश :-
नागरिक लगानी कोषको गरिमा र बिजनेस बढाउन कसरी अगाडि बढिराख्नु भएको छ ?
सीआईटी ३४ वर्ष काम गरिसकेको संस्था हो । कोषले आफ्नै प्रकृतिका कामहरू गरिरहेको छ । हाल जेजति काम तथा योजनाहरू गरिरहेको छ, त्यसलाई निरन्तरताको आवश्यकता पर्छ । पछिल्लो समय सूचनाप्रविधि तथा डिजिटलाइजेसनमा जोड दिइरहेका छौं । सीआईटीको डिजिटलाइजेसनमा विशेष काम गर्नुपर्ने देखिन्छ । कोषका योजना तथा कार्यक्रममा सहभागी हुने सदस्यहरूलाई भौतिक रूपमा उपस्थित नभएरै काम सम्पन्न हुने व्यवस्था गरिरहेका छौं । कोषको कार्यालयमा आएर दरखास्त दिने, लामो प्रक्रिया अपनाउनु पर्दा मान्छेहरू झन्झट मान्नुहुन्छ । त्यसकारण कोषको सेवाहरूलाई अनलाइन माध्यममार्फत प्रभावकारी गर्ने व्यवस्था भइरहेको छ । हामीले पेन्सन योजना सञ्चालनमा ल्याएका छौं । यस योजनामा स्वरोजगार भएका सर्वसाधारण नागरिकहरूलाई पनि समावेश गरेका छौं । वैदेशिक रोजगारीमा ठूलो संख्या छ । उहाँहरूलाई यस योजनामा समावेश गरिएको छ, जसकारण वैदेशिक रोजगारीमा गएका मान्छेहरू स्वदेश फर्केर आउनुभयो भने पनि निरन्तरता दिन सक्नुहुन्छ । उर्बर उमेरमा विदेशमा काम गरेर निश्चित उमेरसम्म पैसा जम्मा गर्नुहुन्छ । अवकाश जीवनमा उहाँहरूले त्यो रकम प्रयोग गर्न सक्नुहुन्छ ।
कोषमा बचत तथा लगानीको अवस्था कस्तो छ ?
कोषले विशेष गरी अवकाश सम्बन्धी विभिन्न योजनाहरू सञ्चालन गर्ने गर्दछ । यस योजनामार्फत हामीसित सातवटा स्किम छन् । तिनै स्किमबाट हामीले वित्तीय स्रोत संकलन गर्ने गर्छौ । तिनै योजनाबाट संकलित रकमको कुरा गर्ने हो भने असोज मसान्तसम्म २ सय ४२ अर्ब रुपैयाँ संकलित भएको छ ।यति धेरै रकम संलन भएको त भन्नुभयो, यो रकम कुन-कुन क्षेत्रमा कसरी परिचालन गरिएको छ ?
नागरिक लगानी कोषले संकलन गरेको रकमलाई विभिन्न क्षेत्रमा लगानी गर्ने गरेको छ । हामीले संकलन गरेको ५० प्रतिशत रकम अहिले विभिन्न वाणिज्य बैंकमा निक्षेपको रुपमा राखिएको छ । यो हाम्रो लागि चुनौतीको विषय पनि हो । अर्को हाम्रो सबैभन्दा धेरै लगानी भएको दोस्रो क्षेत्र भनेको हाम्रो कोषमा नै सहभागिता जनाउनेलाई सापटीको रुपमा दिएका छौं । हामीले तेस्रो ठूलो लगानी कर्पोरेट डिबेन्चरमा गरेका छौं । अर्को हामीले धेरै लगानी गरेको क्षेत्र भनेको संगठित संस्थाको धितोपत्रमा पनि गरेका छौं । यी सबै क्षेत्रमा असोज मसान्तसम्म २ सय ५० अर्ब रुपैयाँ लगानी गरिएको अवस्था छ ।
धेरैजसो पैसा ब्याजमा नै राखेको पाइयो, जसले ब्याजदर तलमाथि हुने बित्तिकै नाफामा पनि हिट गर्ने गरेको अवस्था छ, अन्य क्षेत्रमा लगानी बढाउनुपर्ने अवस्थाको बारेमा योजना छैन ?
यसलाई हामीले दुई तरिकाले हेर्नुपर्छ । सबैभन्दा पहिले त हाम्रो लिगल फ्रेमवर्कले के भन्छ भन्ने कुरा हेर्नुपर्याे । हाम्रा कानूनी प्रबन्ध कस्ता छन् । अर्कोतिर हामीले कुन कुन क्षेत्रमा लगानी गर्न मिल्छ भन्ने कुरा हाम्रो मूल ऐनले नै पनि निर्देश गरेको छ । त्यहीअनुसार ट्रेडिसनल रुपमा लगानी हुँदै आएको छ । त्यसकारण अब यसलाई परिवर्तन गर्नैपर्ने अवस्था भने आइसकेको छ । यो हाम्रो लागि चुनौती पनि हो । त्यसकारण हामीले लगानी विविधीकरण नगरीकन टिक्न पनि गाह्रो छ । निश्चित रुपमा हामीले लगानी विविधीकरणका योजना बनाएका छौं । त्यसमा के-के कम लगानी गर्ने भन्ने प्रश्न हुन सक्छ । हामीले पूरै पूर्वाधारको क्षेत्रमा लगानी गर्न सक्ने अवस्था छैन । त्यसका लागि हामीलाई कानूनले पनि दिँदैन । त्यसकारण पूर्वाधार क्षेत्रमा हामी जलविद्युत कम्पनीहरूमा लगानी बढाउने योजनामा छौं । अर्कोमा नागरिक लगानी कोष स्थापना हुनुको मुख्य उद्देश्य भनेको पूँजी बजारको विकासका लागि पनि हो । हाम्रो मात्रै जोड बलले पूँजी बजारको विकास त हुँदैन । तर विकासको लागि केही न केही योगदान चाहिँ कोषले गर्नुपर्छ भन्ने हो । त्यसकारण हामीले त्यस क्षेत्रमा पनि लगानी बढाउने सोच बनाएका छौं ।अवकाशमा आधारित कोषहरूले उत्पादनमुलक क्षेत्रमा लगानी गरेनन्, बैंकमा पैसा जम्मा गरेर ब्याज मात्रै खाए भन्ने गुनासो पनि सुनिन्छ, तपाईंहरूको ध्यान किन नगएको ? कोषमा आम नागरिकलाई समेट्न कोषले के गरिरहेको छ ?
कोषका योजनाहरुमध्ये धेरैजसो योजनाहरु राष्ट्रसेवक कर्मचारी, विभिन्न संघसंस्थामा कार्यरत कर्मचारी लक्षित रहेका हुँदा आम नागरिकलाईसमेत समेट्ने गरी कोषले विगत केही वर्षदेखि नागरिक पेन्सन योजना सञ्चालनमा छ । यस योजनामा मुलुकभर बस्ने, दूरदराज गाउँठाउँका नागरिकलाईसमेत समेट्ने लक्ष्य छ । यसका अतिरिक्त वैदेशिक रोजगारीमा रहेका नेपालीले कमाएको केही पैसा अवकाशको समयमा सदुपयोग होस् भन्ने लक्ष्यसहित नागरिक पेन्सन योजना सञ्चालनमा छ । यस योजनामा न्यूनतम ५ सय रुपैयाँ मासिक बुझाएर कार्यक्रममा सहभागी हुनसक्ने व्यवस्था रहेको छ । उहाँहरुले सक्रिय जीवनमा कमाएर यस योजनामा जम्मा गरेको रकम बचतकर्ताको उमेर ६० वर्ष पूरा भएपछि १५ वर्ष योगदान गरेको अवस्थामा वा बचत कर्ताको १५ वर्ष बचत नगर्दै ६० वर्ष उमेर पूरा भएमा उहाँहरुको इच्छाअनुसार मासिक पेन्सनका रुपमा उपलब्ध गराउने वा एकमुष्ट रकम भुक्तानी दिने व्यवस्था कोषले मिलाएको छ । यो योजनालाई प्रभावकारी बनाउन चालु आवको सुरुआतदेखि नै स्थानीय निकायसँग समेत समन्वय गरेर आम नागरिकलाई कार्यक्रममा समावेश गर्ने सोचाइ राखेका छौंं । यसैगरी, वैदेशिक रोजगारमा रहनुभएका र वैदेशिक रोजगारमा जानुहुने नेपाली नागरिकलाई यस कार्यक्रममा आकर्षित गर्न प्रचारप्रसार गर्ने, उहाँहरुसँग अन्तरक्रियात्मक कार्यक्रम गर्ने योजना बनाइएको छ । सबै नेपालीहरुले सहभागिता जनाउन सक्ने कोषले सञ्चालन गरेको अर्को कार्यक्रम नागरिक एकाङ्क योजना पनि हो ।
अन्त्यमा, केही भन्न चाहनुहुन्छ ?
नागरिक लगानी कोषले सहभागीहरुको अवकाश जीवनलाई सहज बनाउन वित्तीय स्रोतका लागि विभिन्न अवकाश योजनाहरु सञ्चालनमा ल्याएको छ । यसै सिलसिलामा सरकारी, गैरसरकारी संघसंस्थामा कार्यरत धेरैजसो कर्मचारीहरुले कोषको योजनामा सहभागिता जनाइसक्नुभएको छ । कोषले स्वरोजगारमा रहेका, वैदेशिक रोजगारमा रहेका, एवं कृषि पेसामा रहनुभएका आम नागरिकलाई समेत लक्षित गरी नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएको छ । यस योजनामा सहभागी भई सक्रिय उमेरमा कमाएको केही रकमलाई पेन्सन योजनामा लगानी गरेर अवकाश जीवनलाई सुरक्षित बनाउन सबैमा अनुरोध गर्दछु । यसैगरी, नागरिक लगानी कोषले आफ्ना सेवाग्राहीलाई सरल र सहज तरिकाले सेवा प्रदान गर्ने र सहभागीहरुलाई उचित प्रतिफल दिने हुनाले नागरिक लगानी कोषप्रति विश्वास गर्दै यसका योजनाहरुमा सहभागी हुन सबैमा पुनः आग्रह गर्न चाहन्छु ।