Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर ०७, २०८१
Friday, November 22, 2024

टोकियो– सिन्धुपाल्चोक चौताराका एक युवा भविष्यको सुनौलो सपनाको झोला बोकेर सन् २००८ मा भाषा विद्यार्थीकारुपमा जापानमा पाईला टेक्न आईपुग्छन् । एक वर्षे भाषा कोर्स, त्यसपछि २ वर्षे ब्यवसायिक शिक्षा कोर्स र थप २ वर्ष उच्चशिक्षा अध्ययन पश्चात उनी सुरुमै चुनौतीको बाटो रोज्छन् । पढाई सकेर अधिकाँशले रोजगारी अँगाल्ने गर्छन् तर उनी भने चुनौतीको सामना गर्ने मनस्थिति बनाएर ब्यवसायमा होमिन्छन् । जसअनुसार सन् २०१३ मा रेष्टुरेन्ट ब्यवसाय सुरु गर्दा उनीसंग न त पर्याप्त पूँजी थियो, न त ब्यवसायिक अनुभव–दक्षता र न त कसैको दरिलो आडभरोसा नै । थियो त केवल केहि गरौं भन्ने हुटहुटी । सानो स्केलमा साइतामा केनबाट रेष्टुरेन्ट ब्यवसाय सुरु गरेका उनै युवा ३ वर्षपछि सन् २०१६ मा नेपालीहरुको हब मानिने शिन-ओकुबोमा नेवाः डाइनिङ सुरु गर्न आईपुग्छन् । उनी हुन राजेश श्रेष्ठ ।

त्यसको २ वर्षपछि सन् २०१८ मा उनी इताबासीमा नेवाः डाइनिङको अर्को शाखा बिस्तार गर्न सफल हुन्छन् । त्यसपछि लामो कोरोना कहरको समेत अनुभव बटुलेका राजेशले आफ्नो ब्यवसायिक उडानलाई थप उचाई भर्न हरपल तल्लिन रहन्छन् । करिव एक दशक लामो रेष्टुरेन्ट ब्यवसायको अनुभवबाट खारिएका राजेशलाई मनभित्रैदेखि केही नयाँ काम गर्ने सोचले मनमा अड्डा जमाईरहेको हुन्छ ।
त्यसबारे उनले आफ्नो अनुभव यसरी सुनाउँछन् । ‘मलाई लाग्थ्यो कि यस्तो नयाँ काम गर्न सकौं, पसलको नामदेखि लिएर मेन्यू, डेकोरेशन, स्वाद, सेवा–सत्कार ब्राण्डेड बन्न सकोस् । हाल भईरहेका भन्दा नितान्त पृथक र रोल मोडेल होस् ।’ त्यहि सोचको उपज हो हालै शिन-ओकुबोमा खुलेको ‘बेम्बो छे टेष्ट अफ हिमालय’ रेष्टुरेन्ट ।

बेम्बो छे मा पाईन्छ के त ? कुन मानेमा अरुभन्दा फरक ? शिन-ओकुबोको गल्ली-गल्लीमा नेपाली रेष्टुरेन्ट हुँदा हुँदैं बेम्बो मै किन छिर्ने ? जस्ता प्रश्नमाथि प्रश्न उठाउदा उनी भन्छन् -‘पर्वतीय शृङ्खला भएका राष्ट्रहरुको फुड कल्चर अनुसार हामी ग्राहकका लागि नयाँ नयाँ स्वाद पस्कन्छौं, जुन अन्त विरलै पाईन्छ । स्टेशनदेखि नजिकै र उपयुक्त लोकेशन त छँदै छ, पारिवारिक शान्त वातावरणमा स्वादिष्ट भोजनले स्वागत गर्दै हामी ग्राहकलाई सन्तुष्ट बनाएर पठाउँछौं । ग्राहकको मनोविज्ञानलाई बुझेर हरेक साँझ सुमधुर धुनमा लाइभ म्युजिक प्रस्तुत गर्दछौं । ब्यवस्थित र स्तरिय पार्टी तथा भोजभतेरको ब्यवस्थापन गर्दछौं । हामी जापानमा छौं, निश्चितरुपमा जापानी ग्राहकप्रति हाम्रो प्राथमिक लक्ष रहन्छ नै, तथापि हाम्रा नेपाली दाजुभाइ-दिदीबहिनी तथा अन्य विदेशी मुलका ग्राहकहरुका लागि पनि हामी उहाँहरुको रुचीअनुसारको सेवाप्रदान गर्दछौं । शान्त, खुल्ला, शिष्ट र स्वादिष्टको फ्युजनको अर्को नाम ‘बेम्बो छे’ लाई जापानमा ब्राण्डेड बनाउने हाम्रो दृढ संकल्प हो ।’
शिन-ओकुबो क्षेत्रमा गुणात्मकभन्दा संख्यात्मक हिसाबले बढ्दो नेपाली रेष्टुरेन्ट, घटिघटाउ अस्वस्थ्य प्रतिस्पर्धा, क्वालिटी र भोल्यूममा एकरुपताको अभाव, अनुगमनकारी निकाय नहुनु, माग र आपूर्तिको सिध्दान्त एवं बजारको अध्ययन बिना मूल्य निर्धारण गरिनु जस्ता कारण अधिकाँश नेपालीहरु निर्वाहमुखी ब्यवसायमा सीमित हुनुपरेको सर्बबिदितै छ । अपवाद बाहेक नेपालीले जापानमा कडा मिहिनेत गर्दा पनि ब्यवसायिक छलाङ मार्न नसक्नुका कारण पनि यिनै र यस्तै हुनुपर्दछ ।’- राजेशले आफ्नो थप अनुभव सुनाए ।

जापानमा नेपालीहरुको आगमन तिब्र गतिमा बढ्दो छ । यो क्रम रोकिनेवला छैन । हामी केही दशक जापानमा बसेका–भोगेकाहरुले अबको नयाँ पुस्तालाई राम्रो र ब्यवसायिक सँस्कार सिकाउन सक्नुपर्दछ । हामी आफैले बाटौ बिरायौं भने यसको नकारात्मक असर अबको पुस्तामा समेत पर्न जान्छ । जापानले सिकाएको समय, शिष्टता, शालिनता र संयमितता जस्ता आचरण जीवनमा अवलम्बन गर्न सिक्यौं र सिकायौं भने मात्र आजको सिनियर पुस्ताले जिम्मेवारी पूरा गरेको ठहर्छ । त्यसकारण आजको सिनियर पुस्ताको काँधमा युवा पुस्तालाई सहि गोरेटो देखाउने जिम्मेवारी पनि छ भन्ने बिर्सन हुँदैन ।’ – राजेशले अगाडि भने ।

जापानमा सिकेका, भोगेका र बटुलेका अनुभवलाई नेपाल फर्केर उपयोग गर्ने राजेशको सोंच छ । उनले अबको एक-डेढ दशकभित्रै आफ्नै देश फर्केर जापानमा सिकेको सीप र दक्षतालाई जन्मभूमिका लागि समर्पण गर्ने योजना सुनाए । पछिल्लो समयमा जापान आएका तन्नेरी पुस्ताका नेपालीले समेत यतैको राष्ट्रियता लिने क्रम बढेको सन्दर्भमा राजेशको धारणा लिन खोज्दा उनी भन्छन् -‘हुन त आ-आफ्नो सोचाई हो, तर मलाई कस्तो लाग्छ भने जुन देशमा हामी जन्मियौं, हुर्कियौं, बढ्यौ, पढ्यौं, जब देशका लागि केहि गर्न सक्ने भयौं तब विदेश हानियौं, देशका लागि पसिना बगाउन पाएका छैनौं । तसर्थ जन्मभूमिप्रतिको दायित्व पूरा गर्न पनि पाखुरामा दम छँदै मुलुक फर्कनुपर्छ भन्ने मेरो मान्यता छ । तथापि संसारभरि माइग्रेशनको ट्रेण्ड चलिरहेको बेला जापान आएर कुनै पश्चाताप भने लागेको छैन । खुशी नै छु । छोरो अब त फर्किए पनि हुन्थ्यो भन्ने बुवाआमाको चाहना पनि राम्रोसंग बुझेको छु ।’
हालैमा खुलेको ‘बेम्बो छे’ मा राजेश आफै खटेका छन् । बिहानसम्मै खुल्ने ‘बेम्बो छे’ को ब्यवस्थापन आफै सम्हालेका राजेश भन्छन् -‘कम्तिमा पनि ६ महिनासम्म आफै बसेर हेर्छु, एउटा सिष्टममा चल्ने बनाएपछि फेरि अर्को यस्तै अर्को शाखा बिस्तार गर्ने सोंचमा छु । मलाई आफ्नो काममा पूरै फोकस हुन मनपर्छ । कामबाट आउने सकारात्मक रिजल्टले दिने खुशी भन्दा अरु यो संसारमा केनैछ र ? हाम्रो कसैसंग ब्यवसायिक प्रतिस्पर्धा छैन, हाम्रो प्रतिस्पर्धी हामी नै हो ।’

‘बेम्बो छे’ रेष्टुरेन्टभित्रको दृश्य र इन्टेरियर शिन–ओकुबो स्टेशनको प्लेटफर्मबाटै प्रष्टै देखिन्छ । सानो चिटिक्क परेको स्टेज र क्लियर साउण्ड सिष्टममा बेम्बो छे रेष्टुरेन्टको हरेक गोधुली साँझ सुगम संगीतले गुल्जार हुन्छ । साँझतिर आएका पाहुनाहरु संगीतमा झुम्दै स्वादिष्ट परिकारमा आनन्द लिईरहेको दृश्यले छेउको टेबुलमा बसेर हेरिरहेका राजेशलाई मिल्ने खुशी उनको अथक परिश्रमको अतुलनीय कमाई हो । प्रस्तोताः तिलक मल्ल
(कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया