काठमाडौं – मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । भैरहवाबाट शनिबारमात्रै तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सुरू गर्दैछन् । निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान भर्न लागेका हुन् ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विमानस्थलबाट पहिलोपटक आज अहिलेसम्मकै धेरै तीनवटा अन्तर्राष्ट्रिय उडान हुन लागेका छन् । ‘गौतमबुद्ध विमानस्थल उद्घाटन भएपछि पहिलोपटक यती धेरै सङ्ख्यामा उडान हुन लागेको छ, यसले यो विमानस्थल आगामी दिनमा व्यावसायिक उडानहरु बढ्नेछन् र यात्रुहरुको आकर्षण पनि बढ्नेछ,’ उनले भने ।
नेपाल एयरलाइन्स र जजिरा एयरले पुनः उडान गर्न लागेका हुन् भने फ्लाई दुबईले पहिलोपटक गौतमबुद्ध विमानस्थलमा उडान सञ्चालन गर्न लागेको हो । योसँगै गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने हवाई सेवा कम्पनीको सङ्ख्या चार पुगेको छ ।
साथै थाई एयर एसियाले शुक्रबार दोस्रोपटक भैरहवाबाट बैंकक उडान सञ्चालन गरेको छ । थाई एयर एसियाले यही कात्तिक १८ गतेदेखि व्यावसायिक उडान सुरु गरेको थियो । कम्पनीले साताको दुई दिन (सोमबार र बिहीबार) बैङ्कक उडान गर्नेगरी उडान अनुमति लिएको छ ।