Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – जापानको एउटा अदालतले ५६ वर्षअघि सुनाइएको मृत्युदण्डको फैसला उल्ट्याउँदै एक ८८ वर्षीय व्यक्तिलाई हत्याको अभियोगमा सफाइ दिएको छ । उनीविरुद्ध यसअघि निर्णय सुनाइँदा प्रयोग गरिएको प्रमाण पनि नक्कली भएको ठहर भएको छ । इवाओ हाकामादा संसारमै सर्वाधिक समय मृत्युदण्डको पालोमा राखिएका व्यक्ति हुन् ।

उनलाई आफ्ना मालिक, उनकी पत्नी र उनीहरूका दुई सन्तानको सन् १९६६ मा हत्या गरेको अभियोगमा मुद्दा चलाइएको थियो । त्यसको दुई वर्षपछि उक्त मुद्दाको फैसला भएको थियो । छानबिनकर्ताहरूले नक्कली प्रमाण पेस गरेको आशङ्कामा केही समयअघि हाकामादाविरुद्धको मुद्दाको फेरि सुनुवाइ हुने निर्णय भएको थियो ।

साढे पाँच दशकभन्दा लामो समय मृत्युदण्डको पालोमा राखिएको हुनाले हाकामादाको मानसिक स्वास्थ्यामा प्रभाव परेको छ । फेरि भएको सुनुवाइमा उनी उपस्थित भएनन् । तर उक्त सुनुवाइपछि अदालतले उनलाई पुरानो मुद्दामा सफाइ दिँदै मृत्युदण्डको फैसला उल्ट्याइदिएको हो । हाकामादाको मुद्दा जापानमा चलेको निकै लामो र चर्चित मुद्दा हो । बिहीवार फैसला आउनुअघि शिजुओकास्थित अदालतको कक्षमा जान ५०० जना लामबद्ध भएका थिए ।

फैसला सुनाइएपछि उनका समर्थकहरूले अदालतबाहिर हर्षोल्लास गरे । सन् २०१४ मा फेरि सुनुवाइ हुने निर्णयसँगै जेलमुक्त भएपछि हाकामादा आफ्नी दिदीको संरक्षकत्वमा बस्दै आएका छन् ।

कपडामा ‘रगतको दाग’
हाकामादा व्यावसायिक बक्सर थिए । सन् १९६६ ताका उनी जापानी परिकारमा प्रयोग हुने ‘मिसो’ प्रशोधन गर्ने एउटा उद्योगमा काम गर्थे। उक्त उद्योगका मालिक, उनकी पत्नी र उनीहरूका दुई सन्तानका शव टोक्योको पश्चिममा रहेको शिजुओकास्थित घरमा भेटियो । ती चार जनाको धारिलो हतियार प्रयोग गरेर हत्या भएको थियो ।

हाकामादामाथि उनीहरूको हत्या गरेको, घरमा आगो लगाएको र दुई लाख येन चोरेको आरोप लाग्यो । हाकामादाले सुरुमा आफूमाथि लागेको आरोप अस्वीकार गरेका थिए। तर प्रत्येक दिन १२ घण्टासम्म कुटपिट र सोधपुछ गरेर आफूलाई दोष कबुल्न बाध्य पारिएको उनले पछि बताए । सन् १९६८ मा अदालतले उनले हत्या र आगजनी गरेको ठहर गर्दै मृत्युदण्ड हुने फैसला सुनायो ।

हाकामादा पक्राउ परेपछि एउटा ट्याङ्कीमा केही कपडाहरू फेला परेका थिए । दशकौँ पुरानो यो मुद्दा अन्ततः ती कपडामा फर्कियो । उनलाई दोषी ठहर गराउन ती कपडामा रगतको दाग लगाइएको थियो । उनका वकिलहरूले वर्षौँदेखि ती कपडाबाट सङ्कलित डीएनए हाकामादासँग नमिलेको तर्क गर्दै आएका थिए । ती कपडाहरू अरू कसैको हुन सक्ने उनीहरूको भनाइ थियो । उनीहरूले प्रहरीले नै नक्कली प्रमाण जुटाएको सम्भावना पनि औँल्याएका थिए ।

उनीहरूको तर्कसँग सहमत हुँदै सन् २०१४ मा न्यायाधीश हिरोआकी मुरायामाले ती कपडाहरू प्रतिवादीको नभएको ठहर गरे । ‘प्रतिवादीलाई अझ थुनिराख्नु अन्यायपूर्ण हुन्छ किनभने उनी निर्दोष हुन सक्ने सम्भावना विश्वसनीय मात्रामा देखा परेको छ,’ ती न्यायाधीशले त्यति बेला भनेका थिए । त्यसपछि हाकामादा जेलमुक्त भए । उनको मुद्दामा फेरि सुनुवाइ हुने भयो । यद्यपि कानुनी प्रक्रिया लम्बियो। गत वर्ष मात्र सुनुवाइ सुरु भयो। बिहीवार बिहान अदालतले अन्तिम फैसला सुनायो ।

न्यायाधीशले डीएनएबारे गरिएको तर्क ग्रहण गरेनन् । तर उनी हाकामादाका वकिलहरूले प्रमाणका रूपमा पेस गरिएका लुगामा भएका राता दागहरू रगतका नभएको तर्कसँग सहमत भए । वकिलहरूले मिसोमा एक वर्षसम्म राखिँदा कपडामा रगत बाँकी नरहने औँल्याएका थिए । न्यायाधीशले हाकामादा निर्दोष रहेको ठहर गर्दै उनीविरुद्ध पेस गरिएको मुख्य प्रमाण नक्कली भएको निष्कर्ष सुनाए । अहिले हाकामादा आफ्नी ९१ वर्षीया दिदी हिदेकोको हेरचाहमा छन् ।उनका परिवारजन र वकिलहरूका अनुसार लामो समय जेलमा बस्नुपरेको र मृत्युदण्ड हुने डरका कारण हाकामादाको मानसिक स्वास्थ्यमा नराम्रो प्रभाव परेको छ । दिदी हिदेकोले हाकामादाको मुक्तिका लागि लामो समयदेखि आवाज उठाउँदै आएकी थिइन् । ‘बल्ल मेरो काँधबाट बोझ हटेको छ,’ गत वर्ष फेरि सुनुवाइ सुरु हुँदा उनले खुसी व्यक्त गर्दै भनेकी थिइन् ।

जापानमा मृत्युदण्ड सुनाइएका व्यक्तिका मुद्दामा फेरि सुनुवाइ हुनु दुर्लभ हो । युद्धपछिको जापानको इतिहासमा त्यस्तो अवसर पाउने हाकामादा पाँचौँ व्यक्ति हुन् । जीसेभन राष्ट्रमध्ये जापान र संयुक्त राज्य अमेरिकामा मात्र मृत्युदण्डको प्रावधान कायम छ । जापानमा मृत्युदण्डको पालोमा राखिएका कैदीलाई सजाय दिनुभन्दा केही घण्टाअघि त्यसबारे सूचित गरिन्छ । –बीबीसीको सहयोगमा

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया