Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

टोकियो – पूर्व रक्षामन्त्री सिगेरु इसिबा सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)को दलको नेतामा निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न दोस्रो चरणको मतदानमा आर्थिक सुरक्षामन्त्री साने ताकाइचीलाई पराजित गर्दै ६७ वर्षीय इसिबा दलको नेतामा निर्वाचित भएका हुन् ।

अब उनी जापानको नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको छ । एलडीपीका सांसद र पार्टी सदस्यहरूबाट ४ सय १४ मत खसेकोमा इसिबाले २ सय १५ मत पाउँदा ताकाइचीले १ सय ९४ मत प्राप्त गरिन् । पहिलो चरणमा ७ सय ३५ मत खसेकोमा कसैले पनि बहुमत प्राप्त नगरेपछि दोस्रो चरणको मतदान गरिएको थियो । सबैभन्दा कान्छा उम्मेदवार ४३ वर्षीय शिन्जिरो कोइजुमी भने पहिलो चरणमै असफल भएका थिए ।

इसिबाले सोमबार एलडीपीका नयाँ कार्यकारी सदस्यहरू चयन गर्नेछन् । त्यसपछि मंगलबारदेखि सुरु हुने संसद सत्रमा प्रधानमन्त्री चयन भएपछि उनले आफ्नो मन्त्रिपरिषद् गठन गर्ने अपेक्षा गरिएको छ ।

इसिबालाई पार्टी चन्दा घोटाला मुछिएका बेला आगामी आम निर्वाचनअघि मतदाताको विश्वास पुनः प्राप्त गर्नु ठूलो चुनौती बन्नेछ । साथै, जापानको अर्थतन्त्र कमजोर अवस्थाबाट गुज्रिरहेको बेला चाडपर्वका समयमा बढ्दो खर्चले घरेलु परिवारलाई असर गरिरहेको छ भने चीन, उत्तर कोरिया, र रुसका गतिविधिले जापानको सुरक्षा खतरामा परेको छ । यसलाई कसरी सम्बोधन गर्छन् , त्यही आधारमा इसिबाको नेतृत्व क्षमतामा थप परीक्षा हुनेछ ।स्वर्गीय प्रधानमन्त्री शिन्जो आबेसँग नजिक रहेका कन्जरभेटिभहरूको समर्थनमा टाकाइचिले जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने आकांक्षा राखेकी थिइन् । यो उनको दोस्रो पटकको पार्टी नेतृत्वको दौड थियो । अन्य उम्मेदवारहरूमा ४९ वर्षीय पूर्व आर्थिक सुरक्षा मन्त्री ताकायुकी कोबायाशी, ६३ वर्षीय मुख्य क्याबिनेट सचिव योशिमासा हायाशी, ७१ वर्षीय विदेश मन्त्री योको कामिकावा, ६८ वर्षीय पूर्व स्वास्थ्य मन्त्री कात्सुनोबु काटो, ६१ वर्षीय डिजिटल मन्त्री तारो कोनो, र ६८ वर्षीय एलडीपी महासचिव तोशिमित्सु मोतेगी थिए ।

१५ दिनसम्म चलेको अहिलेसम्मकै लामो चुनावी अभियानमा ९ जना उम्मेदवारहरूले जापानको भविष्यको भिजन प्रस्तुत गरेका थिए । धेरै उम्मेदवारहरूले युद्धत्यागी संविधान संशोधन गर्ने साझा उद्देश्य राखेका थिए । इसिबाले प्रतिनिधि सभा विघटन गरेर आम निर्वाचन कहिले घोषणा गर्ने भन्ने चर्चा सुरु भएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया