Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०२, २०८१
Wednesday, September 18, 2024

काठमाडौं – उपसभामुख इन्दिरा रानामगरविरुद्ध पदअनुकूलको आचरण नभएको प्रस्ताव दर्ता गर्न तयार भएका सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले उनीमाथि दबाब बढाएर राजीनामा दिन बाध्य पार्ने रणनीतिमा देखिन्छन् ।

कांग्रेस र एमाले रानाले राजीनामा दिउन् भन्ने रणनीतिअनुसार काम गरिरहेका छन् । त्यसो नगरे पदअनुकुलको आचरण नगरेको भन्दै प्रस्ताव नै दर्ता गराउनेसम्मको तयारीमा देखिन्छन् । तर, प्रस्तावको तयारी गरेको सत्ता गठबन्धनले तीन दिन बितिसक्दा पनि दर्ता भने गरेको छैन । उसो त कांग्रेस-एमालसहितको सत्तारूढ दलको पक्षमा दुई तिहाइ सांसदको मत सुनिश्चित नहुँदा उपसभामुखलाई हटाउने योजनामा झटका लागेको कतिपयको तर्क छ ।

हाल सत्ता गठबन्धनमा नेपाली कांग्रेसका ८८, नेकपा एमालेका ७७, अशोक राई नेतृत्वको जसपाका ७, लोसपाका ४ तथा नागरिक उन्मुक्तिका ४ सांसद छन् । यी पाँच दलका १८० सांसद रहेका छन् । यो सङ्ख्या दुई तिहाइका लागि ३ सांसद अपुग हो । दुई तिहाइका लागि आवश्यक १८३ मत पुर्‍याउन कांग्रेस र एमालेले मधेस प्रदेश सरकारमा सहकार्य गरेको जनमत र उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई आफ्नो पक्षमा पार्ने प्रयास गरेका थिए । तर, उपसभामुख हटाउने ठुला दलको योजनामा जनमत र जसपा नेपाल दुवै दलले सकारात्मक संकेत नदेखाएपछि बुधबारको प्रस्ताव रोकिएको सत्तारुढ दल स्रोतको भनाई छ ।

हुन त नेपाली राजनीतिमा यस्ता खालका परिघटना अकस्मात् नभएका होइनन् । राजनीतिक दलका शीर्ष तहका नेताहरुले नै हुँदैन भनेर रेकर्डमा बोलेका कतिपय घटना तत्कालै भएका पनि छन् । ‘बुधबार नै प्रस्ताव दर्ता गर्ने तयारी थियो । तर तीन जना सांसद अपुग भयो । जनमत र जसपा नेपालले पनि साथ दिने अपेक्षासहित सोमबार निर्णय भएपनि पछि उनीहरूले अनेक बहानामा निर्णय दिन सकेनन्’, सत्तारुढ दलका एक नेताले भने, ‘भदौ ३१ सम्म निर्णय दिने भनेकाले कुर्नुपरेको हो ।’ बहुमतको आडमा गैरसंसदीय काम : पूर्वसभामुख ढुङ्गाना
पूर्वसभामुख दमननाथ ढुङ्गाना उपसभामुखलाई राजीनामा गराउन वा पदअनुकूलको आचरण नभएको प्रस्ताव गर्न पदअनुसारको आचरण गरेको छ/छैन भनेर पहिला न्यायिक जाँचबुझ गरेर मात्र प्रतिवेदन आउनुपर्ने बताउँछन् ।

‘प्रतिवेदनमा उहाँले आफ्नो पदअनुसारको आचरण नगरेको ठहर हुनुपर्छ । सत्ता गठबन्धनले उपसभामुखको विषयमा जे गरिरहेको छ, त्यो राजनीतिक हुइयाँ हो । राजनीतिक हुलदङ्गा हो,’ पूर्वसभामुख ढुङ्गाना भन्छन्, ‘संसदीय मर्यादा होइन । न्यायिक पक्ष बलियो बनाएर प्रक्रियामा जानुपर्ने हो । त्यो गरेको छैन । यसको भित्री दाउ संवैधानिक परिषद्‌मा बहुमत पुर्‍याउन आफ्नो मान्छे उपसभामुख बनाउने चालबाजी मात्र हो ।’

पछिल्लो समयमा जनताको आक्रोश र निराशा बढिरहेको बेला सत्ता गठबन्धनले यस्ता विषय ल्याएर त्यसमा थप बल पुर्‍याएको ढुङ्गाना बताउँछन् । बहुमतको आडमा गैरसंसदीय काम भइरहेको उनको भनाइ छ । ‘आफू संवैधानिक परिषद्‌मा बहुमत पुर्‍याउन कुत्सित राजनीति सत्ता गठबन्धनले गरेको हो,’ उनले भने, ‘जनतामा आशा कसरी जगाउने भन्ने चिन्ता छैन । बहुमतको आडमा संसदीय मर्यादा मिचिरहेका छन् ।’

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया