समाचार सुन्नुहोस :
काठमाडौँ – अमेरिकामा बेपत्ता भएकी नर्स ममता काफ्लेका श्रीमान् नरेश भट्टले आफ्नो कम्प्युटरमा “श्रीमतीको मृत्युपछि कति समयमा पुनर्विवाह गर्न सकिन्छ?” भनेर अनलाइनमा खोजी गरेको तथ्य फेला परेको छ। सोमबार श्रीमतीलाई बेपत्ता बनाएको आरोपमा भट्टमाथि मुद्दाको सुनुवाइ भएको थियो।
सुनुवाइका क्रममा अभियोजन पक्षले अमेरिकी सेक्रेट सर्विसद्वारा संकलित प्रमाण प्रस्तुत गरेको छ। अमेरिकी मिडियाका अनुसार, भट्टले गत अप्रिलमा गुगलमा “श्रीमतीको मृत्युको कति समयमा विवाह गर्न मिल्छ?” र “कर्जामा रहेकी श्रीमतीको मृत्युपछि के हुन्छ?” भनेर खोजी गरेका थिए।
अभियोजकहरूले भट्टले श्रीमती ममता काफ्लेको हत्या योजनाबद्ध रूपमा गरेको दाबी गरेका छन्। उनीविरुद्ध पर्याप्त प्रमाण रहेको भन्दै उनका वकिलले धरौटीमा छाड्न गरेको निवेदन न्यायाधीशले सोमबार पुनः खारेज गरेका छन्। नर्स ममता काफ्लेको शव अहिलेसम्म फेला परेको छैन र नरेश भट्टलाई अहिलेसम्म हत्याको औपचारिक आरोप लगाइएको छैन। तथापि, उजुरीमा भट्टले श्रीमतीको हत्या गरेको आरोप लगाइएको छ।