समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी बुधबारका लागि केन्द्रीय समिति बैठक आह्वान गरेको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशनमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय सदस्यहरूलाई बैठकमा उपस्थित हुन अनुरोध गरेका छन्। बैठक काठमाडौंको बनस्थलीस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेपछि बस्नेछ।
बैठकका एजेण्डाबारे हालसम्म जानकारी दिइएको छैन, तर एजेण्डा पछि सूचित गरिने बताइएको छ। रास्वपाले असोजमा काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलासम्बन्धी छलफल पनि यस बैठकको एजेण्डामा समावेश हुन सक्ने अनुमान गरिएको छ।
यसैबीच, बैठकमा पूर्वमहामन्त्री मुकुल ढकालमाथि थप कारबाहीको तयारी भइरहेको बुझिएको छ। गत ३० साउनमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यबाटै हटाउने विषयमा स्पष्टीकरण सोधेको थियो, जसमा २४ घण्टाभित्र जवाफ दिन भनिएको थियो।
२५ असारमा सम्पन्न भएको अर्को केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, कार्यवाहक प्रवक्ता र केन्द्रीय समिति सदस्य पदबाट बर्खास्त गरेको थियो। ढकालले यस निर्णयविरुद्ध निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् तर आयोगले अहिलेसम्म कुनै निर्णय गरेको छैन।