समाचार सुन्नुहोस :
काठमाडौँ – जाजरकोटको नलगाड नगरपालिका–२, माझगाउँमा सोमबार बिहान गएको पहिरोले एकै परिवारका तीनजनाको ज्यान लिएको छ। ४२ वर्षीय लालबहादुर परियार, उनकी ३४ वर्षीया श्रीमती मनीषा परियार र उनीहरूको दुई वर्षीय छोरा शिवम परियारको घटनामा मृत्यु भएको हो।
नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिएअनुसार मृतक परिवार भूकम्पपीडितहरूको लागि बनाइएको अस्थायी टहरामा बसोबास गरिरहेका थिए।
इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ। यो घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीनजिकै पर्दछ।