समाचार सुन्नुहोस :
काठमाडौँ – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने जनै पूर्णिमा पर्व आज सोमबार हर्षोल्लासका साथ मनाइँदैछ। यस पर्वलाई जनै पूर्णिमा, ऋषितर्पणी पूर्णिमा, वेदरक्षा दिवस, वेद जयन्ती र क्वाँटी पूर्णिमा समेतको रूपमा चिनिन्छ।
आजको दिन तागाधारीहरूले वैदिक मन्त्र उच्चारण गर्दै विधिपूर्वक मन्त्रिएको रक्षासूत्र (डोरो) र जनै धारण गर्ने प्रचलन छ। धार्मिक विश्वासअनुसार, अभिमन्त्रित रक्षासूत्र र जनै धारण गर्दा वर्षभर नकारात्मक शक्तिबाट सुरक्षा पाईने र सकारात्मक ऊर्जा प्राप्त हुने मान्यता छ। तराई क्षेत्रमा विशेष रूपमा दिदीबहिनीहरूले आजको दिन आफ्ना दाजुभाइको सफलताको कामना गर्दै रक्षाबन्धनको धागो बाँधिदिने परम्परा छ।
आजको दिनको अर्को परम्परा भनेको एघार थरिका गेडागुडी मिसाएर टुसा उम्राएर बनाइएको क्वाँटी खाने हो। आयुर्वेदिक र धार्मिक मान्यता अनुसार, क्वाँटी खानाले शरीर निरोगी हुन्छ, पेट सफा रहन्छ, र वर्षाको समयमा लागेको चिसो निकाली शरीरलाई ताप प्रदान गर्छ।