काठमाडौं – संयुक्त राज्य अमेरिकामा १८ दिनदेखि बेपत्ता एक नेपाली नर्सको अवस्था अज्ञै अज्ञात छ । भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा कार्यरत ममता काफ्ले भट्ट १८ दिनदेखि बेपत्ता छिन् । अमेरिकोको द वासिङ्टन पोस्टका अनुसार ममता जुलाई ३१ देखि हराएको अनुमान गरिएको छ ।
नेपालस्थित घरमा आफ्नी आमालाई दिन दिनै फोन गरेर दिनचर्या सुनाउने ममताले जुलाई ३१ मा भने आमालाई फोन गरेकी थिइनन् । त्यही दिनदेखि अहिलेसम्म परिवारसँग सम्पर्क नभएको बताइएको छ । ममताको एउटी छोरी छिन् । उनी यही महिना मात्रै एक वर्ष पुग्दै छिन् । छोरीलाई समेत छाडेर उनी बेपत्ता भएकी हुन् ।
वासिङ्टन पोस्टका अनुसार ममताकी श्रीमान नरेश भट्टले श्रीमती हराएको तीन दिन पछि मात्रै प्रहरीमा उजुरी गरेका थिए । ममता काममा नआएपछि प्रिन्स विलियम मेडिकलका उनका साथीहरूले अगस्ट १ मै प्रहरीलाई जानकारी गराएका थिए । प्रहरी भोलिपल्ट मानसास पार्कनजिक रहेको उनको घरमा गएका थिए । त्यतिबेला नरेशले श्रीमती नहराएको भन्दै प्रहरीलाई फर्काइदिएको वासिङ्टन पोस्टको समाचारमा उल्लेख छ ।
यसबारे एक टेलिभिजनमा प्रश्न सोध्दा नरेशले यसअघि पनि दुई–तीन पटक श्रीमती घरबाट बेपत्ता भएकाले उजुरी नगरेको बताएका छन् । ममताको साथीहरूको उजुरीका आधारमा खोजी प्रक्रिया सुरु भइसकेको अवस्थामा नरेशले आफ्नी श्रीमती बेपत्ता रहेको र खोजिदिन प्रहरीमा उजुरी दिएका थिए ।
ममताका साथीहरूले मानसास पार्क क्षेत्रमा प्रहरीसहित खोजी गरे पनि भेटेका थिएनन् । अहिले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत पनि ममताको खोजीका लागि सूचना र समाचारहरू संप्रेषण भइरहेको छ । ममता हराएको धेरै दिन भइसकेकाले भर्जिनिया प्रहरीले घटना शंकास्पद हुन सक्ने आंकलन गरेको छ । उनको खोजीका लागि गुप्तचरहरू खटाइएको छ भने घरवरपर लगायतसँग सोधपुछ गरिएको प्रहरीलाई उद्धृत गर्दै वासिंटन पोस्टले लेखेको छ ।