आइतबार, आषाढ १६, २०८१
Sunday, June 30, 2024

काठमाडौं – दक्षिणी पाकिस्तानमा गर्मी बढ्दा गर्मीका कारण मृत्यु हुने मानिसको सङ्ख्या पनि बढेको छ । एम्बुलेन्स सेवा दिने ‘इधी’का अनुसार कराचीका शवगृहमा प्राय: दैनिक ३० देखि ४० मृतकलाई पुर्‍याउने गरेको थियो ।

यद्यपि विगत छ दिनमा इधीले ५६८ वटा शव सङ्कलन गरेको छ र तीमध्ये मङ्गलवार सङ्कलन गरिएका शवको सङ्ख्या १४१ थियो । प्रत्येक घटनामा मृत्युको कारण के थियो भनेर भनिहाल्न मिल्ने अवस्था छैन ।

यद्यपि कराचीमा सहरको तापक्रम ४०°C भन्दा माथि पुगेपछि मृतकको सङ्ख्या वृद्धि भएको छ । सापेक्षित आर्द्रता उच्च रहेकाले प्राय: ४९°C सम्ममा हुने जस्तै गर्मी महसुस गरिएको विवरणहरू आएका छन् ।

गर्मीबाट आक्रान्त धेरै मानिस सहयोग खोज्दै अस्पताल पुगेका छन् । कराचीस्थित सिभिल अस्पतालमा मात्र आइतवारदेखि बुधवारसम्ममा हीटस्ट्रोक भएका २६७ जनालाई भर्ना गरिएको उक्त अस्पतालको आपत्कालीन विभागका प्रमुख डा इमरान सरवर शेखले बताए । तीमध्ये १२ जनाको मृत्यु भयो । शेखले  भने, ‘अस्पतालमा आएका अधिकांश मानिसहरू ६० देखि ७० वर्षका छन् । केही ४५ वर्षसम्मका र दुई जना त २० वर्षका समेत थिए ।’

उनका अनुसार अस्पताल आएका मानिसहरूमा बान्ता आउने, पखाला लाग्ने र उच्च जरो आउने जस्ता लक्षणहरू देखिएका थिए । उनले भने, ‘हामीले जाँच गरेका अधिकांश मानिसहरू घरबाहिर काम गर्थे । हामीले उनीहरूलाई उच्च तापक्रममा काम गर्दा प्रशस्त पानी पिउन र हल्का लुगा लगाउन भनेका छौँ ।’

पाकिस्तानको त्यो क्षेत्रमा बढेको तापक्रमलाई एक मौसमविद्ले आंशिक उष्णलहर भनेका छन् । त्यो गत सप्ताहान्तमा सुरु भएको थियो । प्रभावित क्षेत्रहरूमा सर्वसाधारण मानिसलाई राहत प्रदान गर्ने उद्देश्यले उष्णलहर केन्द्र र शिविरहरू स्थापना गरिएको छ । -बीबीसी

तपाईको प्रतिक्रिया