शनिबार, आषाढ १५, २०८१
Saturday, June 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले चिलीलाई १-० ले हरायो। यसअघि अर्जेन्टिनाले पहिलो खेलमा क्यानडालाई २-० ले पराजित गरेको थियो। दोस्रो जितसँगै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गर्दा उसका स्टार खेलाडी लियोनल मेसीको प्रदर्शन उल्लेखनीय रह्यो। अन्तिम खेल बाँकी रहँदै समूह ‘ए’ बाट क्वाटरफाइनल प्रवेश गरे तापनि समूह विजेताको निर्णय भने अन्तिम खेलपछि हुने छ। अर्जेन्टिना यस प्रतियोगितामा क्वाटरफाइनल पुग्ने पहिलो टोली बनेको छ।

अब समूह चरणको अन्तिम खेलमा आगामी आइतबार बिहान मियामीमा अर्जेन्टिनाले पेरुसँग र क्यानडाले चिलीसँग ओर्लान्डोमा प्रतिस्पर्धा गर्नेछन्।खेल अवधिभर चिलीविरुद्ध दबाब बनाएको अर्जेन्टिनाले निर्णायक गोलका लागि ८८ औं मिनेट सम्म कुर्नु पर्‍यो। ८८ औं मिनेटमा लियोनल मेसीको कर्नरबाट आएको बललाई गोलरक्षकले रिबाउन्ड गरेपछि लौटारो मार्टिनेजले गोल गर्दै टिमलाई अग्रता दिलाए। पहिलो हाफमा मेसीको एक प्रहार पोलमा लागेको थियो भने दोस्रो हाफमा पनि अर्जेन्टिनाका प्रहारहरू असफल भएका थिए।

अर्जेन्टिनाले ९ पटक चिलीको पोस्टमा प्रहार गरेको थियो भने चिलीले ३ पटक प्रहार गर्दा उसका दुई उत्कृष्ट मौकालाई गोलरक्षक इमिलियानो मार्टिनेजले बचाएका थिए। आजै भएको अर्को खेलमा क्यानडाले १० खेलाडीमा सीमित पेरुलाई हराउँदै क्वाटरफाइनल सम्भावना बलियो बनायो। क्यानडाका लागि जोनाथन डेभिडले ७४ औं मिनेटमा गरेको गोल निर्णायक रह्यो। पेरु ५९ औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो।

 

 

तपाईको प्रतिक्रिया