बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौं – लेग स्पीनर सन्दीप लामिछानेले टी-२०आई क्रिकेटमा एक सय विकेट पुर्‍याएका छन् । टी-२० विश्वकपअन्तर्गत सोमबारको बंगलादेशविरुद्धको खेलमा दुई विकेट लिएसँगै उनको नाममा कीर्तिमान बनेको हो ।

यसअघि ९८ विकेट लिइसकेका लामिछानेले पहिलो विकेट १३.२ ओभरमा तन्जिम हसन सकिवलाई बोल्ड गर्दै लिए । उनले दोस्रो विकेटका रूपमा १५.३ ओभरमा जाकिर अलीलाई ‘आउट’ गर्दै बनाएका थिए । सन्दीपको गुगलीलाई जाकिरले रोक्न सकेनन् ।

उनले ५४ वटा टी-२० आई खेलेर सय विकेट लिएका हुन् । योसँगै उनी टी-२०आईमा सबैभन्दा छिटो १०० विकेट लिने विश्वका खेलाडीहरूमध्ये दोस्रो स्थानमा रहन सफल भएका छन् । उनले दक्षिण अफ्रिकाविरुद्धको खेलमा दुई विकेट लिन सकेको भए उनको नाममा अर्को कीर्तिमान पनि हुने थियो ।

अफगानिस्तानका रासिद खानले ५३ खेलमा १०० विकेट लिँदै टी-२०आईमा सबैभन्दा कम खेल खेलेर १०० विकेट लिने कीर्तिमान रचेका थिए ।लामिछानेले त्यो कीर्तिमान बराबरी गर्ने मौका भने गुमाए ।खुसी छैनन् सन्दीप
सन्दीपले नयाँ कीर्तिमानबाट खुसी देखिएका छैनन् । टोलीको हारका कारण आफ्नो कीर्तिमानको खासै महत्व नरहेको उनले बताए । ‘मैदानमा फर्कन पाउँदा एकदम राम्रो लाग्यो । दुई महत्त्वपूर्ण विकेट हात पार्दा हामी बलियो स्थितिमा थियौं । तर खेल आफ्नो पक्षमा आउन नसक्दा भने आफ्नो विकेट पनि व्यर्थ भएजस्तो महसुस भएको छ । हाम्रो ब्याटिङ हेर्दा निकै दुख लागेको छ र आज जित्नुपर्ने खेल थियो,’ सन्दीपले भने ।

टेस्ट राष्ट्रसँग खेल्दा पाएको अवसर सदुपयोग गर्न नसकिएको उनले बताए । ‘हामीले उनीहरुलाई नहराएसम्म लगातार खेल्न पाइदैन । सबैजना दुखि छौं,’ सन्दीपले भने, ‘नेपालमा रहेका समर्थक पनि हाम्रो प्रदर्शनमा खुसी हुनुहुन्न । हामीले यसलाई मनदेखि लिएर आउने दिनमा यस्तो अवसर आए सदुपयोग गर्ने प्रण गर्नेछौं ।’

तपाईको प्रतिक्रिया