बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटमा समूह ‘डी’ को समूह चरणको अन्तिम खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई हराएको छ । बिहान भएको खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई ८३ रनको फराकिलो अन्तरले हराउँदै सुखद् अन्त्य गर्‍यो ।

टस हारेर ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर २०१ रन बनाएर नेदरल्यान्ड्सलाई २०२ रनको लक्ष्य दिएको थियो । जवाफमा नेदरल्याण्ड १६.४ ओभरमा ११८ रनमा अलआउट भयो । श्रीलंका यस विश्वकपमा २०० रन बनाउने दोस्रो टोली बनेको छ । यसअघि १७औं खेलमा अस्ट्रेलियाले इंग्ल्याण्डविरुद्ध २०१ रन बनाएको थियो । यी दुई टोलीबाहेक अन्य कुनै टोलीले यो विश्वकपमा २०० रनको स्कोर छुन सकेका छैनन् ।

श्रीलंकाका लागि कुसल मेन्डिस र चरित असालान्काले ४६-४६ रनको इनिङ्स खेले । धनञ्जय डि सिल्भाले ३४ र एन्जेलो म्याथ्युजले अविजित ३० रन बनाए । अन्तिम इनिङ्समा कप्तान वानिन्दु हसरंगाले ६ बलमा अविजित २० रनको इनिङ खेले ।

नेदरल्याण्ड्सका लागि लोगान भान बेकले दुई विकेट लिए । टिम प्रिन्गल, भिभियन किङ्मा, पल भान मिकरेन र आर्यन दत्तले समान १-१ विकेट लिए ।

२०२ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सका ब्याट्सम्यानहरु ठूलो स्कोर बनाउन दबाबमा थिए । माइकल लेभिट र कप्तान स्कट एडवर्ड्सबाहेक अन्य कुनै ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् । यी दुवै ब्याट्सम्यानले ३१-३१ रन बनाए । सिब्रान्ड एङ्गेलब्रेचले ११, म्याक्स ओडाउडले ११ र आर्यन दत्तले १० रन बनाए ।

यी बाहेक अरु कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । श्रीलंकाका बलरल नुवान तुषाराले ३ विकेट लिए । भानिन्दु हसरंगा र मथिश पथिरानाले २-२ विकेट लिए । महिष टिक्षाना र दासुन शनाकाले १-१ विकेट लिए । यस समूह डी बाट दक्षिण अफ्रिका र बंगलादेश सुपर ८ मा प्रवेश गरेका छन् ।

श्रीलंका समूह चरणमा तीन अंक जोडेर तेस्रो स्थानमा रह्यो । यो समूहमा दक्षिण अफ्रिका शीर्ष र बङ्ग्लादेश दोस्रो स्थानमा रहेर सुपर आठमा पुग्दा नेदरल्याण्ड्स चौथो र नेपाल पुछारमा रह्यो ।

तपाईको प्रतिक्रिया