बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौं – नवौँ संस्करणको आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग नेपाल २१ रनले पराजित भएको छ । बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८८ रनमै अलआउट भयो ।

नेपालका लागि कुशल मल्लले ४० बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २७ रन बनाए । उनले दीपेन्द्र सिंह ऐरीसँग ५८ बलमा ५२ रनको साझेदारी गरे । ऐरीले २५ रन जोडे ।

आसिफ शेखले १७ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बंगलादेशका लागि तन्जिम हसन साकिबले चार, मुस्तफिजुर रहमानले तीन, शाकिब अल हसनले दुई र तस्किन अहमदले एक विकेट लिए ।

त्यसअघि सेन्ट भिन्सेन्टको अर्नोस भेल ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश १९.३ ओभरमा १ सय ६ रनमा अलआउट भयो । उसका लागि शाकिवअल हसनले १७, महुमुदुल्लाह र राशिद हुसेनले १३/१३, जकिर अलीले १२ र लिटन दासले १० रन जोडे ।

नेपालका लागि सन्दीप लामिछाने, सोमपाल कामी, रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले दुई/दुई विकेट लिए । नेपाललाई दुई विकेट रनआउटको रूपमा प्राप्त भयो । समूह ‘डी’ अन्तर्गत शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएसँगै सुपर-८ दौडबाट बाहिरिसकेको छ ।

नेपाल समूह चरणका चार खेलमा जितविहीन नै रह्यो । तेस्रो खेलमा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको नेपाल पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ६ विकेटको हार बेहोर्दा श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।

तपाईको प्रतिक्रिया