बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौं – नवौँ संस्करणको आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशले नेपाललाई १ सय ७ रनको लक्ष्य दिएको छ । सेन्ट भिन्सेन्टको अर्नोस भेल ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश १९.३ ओभरमा १ सय ६ रनमा अलआउट भयो ।

उसका लागि शाकिवअल हसनले १७, महुमुदुल्लाह र राशिद हुसेनले १३/१३, जकिर अलीले १२ र लिटन दासले १० रन जोडे । नेपालका लागि सन्दीप लामिछाने, सोमपाल कामी, रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले दुई/दुई विकेट लिए । नेपाललाई दुई विकेट रनआउटको रूपमा प्राप्त भयो ।

नेपालले आज प्लेइङ–११ एक खेलाडी परिवर्तन गरेको छ । नेपालले बंगलादेशविरुद्ध करण केसीको स्थानमा सन्दीप जोरालाई मौका दिएको हो । नेपालका लागि यो खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ । समूह ‘डी’ अन्तर्गत शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएसँगै सुपर–८ दौडबाट बाहिरिएको थियो ।

नेपालका लागि सोमबारको खेलमा गुमाउनुपर्ने केही छैन । यो खेल जितेमा नेपालले टेस्ट टोली बङ्गलादेशलाई हराएर नयाँ इतिहास बनाउनेछ । हालसम्म नेपालले कुनै पनि टेस्ट टिमलाई हराउन सकेको छैन । बंगलादेशसँग अहिलेसम्म नेपालले एकपटक खेलेको छ । सन् २०१४ मा भएको विश्वकप खेलमा बंगलादेशसँग नेपाल ८ विकेटले पराजित भयो ।

नेपाल यसपटक १० वर्षअघिको हारको बदला लिँदै बंगलादेशलाई स्तब्ध पार्न चाहन्छ । बंगलादेशी टिम आज नेपालभन्दा बढी दबाबमा छ । यदि नेपालसँग हार बेहोरेमा ऊ सुपर आठमा नपुग्न सक्छ । बंगलादेश अहिले चार अंकसहित दोस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया