बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौं – नवौँ संस्करणको आइसिसी टी-२० विश्वकप क्रिकेटमा नेपाललाई जितको खाता खेल्ने मौका थियो । तर, नेपाल त्यसको सफल हुन सकेन । लयमा देखिएको दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि नेपाल जितको खाता खेल्न नसकेको हो ।

योसँगै नेपाल इतिहास रच्नबाट चुकेको छ । दक्षिण अफ्रिकाले दिएको १ सय १६ रनको लक्ष्य पछ्याए नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा नेपाललाई जितका लागि ८ रन आवश्यक थियो । यस ओभरको सुरुवाती दुई बलमा गुलशन झाले रन जोड्न सकेनन् । तेस्रो बलमा चौका हिर्काएका उनले चौथो बलमा दुई रन लिए ।

गुलशनले बाँकी दुई बलमा भने रन जोड्न सकेनन् । खेल सुपर ओभरमा धकेल्न उनीसँग समय थियो । तर, रोकिएर अगाडि बढ्न खोज्दा उनी रनआउट भए । र, नेपाल जित नजिक पुगेको खेलमा स्तब्ध भयो ।

यस्तै, नेपाल हारको कारण लयमा देखिएका आसिफ शेख आउट हुनु पनि हो । क्रिजमा जमिसकेका उनी १८औँ ओभरमा ताबरेज शाम्सीको बलमा बोल्ड भए । उनले यस खेलमा ४९ बलमा चार चौका र एक छक्कासहित ४२ रनको पारी खेले । राम्रो लयमा रहेका आसिफ अन्तिमसम्म टिकेको भए नेपालले खेल सहजै जित्ने स्थिति थियो । उनले यस खेलमा अनिलकुमार साहसँग ५० रनको साझेदारी गरे । यस्तै, अनिलले २७ र कुशल भुर्तेलले १३ रन जोडे ।

नेपाल हारको अर्को कारण कप्तान रोहितकुमार पौडेलको ब्याट नचल्नु पनि रह्यो । उनी दक्षिण अफ्रिकाविरुद्ध शून्यमै पवेलियन फर्किए । नेपाल हारको अर्को कारण दक्षिण अफ्रिकाका स्पिनर ताबरेज शाम्सीको सानदार बलिङ पनि रह्यो । उनले ४ ओभरमा १९ रन दिएर महत्वपूर्ण चार विकेट लिए ।शाम्सीले कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीलाई आउट गरे । यस्तै, एडन मार्कम र एनरिक नोर्टजेले एक/एक विकेट लिए । त्यसअघि सेन्ट भिन्सेन्टको अर्नोस भेल ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनायो ।

उसका लागि ओपनिङ ब्याटर रीजा हेन्ड्रिक्सले ४९ बलमा एक छक्का र पाँचौं चौकासहित सर्वाधिक ४३ रन बनाए । यस्तै, ट्रिस्टन स्टब्सले अविजित २७, कप्तान एडन मार्कमले १५ र क्विन्टन डिककले १० रन जोडे । नेपालका लागि अलराउन्डर कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गरे । भुर्तेलले ४ ओभरमा १९ रन दिएर महत्वपूर्ण चार विकेट लिए । उनले कप्तान एडन मार्कम, हेनरिक क्लासेन, मार्को यान्सन र कागिसो रबाडाको विकेट लिएका हुन् ।

यस्तै, दीपेन्द्रले ४ ओभरमा २१ रन दिएर महत्वपूर्ण तीन विकेट लिए । उनले कप्तान एडन मार्कम, रीजा हेन्ड्रिक्स र डेविड मिलरको विकेट हात पारे । ६ महिनापछि मैदान फर्किएका नेपाली टिमका प्रमुख स्पिनर सन्दीप लामिछाने दक्षिण अफ्रिकाविरुद्ध कसिलो बलिङका बाबजुद विकेटविहीन बने । उनले चार ओभरको स्पेलमा मात्र १८ रन दिए ।

सन्दीपले चार ओभरमा बाउन्ड्रीको रूपमा एक चौका मात्र दिए, त्यो पनि करण केसीले खराब फिल्डिङ गर्दा । यस्तै, सन्दीपले एक क्याचको मौका पनि दिएका थिए । तर, त्यसमा सोमपाल कामी चुके । लामो समयपछि क्रिकेटमा फर्किँदा पनि उनले प्रभावित पारे । सन्दीपले कसिलो बलिङ गर्दा पनि अन्य बलरलाई विकेट लिन सहज भयो ।

यो हारपछि नेपालको सुपर-८ सम्भावना सकिएको छ । नेपालले तीन खेल खेल्दा दुईमा हार र एक खेल अंक बाँडेको छ । नेपाल अहिले तालिकाको चौथो स्थानमा छ । नेपालले अब सोमबार बंगलादेशसँग खेल्ने तालिका छ ।सोझै २०२६ को टी-२० विश्वकप खेल्ने दौडबाट पनि बाहिरियो
आइसिसी टी-२० विश्वकपको सुपर-८ बाट बाहिरिएको नेपालले सोझै २०२६ को विश्वकप खेल्ने अवसर गुमाएको छ । समूह ‘डी’ मा रहेको नेपालले दक्षिण अफ्रिकासँग एक रनको हार बेहोरेपछि नेपालले सोझै आउँदो संस्करणको विश्वकप खेल्ने अवसर गुमाएको हो ।

यदि सुपर-८ मा स्थान बनाउन सकेको भए नेपालले छनोट प्रतियोगिता नखेलेर विश्वकपमा स्थान सुरक्षित गर्ने थियो । तर, सुपर-८ मा पुग्न वञ्चित भएसँगै नेपालले आउँदो विश्वकपमा पुग्न एसिया क्षेत्र छनोट खेल्नुपर्नेछ । सुपर ८ बाहेक आइसिसीको वरीयतामा शीर्ष स्थानमा रहने तीन टोली पनि सोझै विश्वकपमा पुग्नेछन् ।

तपाईको प्रतिक्रिया