काठमाडौं – बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक प्रहरी निरीक्षक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी निरीक्षक विदुर सिवाकोटी पक्राउ परेका हुन् ।
सिवाकोटीलाई बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । प्रहरी निरीक्षक सिवाकोटीलाई गएराति नागार्जुन नगरपालिका-१ स्थित निवासबाटै पक्राउ गरिएको हो । उनीमाथि आफ्नै घरमा काम गर्ने १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।
राति नै काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका, बालबालिका खोजतलास तथा समन्वय केन्द्र, प्रहरी र बाल अधिकारकर्मीले सिवाकोटीको घरबाट बालिकालाई उद्धार गरेका थिए । उद्धारपछि बालिकाले आफू यौन दुर्व्यवहारमा परेको बताएकी थिइन् ।
बालिकाको बयानका आधारमा प्रहरी निरीक्षक सिवाकोटीलाई पक्राउ गरिएको काठमाडौं परिसरका प्रवक्ता अधिकारीले बताए । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अधिकारीको भनाई छ ।