काठमाडाैं – नेपाल नागरिक उड्डयन प्राधिकरणले साेमबार नेपाल एयरलाइन्सका दुई पाइलटहरू विजय लामा र भावना पन्तलाई ग्राउण्डेड गरिसकेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्दै प्राधिकरणले उनीहरूलाई अनुसन्धान अवधिभरिका लागि ‘एक्टिभ ड्युटी’ बाट हटाएको अर्थात् उडान कार्य रोकेको हो ।
प्राधिकरणबाट पत्र प्राप्त पाएपछि नेपाल एयरलाइन्सले उनीहरू दुवैलाई ग्राउन्डेड गरेको बताइएको छ । प्राधिकरणका प्रवक्ता हशंराज पाण्डेका अनुसार दुवैजनाविरुद्ध प्रमाणसहित उजुरी परेको थियो । ‘प्राधिकरण अनुगमन गर्ने निकाय हो । आचरण विपरीतको क्रियाकलाप गरेको भन्ने उजुरी प्रमाण आयो । त्यसको अनुसन्धान हुँदासम्म सक्रिय ड्युटी नगर्नु भनेर स्थगित गरिएको अवस्था हो’ उनले भने ।
लामाविरुद्ध निषेधित क्षेत्र (ककपिटको अगाडी) फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेको गरेको भन्दै उजुरी परेको छ । पन्तले जहाजको संवेदनशील क्षेत्रमा गएर टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिएको भन्दै उजुरी परेको छ । उनले एक टेलिभिजनलाई विमानको मुनी तथा ककपिटमै गएर अन्तर्वार्ता दिएको प्रमाणसहित उजुरी परेको हो ।
यस विषयमा प्रवक्ता पाण्डेले भने विस्तृत खुलाउन चाहेनन् । ‘बाहिरी कुराहरू विभिन्न आएका छन् तर भित्री कुराहरूमा छानबिन चलिरहेको छ । सेफ्टी इन्सपेक्टरहरुले आफ्ना काम गरिरहेका बेला धेरै कुराहरू खुलाउँदा अनुसन्धानमा प्रभाव पर्छ’ उनले भने, ‘छानबिन सुरु भइसकेको छ । आजै सकिन्छ ।’
उजुरी अनुसार दुवैजना दोषी पाइएमा विधि प्रक्रिया अनुसार कारबाही हुने उनले बताए । पन्त न्यारो बडी जहाज ‘एयरबस ३२०’ उडाउने क्याप्टेन हुन् भने लामा वाइड बडी जहाज ‘एयरबस ३३०’ जहाज उडाउने क्याप्टेन हुन् ।
लामा केही वर्षअघि पनि कारबाहीमा परेका पाइलट हुन् । प्रशिक्षक समेत रहेका उनी २०७६ सालमा निलम्बित भएका थिए । उड्डयन सुरक्षामा गम्भीर असर पर्ने किसिमका अभिव्यक्ति दिएकाले उनलाई विमान उडाउन रोक लगाइएको थियो ।