टोकियो – नेकपा माओवादी केन्द्र निकट प्रवासी संगठन नेपाली जनप्रगतिशील मञ्च जापानले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । नेपाली जनताको लामो संघर्ष र त्यागबाट प्राप्त भएको गणतन्त्र १६ वर्ष पूरा भएको अवसरमा मञ्चले जापानमा क्रियाशील संघसंस्थाको प्रतिनिधिहरूकोसमेत उपस्थितिमा टोकियोमा आयोजना गरेका कार्यक्रम सम्पन्न भएको हो ।
जनयुद्ध र जनआन्दोलनको जगमा भएको निर्वाचनबाट गठित संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते दुई सय ४० वर्ष लामो शाहवंशीय राजा परम्पराको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भएको थियो । माओवादी केन्द्र एसिया प्रदेश संगठनका उपाध्यक्ष डा. भूपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मञ्चका वरिष्ठ उपाध्यक्ष श्यामहरि पाण्डेले अतिथिहरूका लागि स्वागत मन्तव्य तथा उपाध्यक्ष बाबुराम पौडेलले कार्यक्रमको उद्देश्यको बारेमा प्रष्ट पारेको मञ्चका प्रवक्ता जिपि लामिछानेले जानकारी दिए ।कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली जनताबाट चुनिएका जनको प्रतिनिधिबाट संविधान बन्नु र वंश परम्परामा आधारित शासन व्यवस्थाको अन्त्य गरेर जनताका छोराछोरी नै राष्ट्र प्रमुख हुने हैसियत बनाउनु गणतन्त्रको मूलभूत विशेषता रहेकोमा वक्ताहरूले जोड दिएका थिए । उनीहरूले गणतन्त्र भनेको विधिको शासन पनि हो जहाँ विधि र कानुनको सर्वोच्चता हुन्छ, न्याय हुन्छ, समानता हुन्छ, स्वतन्त्रता हुन्छ, पारदर्शिता हुन्छ, उत्तरदायित्वको बोध हुन्छ र अभिव्यक्ति स्वतन्त्रता, राज्यका हरेक निकायमा हरेक समुदाय, क्षेत्र, लिङ्गको समानुपातिक समावेशी प्रतिनिधित्व, धार्मिक स्वतन्त्रता गणतन्त्रले दिएको उपहार रहेको बताएका थिए ।मञ्चका अध्यक्ष मोहन पौडेलको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा जापानका लागि पर्यटन दूत रामहरि पुडासैनी, एनआरएनए जापानका अध्यक्ष नविन निउरे, नेपाली राजदूतावासका प्रतिनिधि नारायण ज्ञवाली, नेकपा माओवादी केन्द्र प्रदेश कमिटीका सदस्य राजु लामा, ईन्चार्ज सालिकराम भण्डारी, विभिन्न पार्टीका प्रवासी संगठनका नेतागण, जापानमा क्रियाशील नेपाली संघ संस्थाका प्रतिनिधि, लगायतको उपस्थिति रहेको प्रवक्ता लामिछानेले बताए । कार्यक्रम मञ्चका महासचिव दावा शेर्पा लामाले सञ्चालन गरेका हुन् ।