काठमाडौं – नेपालमा कृषि श्रमिकहरूको अभाव रहेको पाइएको छ । युवाहरू दक्षिण कोरिया, मलेसिया, इजरेल जस्ता देशमा कृषि क्षेत्रमा काम गर्न गइरहँदा स्वदेशमा भने कृषि श्रमिकहरूको अभाव देखिएको हो ।
केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको पछिल्लो राष्ट्रिय कृषि जनगणना अनुसार देशभरिका करिब ४० प्रतिशत स्थानीय तहमा कृषि कामदारको अभाव देखिएको छ । देशभरिका कुल ६ हजार ७ सय ४३ वडाहरूमध्ये कार्यालयले ६ हजार ३६ वडाहरूबाट कृषि क्षेत्रको जनगणना गरेको थियो । जसमध्ये २ हजार ४ सय १७ वडाहरूमा विगत तीन वर्षमा कृषि कामदारको अभाव भएको पाइएको हो ।
तथ्यांक कार्यालयकाअनुसार मधेस प्रदेशमा कृषि कामदारको अभाव भएका वडाहरूको संख्या सबैभन्दा बढी रहेको छ। यो प्रदेशमा गणना भएका मध्ये ७१३ (६२ प्रतिशत) वडामा कृषि कामदारको अभाव हुने गरेको विवरण प्राप्त भएको छ । कामदारको सबैभन्दा कम अभाव कर्णाली प्रदेशमा देखिएको छ । कार्यालयका अनुसार कर्णाली प्रदेशमा गणना गरिएका वडामध्ये ८३ वटा वडा अर्थात् १३ प्रतिशतमा मात्र कृषि कामदारको अभाव हुने गरेको विवरण सम्बन्धित वडा कार्यालयहरूले उपलब्ध गराएका छन् ।
कृषि कामदार अभाव भएका वडाहरूमध्ये १ हजार ३ सय ८४ वटा वडाले जग्गा ठेक्का वा अधियाँमा दिइएको छ । गणनामा समेटिएका ७ सय ७७ वटा वडाले कृषि कार्य घटाउन बाध्य भएको भनेका छन् । ५ सय ७५ वडाले कम कामदार चाहिने कृषि सुरु गरेका छन् भने १ हजार ३ सय ३८ वडाले मेशिनको प्रयोग गरेर कृषि कामदारको अभाव पूर्ति गरेका छन् । बाँकी १ हजार १ सय ९२ वटा वडाले अन्य वडाबाट मजदुर ल्याएर अभावको पूर्ति गरेको बताएका छन् ।
श्रम मन्त्रालयले यो वर्षदेखिको दश वर्षलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको रूपमा मनाउने निर्णय गरेको छ । मन्त्रालयले देशमा आन्तरिक रोजगारी सिर्जना गर्न र दक्ष कामदारहरूको अभाव पूर्ति गर्ने उद्देश्यले यस्तो दशक घोषणा गरिएको जनाएको छ । तर केन्द्रीय तथ्यांक विभागले नेपालमा अझै ११ प्रतिशत मानिसहरू बेरोजगार रहेको जनाएको छ ।
कृषि क्षेत्रमा देखिएको कामदार अभावको प्रमुख कारण आप्रवासन हो । ‘मूल कारण चाहिँ बसाइसराइ भन्ने नै देखिएको छ । जहाँ खेती हुन्छ त्यहाँबाट मानिसहरू बसाइँ सरेर सहरतिर गए कति बाहिर पनि गए,’ केन्द्रीय तथ्यांक कार्यालयका उप–प्रमुख तथ्यांक अधिकारी हेमराज रेग्मीले भने । उनकाअनुसार पैतृक थलोमा बसिरहेका मानिसहरू अवसरको खोजीमा अन्यत्र जाँदा कामदारको अभाव भएको हो ।
अनुसन्धानकर्ता मीना पौडेल युवा पुस्तालाई कृषिमा आकर्षित गर्न नसक्नु पनि जनशक्ति अभावको एउटा कारण रहेको बताउँछिन् । ‘हाम्रो शिक्षामै कृषिलाई प्राथमिकता दिन सकेका छैनौँ,’ उनले भनिन्, ‘संस्थागत रूपमै कृषिमा प्रोत्साहित गर्न सकेका छैनौँ ।’
तथ्यांक कार्यालयले औँल्याएका प्रमुख कारणहरूमध्ये दोस्रो नम्बरमा वैदेशिक रोजगारी पनि औँल्याइएको छ । ‘आर्थिक रूपले सक्रिय युवा जनसंख्या परिवारमा अनुपस्थित छन् । केटाकेटी र बुढाबुढी निष्क्रिय उमेर समूहका मानिसहरू छन् त्यस कारण काम गर्ने जनशक्ति पाइएनन् भन्ने छ । त्यो भनेको वैदेशिक रोजगारी पनि हो,’ कार्यालयका प्रवक्ता समेत रहेका रेग्मीले भने ।
कृषि क्षेत्रमा काम गर्ने मजदुरहरूले दैनिक औसत ५ सय ३१ देखि ६ सय ६५ रुपैयाँसम्म ज्याला पाउने गरेका कार्यालयको सर्वेक्षणले देखाएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजाल कृषि क्षेत्रका काममा युवाहरूको रुचि नहुनुको एउटा कारण पारिश्रमिकको विषय पनि हुनसक्ने ठान्छन् । ‘त्यो क्षेत्रमा कृषि कामदारको अभाव हुनुको मुख्य कारण चाहिँ वैदेशिक रोजगार पनि हुनसक्छ,’ रिजाल भन्छन् ।