काठमाडौं – सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ । दिउँसो १ बजे संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्ने तय भएको हो ।
हरेक वर्ष जेठ १५ गते सरकारले बजेट ल्याउने संवैधानिक व्यवस्था छ । सरकारले १९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । बैठकका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका सांसदलाई दिउँसो पाने १ बजे अघि नै संसदमा उपस्थित हुन सभामुख देवराज घिमिरेले आग्रह गरेका छन् ।सहकारीको रकम हिनामिना र अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशबारे दलहरू सहमति नजिक पुगेकोले आजको संसद् बैठकमा सौहार्दपूर्ण वातावरणमा बजेट प्रस्तुत हुने देखिएको छ ।