काठमाडौं – काठमाडौंबाट धनगढीका लागि उडेको श्री एअरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ । कल साइन २२५ एएनएफको उक्त विमान पौने ४ बजे धनगढीबाट उडेको थियो ।
७४ जना यात्रु र चार जना चालक दलका सदस्य बोकेर आएको विमानमा एकाएक प्राविधिक समस्या उत्पन्न भएपछि काठमाडौं विमानस्थल टावरसँग आपतकालीन अवतरणको अनुमति मागेको विमानस्थलका प्रवक्ता सुभाष झाले बताए । उनका अनुसार काठमाडौंबाट ६०/६५ किलोमिटर उडेर गइसकेको अवस्थामा दाहिने इञ्जिनमा आगो देखिएपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको हो ।
विमानस्थलमा दमकल, एम्बुलेन्सलगायत आपतकालीन सुरक्षाका प्रबन्ध गरेपछि विमान साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । यात्रुहरूलाई अर्को विमानबाट धनगढी पठाइएको छ ।
श्री एअरलाइन्सको विमानलाई अवतरणको प्राथमिकता दिँदा नयाँ दिल्ली र दोहाबाट काठमाडौं आइरहेका विमानहरु सिमरामाथिको आकाशमा होल्ड भएका थिए । नयाँ दिल्लीबाट भिस्तारा एअर र दोहाबाट कतार एअरवेजका विमान काठमाडौंमा अवतरण गर्ने क्रममा थिए ।