मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अस्वीकृत भएको छ । अध्यक्ष ओलीको निर्देशन पार्टीका नेता मात्रै नभई सो पार्टीका सर्वसाधारण कार्यकर्ताले समेत अस्वीकार गरेका छन् ।

अध्यक्ष ओलीले जारी प्रदेश अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिँदैआएका छन् । सर्वसम्मत नेतृत्व चयन गर्न नसके प्यानल नबनाइ स्वच्छ रूपमा प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न ओलीले खोजेका छन् ।

तर, ओलीको निर्देशनविपरीत लुम्बिनी प्रदेश कमिटीको अधिवेशनमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले प्यानल बनाएरै प्रतिस्पर्धामा उत्रेका थिए । लुम्बिनीमा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न खोजेका थिए । र, सोहीनुसार जुट्न निर्देशन दिए पनि प्रतिनिधिहरूले त्यसलाई अस्वीकार गर्दै प्रतिस्पर्धामा जुटेका थिए ।

शक्ति संघर्षको प्रतिस्पर्धामा रहेका पौडेल र पोखरेलले आफूनिकट नेतालाई ल्याउनका लागि आन्तरिक रूपमा प्यानल बनाएर प्रतिस्पर्धामा जुटेका थिए । लुम्बिनीमा अध्यक्ष ओलीले सचिव एवं प्रदेश इन्चार्ज पद्मा अर्याललाई सुझाव दिइसकेको र मिलेर जानुहोस् भन्ने सन्देश प्रवाहित गरेका थिए । ओलीको सो सन्देशचाहिँ खासमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलबिच बनेको गुटमा आधारित चुनावी प्रतिस्पर्धा हुने भएकाले त्यसलाई रोक्नका लागि थियो ।

लुम्बिनीको गुटगत प्रभाव बाग्मतीमा समेत देखिएको छ । सोमबार काठमाडौंमा उद्घाटन भई बिहीबार मतदानबाटै प्रदेशको नेतृत्व चयन गरिँदै छ । लुम्बिनीबाट सुरु भएको गुटगत प्रभाव बाग्मतीमा मात्रै नभई कर्णालीसम्म पुगेको छ । र, अन्य प्रदेशमा हुने प्रदेश अधिवेशनमा समेत स्पष्ट रूपमा पौडेल र पोखरेलका बिचमा शक्ति संघर्ष देखिनेछ ।

बाग्मतीमा प्रदेश अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिए । लुम्बिनीजस्तै बाग्मतीमा पनि उनले सर्वसम्मत गर्न नसके स्वच्छ, प्यानल नबनाई प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नुपर्ने निर्देशन दिए । तर, घोषित रूपमा प्यानल नबने पनि बाग्मतीमा पनि पौडेल र पोखरेल गुट बनेको छ । पौडेल र पोखरेलले आफूनिकटका नेतालाई विजयी बनाउन लागिपरेका छन् ।

एमाले अध्यक्ष ओलीको उत्तराधिकारीका रूपमा हेरिएका नेताहरू हुन्, उपाध्यक्ष पौडेल र महासचिव पोखरेल । एमालेभित्र दोस्रो तहका नेताहरू उपाध्यक्ष पौडेल र महासचिव पोखरेलबिच वर्चस्वका लागि आन्तरिक रूपमा कडा प्रतिस्पर्धा हुने गरेको एमाले प्रदेश अधिवेशनले प्रस्ट पारिसकेको छ ।

बाग्मती प्रदेशको अध्यक्षका लागि प्रतिस्पर्धामा रहेका कृष्ण दाहाललाई उपाध्यक्ष पौडेलको समर्थन रहेको छ । पौडेलका साथै एमाले नेता गोकुल बाँस्कोटाको समेत दाहाललाई नै समर्थन रहेको छ । यस्तै, अध्यक्षका अर्का प्रतिस्पर्धी कैलाश ढुंगेललाई महासचिव पोखरेलको समर्थन रहेको छ । ढुंगेललाई एमाले अध्यक्ष ओलीको समेत समर्थन रहेको छ । खुल्ला रूपमा प्यानल नबने पनि आन्तरिक रूपमा पौडेल र पोखरेलले लबिइङ गरिरहेका छन् ।

उपाध्यक्ष पौडेल र महासचिव पोखरेलबिच लुम्बिनी र बाग्मतीमा बनेको गुटले अध्यक्ष ओलीको निर्देशनलाई लत्याएको छ । लुम्बिनीमा अध्यक्ष ओलीले अन्तिम समयसम्म पनि पौडेल र पोखरेलबिचको गुटबन्दी रोक्न सकेनन् । जबकि, उनले त्यहाँ सर्वसम्मत कमिटी चयन गर्न निर्देशन दिएका थिए । उनको निर्देशन अस्वीकार गर्दै त्यहाँ निर्वाचनबाट नयाँ कमिटी चयन गरियो ।

बाग्मती प्रदेश अधिवेशनको अध्यक्षमण्डलका सदस्य रहेका शेरबहादुर तामाङले बिहीबार मतदानबाट नेतृत्व चयन हुने बताए ।

अध्यक्षका आकांक्षी दाहालले अब सर्वसम्मतिको सम्भावना सकिएको बताए । अध्यक्षमण्डलले सर्वसम्मत गरेर जानका लागि छलफल गरे पनि त्यसमा सहमति नजुटेको उनी बताउँछन् । ‘अध्यक्षमण्डलले हामीसँग छलफल गरेको थियो तर सहमति जुट्नसकेन, हामीहरूले स्वच्छ प्रतिस्पर्धामा जान्छौं भनेपछि अब निर्वाचन प्रक्रियामा जाने भयौं,’ दाहालले भने ।

बाग्मती प्रदेश कमिटीको अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । ढुंगेल, दाहालका साथै केशरबहादुर बुढाथोकी, सानुकुमार श्रेष्ठ र केशव पाण्डेले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

अध्यक्षसँगै उपाध्यक्षमा पनि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादोर्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उपाध्यक्षमा उम्मेदवारी परेको हो ।

सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्त पण्डित र राकुमार अधिकारी उम्मेदवार बनेका हुन् । उपसचिवमा खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरी थापा र रमेश महर्जनको उम्मेदवारी परेको छ ।

उता, बुधबारबाट कर्णाली प्रदेशको अधिवेशन सुर्खेतमा सुरु भएको छ । कर्णालीमा पनि गुटबन्दी रोक्न अध्यक्ष ओलीलाई मुख्य चुनौती रहेको छ । ओलीसँगै पौडेल, पोखरेललगायतका नेता सुर्खेतमा पुगेका छन् । पार्टी सचिव एवं कर्णाली इन्चार्ज लेखराज भट्टसमेत सुर्खेतमा पुगेका छन् । कर्णालीमा पनि पौडेल र पोखरेल समूहका बिचमा प्रतिस्पर्धा हुनेछ । कर्णालीमा पोखरेल समूहमा समेत दुई गुट रहेको छ । त्यसलाई मिलाउन पोखरेललाई धौधौ परेको छ ।

पोखरेल समूहमै रहेका स्थायी कमिटी सदस्य यामलाल कँडेल र प्रदेश अध्यक्ष विनोदकुमार शाहले कर्णालीमा दुई फरक समूहको नेतृत्व गरिरहेका छन् । कँडेल नेतृत्वको टिमले उम्मेदवारको नाम टुंगोसमेत लगाइसकेको छ । कँडेल टिमले प्रदेश अध्यक्षमा सल्यानका गुलावजंग शाह, उपाध्यक्षमा जुम्लाका टेकराज पछाई, सचिवमा सुर्खेतका ध्रुवकुमार शाही, उपसचिवमा दैलेखका रवीन्द्रराज शर्मा, सुशील थापा र मुगुका जितबहादुर मल्लको नाम प्रस्ताव गरेको छ ।

यस्तै, समावेशी मिलाउन उसचिवमा जाजरकोटी कौशिलावती खत्री वा मुगुका दानसिंह परियारलाई ल्याउनेगरी कँडेल टिम छलफलमा जुटिरहेको एमाले कर्णालीका एक नेताले बताए । उता, शाहको टिमले अध्यक्षमा कालीकोटका मीनबहादुर शाहीको नाम टुंगो लगाए पनि अन्य पदाधिकारीका लागि शाहले आन्तरिक रूपमा छलफल गरिरहेको ती सदस्यले बताए । –राजधानी दैनिकबाट

तपाईको प्रतिक्रिया