शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

जापानमा नेपालीहरुद्वारा खोलिएका संघसंस्थाहरुको संख्या यति नै छ भनेर यकिनका साथ भन्न सक्ने यहाँ न त कुनै आधिकारिक निकाय छ, न त कसैले यसको नियमन गर्ने गरेको छ । तथापि अनुमानका भरमा करिव सयको हाराहारीमा रहेको भन्ने आम बिश्वास छ । आवश्यकताले भन्दा देखासिकी र लहडको भरमा अर्थात स्पष्ट मार्गचित्र र ठोस कार्ययोजना बिना स्थापना भएका संघसंस्थाहरुको अवस्था अहिले लगभग सतहमा छरपष्ट जस्तै छ । उनीहरु करिव दिशाबिहिन र बिजनेशबिहिन जस्तै देखिन थालेका छन् । सुरु सुरुमा एउटा पृथक जोश, जाँगर र उत्साहका साथ संगठित हुने गरेता पनि बिस्तारै त्यसले निरन्तरता पाउन नसकेको उदाहरण हामीकहाँ प्रशस्त छन् । संघसंस्थाहरु कामकाजी भएनन्, जनअपेक्षा अनुसार कार्यक्रम डेलिभरि गर्न सकेनन्, अनुत्पादनशील क्षेत्रमा मात्र सीमित रहे भन्ने जनगुनासो बाक्लिन थालेका छन् । कार्यक्रमको नाममा वर्षभरिमा एउटा पिकपिक (बिबिक्यु) को आयोजना गरेर अस्तित्व जोगाउने संस्थाहरु पनि छन् भने अर्कोतिर वर्षभरिमा एउटा तीजको दर खुवाउने कार्यक्रम गरेर आफूलाई सीमित राख्ने संस्थाहरु पनि नभएका होईनन् । कार्यक्रमका लागि कार्यक्रम भनिएझैं पिकनिक, दर खुवाउने जस्ता मनोरञ्जनात्मक कार्यक्रम मात्रै गर्नका लागि संघसंस्था नै पो किन चाहियो र ? भन्नेहरुको आवाज पनि पछिल्ला समयमा पेचिलो ढंगले उठ्न थालेका छन् ।
त्यसो भए अब गर्ने के त ? प्रश्न उठ्छ । स्वायत्त संघसंस्थाहरुलाई अनुगमन गर्ने, लगाम लगाउने, दर्ता गर्ने, नविकरण गर्ने, दर्ता खारेजी गर्ने, दिशानिर्देश गर्ने, नियमन गर्ने, नियमित अद्यावधिक गर्ने जस्ता जिम्मेवारी कसको ? बैठक त के बर्षौसम्म साधारण सभा, अधिवेशन समेत हुन नसकेका संघसंस्थाहरु पनि यहाँ नभएका हैनन् तिनका प्रमुखहरु लाजै नमानी अझै खादामाला र आसनग्रहणद्वारा सम्मानित छन् । हाम्रो समाजको रुपान्तरण हामीले नै गर्नुपर्छ भन्नेमा यदि हामी सहमत हुन सकिन्छ भने हामीले एउटा संकल्प गर्नैपर्छ । विगतको निर्मम समीक्षा गर्दै भविष्यको स्पष्ट मार्गचित्र कोर्न सक्नुपर्छ । हामीले हुर्काउँदै आएका बेकारका भद्दा लोकाचारहरु अब छोड्दै जानुपर्दछ । कार्यक्रमको मोडल परिवर्तन गर्नुपर्छ । आसन ग्रहण, खादामाला, सम्मान, प्रशंसा जस्ता अनावश्यक नौटंकी र समयको बरबादी बन्द गर्नुपर्छ । हाम्रो कार्यदिशा करेक्शन गर्नुपर्दछ ।

आजको डिजिटल युगमा जापान जस्तो उन्नत र उच्च चेतना भएको देशमा बसेर हामी भने बासी, ढोंगी र ढुसी परेको प्रचलन अंगाल्दै महत्वपूर्ण समयको हत्या गरिरहेका छौं । समाजका जिम्मेवार अगुवाहरुको यतातिर ध्यान जान आवश्यक छ । समाजका सर्बपक्षिय र सर्बस्वीकार्य सहभागितामुलक एउटा मनिटरिङ मेकानिज्म निर्माण गरेर हामीले हाम्रो समाजमा थिति बसाल्न सकिन्छ । एउटा नीति, नियम र कार्यबिधि बनाई त्यसको पालना गरेर संघसंस्थाहरुलाई नियमन गर्न सकिन्छ । अब हामीले हामीलाई नै नियमन गर्नुपर्ने बेला आएको छ ।
हामीले गर्नैपर्ने धेरै कार्यहरु गर्न सकेका छैनौं, सुनौलो भविष्य मनभरि सजाउँदै जापान आएका तन्नेरी पुस्तालाई भर्नुपर्ने ऊर्जा समयमै भर्न नसक्दा अप्रिय निर्णय गरेका घटनाहरु बाक्लिदैं छन् । हुकर्दो पुस्तालाई जापानको लगनशिलता र उद्यमशिलता बारे बुझाउन सकेका छैनौ । हामीमा पठन सँस्कृति नराम्रोसंग ह्रास हुँदै छ, त्यसलाई ब्युँझाउन के गर्न सकिएला, यतातिर हाम्रो बहस हुन सकेको छैन । हाम्रो मिडिया बजारले पनि उठान गर्नैपर्ने बिषय उठान गर्न सकेको छैन भने चर्चा नै नगरे पनि हुने बिषयलाई गिजोलेको र अति महत्वका साथ रटान गरेको पनि पाईन्छ । अत्यन्त संवेदनशील मानिने मिडिया बजारले जान अन्जानमा न्युजको भन्दा भ्युजको र तथ्यको भन्दा भ्रमको पछि लागियो भने यसको परिणाम कालान्तरमा कल्पनाभन्दा बाहिरको हुन सक्छ ।

हाम्रो सोसाइटीमा अहिले एउटा यस्तो प्रवृत्ति हाबी देखिन्छ कि देख्दा पनि उदेक लाग्छ । आफ्नो हालको पदीय जिम्मेवारी, हैसियत, विगतको पृष्ठभूमि, अनुभव, क्षमता, मर्यादाक्रम, आफुमा भएको विशेष दखलता आदिको पटक्कै ख्यालै नगरी कहाँ बस्ने, कहाँ नबस्ने, कुन जिम्मेवारी लिने, कुन नलिने, एकै ब्यक्तिले कतिवटासम्म जिम्मेवारी लिने, के का लागि लिने, आफ्नो धरातलीय तह र समकक्षी कुन भन्ने राम्रोसंग मेलोमेसो नपाईकनै अन्धाधुन्ध जता पनि आफै अघि सर्ने प्रवृत्ति असाध्यै मौलाउँदो छ । यो डरलाग्दो संकेत हो । यस्तै प्रवृत्तिलाई जानेर हो या नजानेर हाम्रो समाजले झन मलजल गरेको देखिन्छ । त्यसैले बेलैमा हामी सबै जिम्मेवार बनौं र हामी बसेको समाजमा हामी सबै मिलेर राम्रो थिति बसालौं ।***

तपाईको प्रतिक्रिया