शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो – जिएमटी इन्टरनेशनल क. लि. टोकियो जापानको डिजिटल प्रकाशन समुद्रपारि डट कमले आफ्नो सूचना र सञ्चार यात्राको १७ औं वर्ष पूरा गरी १८ औं वर्षमा प्रवेश गरेको छ । सन् २००६ को जुन ४ तारिखदेखि सुरु भएको समुद्रपारिको यात्रा अनेकौ आरोह-अवरोहहरुले भरिएका छन् । नेपाल पत्रकार महासंघका तत्कालिन केन्द्रीय अध्यक्ष विष्णु निष्ठुरीज्यूले क्लिक गरेर समुद्रपारि डट कमको उदघाटन गर्नुभएको हिजो जस्तै लाग्छ । पत्रकार महासंघका नेतृत्वलाई विदेश शाखाका कार्यक्रमतिर आमन्त्रण गर्ने चलन त्यसपछि सुरु भएको हो । यस अघिसम्म कलाकारहरु मात्र विदेशका कार्यक्रमतिर आमन्त्रित हुने गर्दथे ।

डिजिटल प्रविधिमा आधारित डायस्पोरिक पत्रकारिताको प्रारम्भिक अभ्यास र प्रयोगकारुपमा समुद्रपारि डट कम सञ्चालनमा आएको हो । नागरिकको सूचनाको हकलाई केन्द्रमा राखी तत्कालिन जापानस्थित नेपाली समाजको मनोविज्ञान र अपेक्षाअनुसारका विषय र सामग्री पस्कदैं सञ्चार सेवामा समर्पित रहने मुल ध्येयका साथ सुरु गरिएको यात्रामा हामी घरदेश र परदेशलाई जोड्न निरन्तर, अविरल र अविछिन्न प्रयासरत छौं र रहने प्रतिबद्धता ब्यक्त गर्दछौं ।

समुद्रपारि डट कम १८ औं वर्षमा प्रवेश गरेको यस सुखद् अवसरमा समस्त पाठक वर्ग, श्रोता-दर्शक, लेखक, विज्ञापनदाता, शुभेच्छुक एवं सुरुदेखि हालसम्मको हाम्रो यस यात्रामा जोडिनुभएका सहकर्मी मित्रहरु सबै-सबैप्रति हामी हार्दिक आभार प्रकट गर्न चाहान्छौं । हाम्रो यात्राको थालनीमा हामीसँग केवल अठोट, ऊर्जा र अदम्य साहस मात्र थियो, आज हामीसँग १७ औं बसन्तको लामो अनुभव पनि थपिएको छ । त्योभन्दा पनि अझ महत्वपूर्ण कुरो दिनहुँ कुनै न कुनैरुपमा जोडिनुहुने देश-विदेशका लाखौं लाख पाठक, स्रोता र शुभेच्छुकको अपार माया, सदाशयता र हौसलाबाट हामीलाई थप ऊर्जा प्राप्त भईरहेको छ । जसका कारण हामी समुद्रजस्तै निरन्तर, अविचलित र अविछिन्नरुपमा आफ्नै लय एवं यात्रामा बगिरहेका छौं र बगिरहिरहने छौं ।
हामी यस्तो बेलामा पाठकमाझ आएका थियौं, जतिबेला देशमा ६२-६३ को जनआन्दोलनको चरम उत्कर्ष र रापतापसंगै जनता आफ्ना मौलिक अधिकारका लागि सडकमा थिए । निरंकुश राजतन्त्रको बिरुद्धमा देशका धेरैजसो राजनैतिक शक्तिहरुबीचको ऐक्यबद्धतालाई नेपाली जनताले पनि स्वतःस्फुर्त साथ दिईरहेका थिए । तथापि सिंगो राज्य शक्तिको चापी भने दरबारसंगै थियो । यस्तो अवस्थामा कुनै पनि बेला राज्यले शक्तिको दुरुपयोग गर्दै ‘कु’ हुन सक्ने संभावना पनि उत्तिकै थियो । यसप्रकारको संवेदनशील परिस्थितिमा विदेशमा रहेका नेपालीहरुलाई पनि कम्तिमा देश, काल र परिस्थिति बारे सुसूचित गर्दै जन्मभूमिप्रति नागरिकको कर्त्तब्यबोध र अधिकार बारे सचेत मात्र बनाउन सकियो भने पनि राष्ट्रका लागि ठूलो योगदान हुने हाम्रो विश्वासका साथ हामी पाठकमाझ आएका थियौं । समग्रमा भन्नुपर्दा अधिकारको रेल चढ्न चाहनेले कर्त्तब्यको तेल हाल्न पनि बिर्सन हुँदैन भन्ने चेतना हरेक नागरिकमा होस् भन्ने मान्यता सञ्चारसेवाको माध्यममार्फत स्थापित गराउने हाम्रो अर्को अभियान हो, जुन निरन्तर जारी छ ।

सूचना र प्रविधिको क्षेत्रमा आएको क्रान्तिसंगै सुरु भएको डिजिटल युगमा अनेकन सुबिधाको पहुँच हुँदाहुँदै पनि डायस्पोरामा रहेर ब्यवसायिक पत्रकारिताको चुनौती चानचुने थिएन । नेपाली समुदाय लक्षित बजारको आकार सानो छ, हामी नेपालीहरुबीच पुस्तक तथा पत्रपत्रिका पढ्ने कल्चर हराउँदै जान थालेको छ, पाठकको रुची फेरिएका छन्, बजारमा छनौट र विकल्प हजार छन्, सबैको हातहातमै स्मार्टफोन छन्, पहिले मान्छेले समाचार खोज्नुपर्थ्यो अब समाचारले मान्छे खोज्दै सबैको हातहातमा उपलब्ध छन् त्यो पनि उसको रुची अनुसार र भनेकै समयमा । यस्तो परिस्थितिमा त्यो पनि विदेशमा बसेर विदेशका नेपालीहरुलाई लक्षित गरी सूचना र समाचारको खेतीपातीलाई दशकौं निरन्तरता दिनु भनेको पक्कै सजिलो बिषय थिएन । तथापि पहरोको चेपबाट पिपल उम्रिएर झांगिएझैं गरी ब्यस्तताको पर्यायवाची मानिने जापान जस्तो सेकेण्ड सेकेण्डको महत्व हुने देशमा नेपाली पत्रकारिताको कखरा विजारोपण गरिएकै कारण अहिले फैलिएको र फैलाएको देख्न पाउँदा गर्वानुभूति हुन्छ ।

सस्तो लोकप्रियताका लागि रातारात चर्चा बटुल्न भ्युज बिक्ने आजको मिडिया बजारमा न्युज बिक्न हम्मे-हम्मे हुँदै गएको सत्य हो । स्याल हुँइया र टुपुरटुँइया शैली अहिले बजारका बिकाउमाल भएका छन् । बिषयवस्तु, कन्टेन्ट र सामग्रीका कुरो गर्नुपर्दा कालान्तरमा परिणाम जेसुकै भएता पनि तत्कालका लागि टिकाउमाल भन्दा बिकाउमालको बजारमा दबदबा छ । घरदेशको बाछिटा परदेशसम्म आईपुग्दा लोकरिझ्यांईको नयाँ कलेबरमा मान्छेहरु आफुलाई स्मार्ट देख्न थालेका छन् । यसको छायाँ सञ्चारक्षेत्रमा पनि नदेखिने कुरै भएन । समाजको ऐना बनेर पहरेदारी गर्नुपर्ने सञ्चारक्षेत्र कतै हामी पनि अन्तै बहकिन पो थाल्यौं कि, बेलाबेलामा हामीहरु नै बसेर निर्मम समीक्षा हुनुपर्दछ भन्ने हाम्रो ठम्याई छ ।

उसो त हामी कसैसँग प्रतिस्पर्धामा छैनौं । सत्य तथ्यमा आधारित निष्पक्ष सूचना संप्रेषण गर्नु हाम्रो पहिलो सर्त हो । लोकतान्त्रिक गणतन्त्र नेपालको संघीयता, समानुपातिक, धर्मनिरपेक्षता सहितको सुशासन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रति हामी सदा कटिबद्ध छौं र रहिरहने छौं । यिनै ऐतिहासिक उपलब्धिहरु हासिल गर्ने उद्देश्यले नेपालमा चलेको ऐतिहासिक जनआन्दोलनको ऐक्यबद्धतामा जापानको सडकदेखि दूतावास हुँदै सदनसम्म भएको बिरोध प्रदर्शन एवं ध्यानाकर्षण कार्यक्रममा तत्कालिन नेपाली समुदायको अग्रपंत्तिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेको हाम्रो ऐतिहासिक विगत र विरासटप्रति हामीलाई गौरव छ । तथापि फेरिएको समयसंगै थपिएका भीमकाय चुनौती र असाध्यै गह्रुंगो जिम्मेवारीलाई आत्मसाथ गर्दै अगाडि बढ्न यहाँहरू सबैको यथावत साथ, सहयोग र समर्थनले मात्र संभव छ, जुन निरन्तर प्राप्त भईनै रहने विश्वास लिएका छौं । ***  मिति २००६ जुन ४ तारिखका दिन भएको समुद्रपारि डट कमको समुदघाटन समारोहको झलकहरु तस्विरमा :

तपाईको प्रतिक्रिया