शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – जापानका एक दर्जन बढी सहरमा प्रदर्शन हुन लागेको सामाजिक न्याय र जातीय मुद्दालाई उठाएको चलचित्र ‘प्रसाद-२’ राजधानी टोकियोमा आगामी आइतबार प्रदर्शन हुने भएको छ ।

टोकियो नाकानो स्थित नाकानो जेरो हलमा जुन ४ तारिख आइतबार चलचित्र प्रदर्शन हुन लागेको चलचित्र प्रसाद-२ को जापान प्रदर्शन अधिकार पाउनु भएका व्यवसायी ईश्वर श्रेष्ठले जानकारी दिए । चलचित्रको करिब २ सय टिकट बिक्री भइसकेको छ । चलचित्र हेर्न चाहनेले ०७०(३७९७(७०८१ मा फोन सम्पर्क गरेर टिकट बुकिङ गराउन सकिने व्यवसायी श्रेष्ठको भनाई छ ।

सुदर्शन थापाको निर्देशनमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, विशाल पहाडी लगायत लोकप्रिय कलाकारको मुख्य भूमिका रहेको चलचित्रलाई जापानमा चासोका साथ हेरिएको छ । जातीय मुद्दा र सामाजिक न्यायका गम्भीर विषयका गम्भीर मुद्दालाई सशक्त ढंगमा उठाएको बताइएको चलचित्र प्रसाद-२ चार वर्षअघि लोकप्रिय मानिएको ‘प्रसाद’ चलचित्रकै बाँकी कथा भएको बताइन्छ ।

चलचित्रमा अन्तरजातीय विवाहको प्रेमिल कथालाई केन्द्रमा राखेर सामाजिक जातीय विभेद, राजनीतिक विकृति, समाजका अगुवाको हैकमवादी प्रवृत्तिविरुद्ध गर्ने संघर्षलाई चित्रण गरिएको छ । कथावस्तु, प्रस्तुति, कलाकारको अभिनय, निर्देशन पक्षलाई नेपालका वरिष्ठ कलाकारहरूले पनि प्रशंसा गरेको चलचित्र सुशील पौडेलको लेखनमा तयार भएको हो ।

तपाईको प्रतिक्रिया